Below Menu
Below Menu

सडक विभागको प्रगति ७० प्रतिशतः महानिर्देशक भन्छन्, बजेट व्यवस्थापन नहुँदा सोचेअनुरुप काम हुन सकेन 

सडक विभागको प्रगति ७० प्रतिशतः महानिर्देशक भन्छन्, बजेट व्यवस्थापन नहुँदा सोचेअनुरुप काम हुन सकेन 

काठमाडौं : आर्थिक वर्ष २०७८/७९ मा सडक विभागको प्रगति ५८ प्रतिशत रहेकामा आव २०७९/८० मा ७० प्रतिशत भएको छ । अघिल्लो वर्षको तुलनामा गत आवमा प्रगति दर वृद्धि भए पनि अपेक्षा गरेअनुसार नभएको विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए । अन्तिम चौमासिकमा बजेट व्यवस्थापन हुन नसक्दा कामको प्रगति सोचेअनुरुप हुन नसकेको उनको भनाइ थियो । उनले भने, “विभागले ८० प्रतिशत प्रगति हुने अपेक्षा गरेको थियो । त्यस अनुसार काम हुन सकेन् ।” 

वैदेशिक सहायताका आयोजनामा आवश्यकता भन्दा बढी स्रोत राख्ने गरिएकाले अन्य आयोजनाको तुलनामा कम प्रगति हुने गरेको महानिर्देशक ढकालले बताए । “सरकारले एक वर्षमा रकम विनियोजन गरेको आधारमा प्रगति मापन गरिन्छ”, उनले भने, “वैदेशिक सहायत र नेपाली गरी दुई किसिमको स्रोत विनियोजन भएका हुन्छन् । सोही अनुसार प्रगति पनि फरक हुन्छ ।”

बुटवल–नारायणगढ सडकका लागि सात÷आठ अर्बभन्दा बढी खर्च गर्न नसकिने जानकारी गराइएको जनाउँदै महानिर्देशक ढकालले उक्त आयोजनाका लागि १० अर्ब बढी रकम विनियोजना भएको बताए । “बुटवल–नारायणगढ वैदेशिक आयोजना भएकाले बढी रकम विनियोजन भयो । जसले गर्दा कम प्रगति देखियो”, उनले भने। 

राष्ट्रिय गौरवका सडक आयोजनामा अघिल्ला वर्षको तुलनामा गत वर्ष बढी प्रगति भएको ढकालले बताए । उनका अनुसार उत्तर दक्षिण करिडोरअन्तर्गत कोशी, कर्णाली र कालीगण्डकी राजमार्ग पर्दछन् । कोशीमा ४२, कालीगण्डकीमा ४३ र कर्णालीमा २४ प्रतिशत भौतिक प्रगति भएको ढकालले जानकारी दिए । उनका अनुसार पुष्पलाल (मध्यपहाडी) मा ७२ र हुलाकी राजमार्गमा ९१ प्रतिशत प्रगति भएको थियो । 

झन्डै तीन आर्थिक वर्षमा कोभिडका कारण अपेक्षाकृत काम हुन नसकेको बताउँदै महानिर्देशक ढकालले अघिल्ला वर्षको तुलनामा गत आवमा सन्तोषजनक प्रगति भएको उल्लेख गरे । विभागले सङ्घीय सडक र त्यसअन्तर्गतका पुलको निर्माण तथा मर्मत गर्दै आएको छ ।

Advertisment

थप समाचार