Below Menu
Below Menu

नाम मात्रैकाे लगानीकर्ता संरक्षण कोष: गर्दैन लगानीकर्ताको हितमा काम

नाम मात्रैकाे  लगानीकर्ता संरक्षण कोष: गर्दैन लगानीकर्ताको हितमा काम

काठमाडौं : शेयर लगानीकर्ताको हित संरक्षणका लागि काम गर्ने भन्दै स्थापना भएको कोष हो, ‘लगानीकर्ता संरक्षण कोष’ । तर, कोषले भने लगानीकर्ताको हितका लागि काम गर्न भने सकेको छैन ।लगानीकर्ताको हकहितका लागि कोषको स्थापना भएपनि लगानीकर्ताहरुको लागि भने कतै प्रयोग नभएको शेयर लगानीकर्ता केशव कोइराला बताउँछन् । उनी भन्छन्, ‘पुँजी बजारको विकास र लगानीकर्ताको हकहितका लागि भनेर कोष खडा गरिएको छ । तर, कोषको रकम लगानीकर्ताको हितमा कतै पनि प्रयोग भएको छैन ।’

लगानीकर्ताहरु मारमा परेपनि यस कोषले कुनै काम नगरेको दोहोर्याउँदै उनले अगाडी भने, ‘नेपाल धितोपत्र बोर्डले झारा टार्ने गरी केही शेयर बजार सम्बन्धी शिक्षाका केही कार्यक्रमहरु सञ्चालन गरेको छ । तर, प्रत्यक्ष रुपमा देखिने गरी मारमा परेका लगानीकर्ताको हितमा यो कोषले कुनै काम गरेको छैन ।’

लगानीकर्ता संरक्षण कोषमा अहिले ४७ करोड रुपैयाँ भन्दा बढी रकम छ । हालसम्म कोषमा ५० वटा कम्पनीको ४७ करोड ९१ लाख ९१ हजार ९४३ रुपैयाँ जम्मा भएको हो । उक्त रकम पुँजी बजारको विकास तथा विस्तार र लगानीकताको हकहित लगायतका काममा खर्च गर्नुपर्ने कार्यविधिमा उल्लेख छ।

सो रकम सम्बन्धित व्यक्तिले दावी गर्न आएमा फिर्ता गर्ने बाहेक अन्य कार्यमा खर्च गर्न नपाउने व्यवस्था छ । तर, कोषको रकम नमासिने गरी नेपाल राष्ट्र बैंकबाट जारी गरिने ऋणपत्र, वाणिज्य बैंकको मुद्दती खाता, नागरिक लगानी कोषका योजना जस्ता ब्याज, लाभांश वा अन्य आय प्राप्त हुने कार्यमा भने लगानी गर्न सकिने व्यवस्था रहेको छ ।

कोषमा जम्मा भएको रकम वाणिज्य बैंकमा छुट्टै खाता खोली राखिने छ भने ऐनको दफा १८२ को उपदफा (९) तथा १८३ को उपदफा (१) बमोजिमको रकम जम्मा गर्नु भन्दा अगाडि १ महिनाको म्याद दिई उक्त म्याद भित्र सो रकम बुझ्न आउनु भनि राष्ट्रिय दैनिकमा सूचना प्रकाशन गर्नुपर्नेछ । लगानीकर्ता संरक्षण कोषमा कम्पनी रजिष्ट्रारका रजिष्ट्रार अध्यक्ष छन् भने नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृतको पनि प्रतिनिधित्व रहेको छ ।

कोषका अध्यक्ष तथा कम्पनी रजिष्ट्रारकाे कार्यालयका रजिष्ट्रार महेश बराल भने कोषमा रकम कानुनले तोकेअुरुप कै क्षेत्रमा खर्च भएको दाबी गर्छन् । उनी भन्छन्, ‘जुन उद्देश्यले कोष खडा गरिएको थियो । त्यसै अनुरुप कोषको व्यवस्थापन र रकम खर्च भएको छ । ऐनमा जे कुरामा खर्च गर्नु भनेको छ त्यसैमा खर्च गरेका छौं । अन्यन्त्र खर्च भएको छैन ।’

हालसम्म कोषले ३६ लाख २० हजार रुपैयाँ मात्र रकम फिर्ता गरेको छ । लगानीकर्ताहरु दावी गर्न नआएका कारण पनि रकम फिर्ता नभएको रजिष्ट्रार बरालको भनाई छ । ‘लगानी कर्ताहरु आफ्नो रकम दावी गर्न आए कम्पनीले फिर्ता गर्छ । यसमा हाम्रो भुमिका हुँदैन’, उनले भने ।

