काठमाडौं : सामाजिक सुरक्षा कोषले ५ अर्बभन्दाबढी रकम मुद्दती निक्षेपमा लागनी गर्ने भएको छ । कोषले विभिन्न खाताहरुमा रहेको ५ अर्ब २२ करोड बरावरको रकम मुद्दती खातामा लगानी गर्ने भएको हो ।
कोषले उक्त रकमका लागि राष्ट्र बैकबाट अनुमति प्राप्त वाणिज्य बैंकहरूसँग प्रस्ताव माग गरेको छ । कोषका अनुसार बैंकहरुले आफूले लिन चाहेको रकम, समय तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाई सिलबन्दी दरभाउपत्र सम्बन्धी फाराम भदौ २ गते २ः०० बजे भित्र कोषमा पठाउनु पर्नेछ ।
कोषको रकम मुद्दती खातामा राख्न चाहने बैंकहरुका लागि विभिन्न शर्तहरु राखिएको छ । जसमा कोषको रकम मुद्दती खातामा राख्न चाहने बैंकले राष्ट्र बैंकबाट तोकिएको न्यूनतम चुक्ता पूँजी पुर्याएको साथै न्यूनतम पूँजीकोष अनुपात कायम गरेको (११ प्रतिशत वा सो भन्दा बढी) कायम गरेको हुनुपर्ने छ ।
त्यस्तै, निष्कृय कर्जा कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सोभन्दा बढी रहेको तथा कर्जा/स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात नेपाल राष्ट्र बैंकले निर्धारण गरेको सीमाभित्र रहेको हुनुपर्नेछ ।
यसैगरी निकटतम अघिल्लो आर्थिक वर्षमा कर्जा नोक्सानी व्यवस्था पछि संचालन मुनाफामा रहेको, आवेदक बैंकका बहालवाला सञ्चालक, कार्यकारी प्रमुख वा कार्यकारी सञ्चालकलाई नेपाल राष्ट्र बैंकले कुनै पनि किसिमको आर्थिक जरिवाना नगरेको, शीघ्र सुधारात्मक कारवाही वा समस्याग्रस्त घोषणा गरेको भएमा सो कारवाही फुकुवा भएको कम्तिमा ६ महिना व्यतित भएको हनुपर्ने छ ।
यसका साथै सर्वसाधारणको लागि छुट्टयाइएको सेयर जारी गरी सकेकोहुनुपर्नेछ र प्रस्तावित ब्याज दर र रकम शिलबन्दी दरभाउ प्रस्ताव पेश गर्ने अन्तिम मितिले १ महिना अवधि सम्म घटाउन नपाइने कोषले जनाएको छ ।