Below Menu
Below Menu

ओखलढुंगाको ककनीमा सौर्य मिनीग्रिडबाट विद्युतीकरणः १७१ घरधुरी लाभान्वित

ओखलढुंगाको ककनीमा सौर्य मिनीग्रिडबाट विद्युतीकरणः १७१ घरधुरी लाभान्वित

ओखलढुंगा : वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको आर्थिक तथा प्राविधिक सहयोग तथा सुनकोशी गाउँपालिकासँगको लागत साझेदारी र स्थानीयवासीको सहभागितामा ओखलढुंगाको ककनीमा सौर्य मिनीग्रिड आयोजना सम्पन्न भएको छ । ७० किलोवाट पिक क्षमताको ‘ककनी सौर्य मिनीग्रिड आयोजना’ बाट जिल्लाको सुनकोशी गाउँपालिकाको वडा नं ९ स्थित ककनी गाउँका १७१ घरधुरीमा विद्युत पहुँच पुगेको छ । 

आयोजनाबाट उत्पादित विद्युतबाट घरधुरी विद्युतीकरणको साथै विद्यालय, स्वास्थ्य चौकी लगायतका सार्वजनिक संस्थामा विद्युतीकरण एवं यन्त्र उपकरण सञ्चालन तथा  धान कुटानी, फर्निचर जस्ता लघु उद्यम सञ्चालनमा समेत सघाउ पुगेको छ । आयोजनाको समुदघाटन सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङ्गको अध्यक्षतामा आयोजित एक कार्यक्रमबीच ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेको प्रमुख आतिथ्यता र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका  कार्यकारी निर्देशक नवराज ढकालको विशेष आतिथ्यतामा गत शनिबार सम्पन्न भएको हो । 

कूल लागत ६ करोड ४२ लाख ८८ हजार रहेको आयोजनामा कूल लागतको ९० प्रतिशत वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको अनुदान रहेको छ भने १० प्रतिशत लगानी सुनकोशी गाउँपालिकाको रहेको छ । आयोजनाको समुदघाटन समारोहमा बोल्दै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले गुणस्तरीय आयोजना निर्माण भएकोमा खुसी व्यक्त गर्दै आगामी दुइ वर्षभित्र सबैमा विद्युत पहुँच पुर्‍याउने लक्ष्य हासिल गर्न विद्युतीकरणको अभियानलाई देशैभर अघि बढाइएको बताए । 

केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले आयोजनालाई दिगो रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिंदै आयोजना निर्माणमा संलग्न सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद दिए । आयोजनालाई ५ वर्षसम्म जडानकर्ता कम्पनीले सञ्चालन एवं मर्मतसम्भार गर्ने र ५ वर्षपछि स्थानीय तहलाइ हस्तान्तरण गरिने केन्द्रका सहायक निर्देशक एवं सौर्य तथा वायु ऊर्जा शाखाका प्रमुख डा। लक्ष्मण प्रसाद घिमिरेले बताए । 

सोही अवसरमा ऊर्जा सचिव घिमिरे सहितको टोलीले रामेछाप जिल्लाको सुनपाती गाउँपालिका–४ डहुमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा निर्माण भएको सुनकोशी ग्रामीण सौर्य लिफट खानेपानी आयोजनाको अनुगमन तथा निरीक्षण समेत गरेको थियो ।
 

Advertisment

थप समाचार