अर्का शेयर लगानीकर्ता मुक्ति अर्याल पनि कोषको रकम कहाँ खर्च भएको छ भन्ने थाहा नभएको बताउँछन् । उनी भन्छन्, ‘कोष छ भन्ने थाहा छ । तर, कोषको रकम के मा खर्च भइरहेको छ भन्ने थाहाछैन । लगानीकर्ताको हितका लागि खर्च गरेको भनेर कतै सुनिएको छैन ।’

यसका साथै उक्त कोषको बारेमा धितापत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र धेरै जसो लगानीकर्ताहरुको चासोमा पनि नपरेको उनको भनाई छ । ‘धेरै लगानीकर्ताहरुमा यसको बारेमा थाहा नभएका कारण पनि चासोमा परेको छैन’, उनले भने, ‘यो कोष नै सरकारी निकायहरुसँग भएका कारण चासोमा नपरेको हो । उनीहरु आफ्नो फण्ड व्यवस्थापन गर्न सकिरहेका छैनन् । यो त झन् पब्लिकको कोष हो ।’

कोषमा जम्मा भएको उक्त रकम लगानीकर्ताहरुलाई तालिम दिने, उनीहरुको हकहितका लागि खर्च गर्ने, शेयरबजार सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्न इन्टिच्युट खोल्ने, मारमा परेका लागनीकर्तालाई सहयोग गर्ने गर्नुपर्ने उनको भनाई छ । तर, कोषको रकम कहाँ प्रयोग भएको छ भन्ने रिपोर्ट पनि कतै नपाएको उनले बताए ।

लगानीकर्ता संरक्षण कोषमा सार्वजनिक रुपमा शेयर निष्कासन भएका विभिन्न कम्पनीहरुमा लगानीकर्ताले दावी नगरेको रकम जम्मा हुने गर्छ । त्यस्तै उक्त संरक्षण कोषमा नेप्सेमा सूचिकृत अन्य कम्पनीहरुको पनि रकम जम्मा हुने क्रम बढिरहेको कम्पनी रजिष्ट्रार कार्यालयले जनाएको छ । 

लगानीकर्ताको होल्ड भएको रकम कोषमा जम्मा गर्नुअघि एक महिनाको समयावधि दिएर रकम बुझ्न आउन राष्ट्रिय दैनिकमा सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था छ । कम्पनीमा होल्ड भएको रकम कोषमा आइसकेपछि पनि कोषको मूल खातामा जम्मा रहेको सो रकम सम्बन्धित व्यक्तिले दाबी गर्न आएमा फिर्ता गर्नुपर्ने हुन्छ । तर, कोषमा जम्मा भइसकेको रकम फिर्ता माग्न आउने सेयर लगानीकर्ता भने नगण्य रहेको देखिन्छ । 

के छ कानुनी व्यवस्था?

कम्पनी ऐन आएको १० वर्षपछि ०७३ मा कम्पनी रजिस्ट्रारको कार्यालयले ‘लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा सञ्चालन, कार्यविधि, २०७३’ ल्याइएको हो । ऐनअनुसार ०७३ सालमा लगानीकर्ता संरक्षण कोष स्थापना गरेको थियो । कम्पनी ऐन २०६३ अनुसार सूचीकृत कम्पनीमा सेयर लगानीका लागि प्रवाह भई पाँच वर्षभन्दा बढी होल्ड भएको रकम खिच्नका लागि कोष स्थापना गर्ने व्यवस्था छ ।

कार्यालयले ३ साउन ०७४ मा सूचना प्रकाशन गर्दै लगानीकर्ता संरक्षण कोषमा रकम जम्मा गरिदिन कम्पनीहरूलाई आग्रह गरेको थियो । त्यसपछि कम्पनीहरूले कम्पनीको सेयरमा लगानी गर्न प्रवाह भएको रकम फिर्ता लिन पाँच वर्षभित्र पनि दाबी प्रस्तुत नभई होल्ड भएको रकम कोषमा पठाउने गरिएको हो ।

१७ बैंकहरुले मात्र जम्मा गरे ३६ करोडबढी रकम

हालसम्म नेप्सेमा सुचीकृत १७ वाणिज्य बैंकहरुले ३६ करोड रुपैयाँ भन्दा बढी रकम कोषमा जम्मा गरेका छन् । यस अवधिमा बैंकहरुले ३६ करोड ४१ लाख २५ हजार ३७० रुपैयाँ जम्मा गरेका हुन् । जसमध्ये गत आवमा मात्रै तीन बैंकको ४७ लाख ४५ हजार ४४६ रुपैयाँ रकम जम्मा भएको छ । यस अवधिमा सिटिजन बैंकको ३२ लाख ६९ हजार ४३१ रुपैयाँ, एनएमबि कैंकको १२ लाख ४ हजार ६१५ रुपैयाँ र सानिमा बैंकको २ लाख ७१ हजार रुपैयाँ रकम कोषमा जम्मा भएको छ । 

कम्पनी रजिष्ट्रारका अनुसार यस अवधिमा कोषमा जम्मा भएको रकम मध्ये २६ लाख ५० हजार ४७० रुपैयाँ भने फिर्ता भएको छ । सात बैंकको सो बराबरको रकम लगानीकर्तालाई फिर्ता गरिएको कार्यालयले जनाएको छ ।

लघुवित्त कम्पनीले कति जम्मा गरे ?

माइक्रोफाइनान्स कम्पनीले लगानीकर्ता संरक्षण कोषमा २१ लाख ४८ हजार ५१३ रुपैयाँ बराबरको रकम कोषमा जम्मा गरेका छन् । यस अवधिमा सात वटा लघुवित्त कम्पनीको सो बराबरको रकम कोष मा जम्मा भएको छ । जम्मा भएको उक्त रकममध्ये छिमेक लघुवित्तको ४ हजार ३२ रुपैयाँ  फिर्ता गरेको कार्यालयको तथ्यांकमा उल्लेख छ । 

फाइनान्स कम्पनीको ४०  लाख जम्मा

यस अवधिमा लगानीकर्ता संरक्षण कोषमा पाँच वटा फाइनानस कम्पनीले ४० लाख ७० हजार ३९ रुपैयाँ जम्मा गरेका छन् । 

दश बीमा कम्पनीले जम्मा गरे एक करोड

कम्पनी रजिष्ट्रारका अनुसार यस अवधिमा सात बीमा कम्पनीहरुको एक करोड रुपैयाँ बराबरको रकम कोषमा जम्मा भएको छ । कोषमा निर्जीवन र जीवन बीमा कम्पनीहरुको एक करोड १७ लाख ६० लाख ८९५ रुपैयाँ जम्मा भएको हो । जसमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले आठ लाख ७६ हजार ११५ रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले तीन लाख ३१ हजार २०५ रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्स कम्पनीले पाँच लाख एक हजार ७३० रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनीले छ लाख १८ हजार ७१८ रुपैयाँ जम्मा गरेको छ ।

त्यस्तै, सगरमाथा इन्स्योरेन्सले ३१ लाख ६२ हजार ५०५ रुपैयाँ जम्मा गरेको छ । त्यस्तै नेको इन्स्योरेन्सले २ लाख ९ हजार ८५७ रुपैयाँ र एभरेष्ट इन्स्योरेन्स कम्पनीले ४३ लाख ८ हजार ५३४ रुपैयाँ रकम जम्मा गरेको तथ्याङकमा उल्लेख छ । कम्पनी रजिष्टारको अनुसार शिखर इन्स्योरेन्स कम्पनीले सात लाख २९ हजार ६५१ रुपैयाँ र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले ३ लाख तीन हजार २८३ रुपैयाँ र आईएमई जनरल इन्स्योरेन्सले ७ लाख १९ हजार २९७ रुपैयाँ जम्मा गरेको तथ्याङकमा देखिएको छ ।  

अन्य कम्पनीहरुले कति जम्मा गरे ?

कोषमा रकम जम्मा गर्ने अन्य कम्पनीहरुमा क्यापिटल लिमिटेड र अन्य उत्पादित कम्पनीहरु रहेका छन् । उक्त कम्पनीहरुले यस अवधिमा अन्य कम्पनीहरुको ९ करोड ६१ लाख २७ हजार ९४२ रुपैयाँ रकम जम्मा भएको छ । जसमा गत आवमा मात्रै एक करोड ५१ लाख ६६ हजार ८२८ रुपौयँ थपिएको छ भने ९ लाख ६४ हजार ८४१ रुपैयाँ लगानीकर्तालाई फिर्ता गरिएको कार्यालयले जनाएको छ ।

 

Advertisment