Below Menu

विकासका अवसर स्वदेशमै खोजौँ, सरकारले थुप्रै सुविधा दिएको छ: अर्थमन्त्री 

विकासका अवसर स्वदेशमै खोजौँ, सरकारले थुप्रै सुविधा दिएको छ: अर्थमन्त्री 

काठमाडौं : अर्थमन्त्री डा प्रकाशशरण महतले उद्यमशीलता विकासको अवसर विदेशमा भन्दा स्वदेशमै रहेको र यसको नेतृत्व युवाले गर्नुपर्ने बताएका छन् । राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा सिर्जनशील युवा राष्ट्रिय अभियानले आज काठमाडौँमा आयोजना गरेको ‘इन्टरप्रेनसीप मोटिभेसन कन्क्लेभ’लाई सम्बोधन गर्दै उनले विदेश जाने वित्तिकै सबै कुरा प्राप्त गर्न सकिन्छ भन्ने भ्रमबाट युवाहरुलाई मुक्त गर्न जरुरी छ भने । 

Sponsored Advertisement

“हामीकहाँ विकास हुनबाँकी छ । यसकारण यहाँ अवसर प्रशस्त छ । विदेशमा सबै भौतिक सुविधा हुँदा पनि त्यहाँ खुसी छैन, बाहिरबाट सबै सुविधा देखिए पनि भित्र खोक्रो छ”, अर्थमन्त्री डा महतले भने, “अवसर हेर्ने सुक्ष्म आँखा चाहियो यही अवसर खोज्नेलाई सरकारले अनुदान, सस्तो ऋण, करछुट लगायतका सुविधा दिइरहेको छ । अहिले युवाहरुमा विदेश गएन भने आफ्नो हैसियत सानो र कमजोर भएको भन्ने गलत सोचाई हाबीहुँदै गएको छ, जुन चिन्ताको विषय हो  ।”

अर्थमन्त्री डा महतले मुलुकको अर्थतन्त्र लयमा फर्किएको र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सकारात्मक सोच राख्नुपर्छ भने।  उनले विदेशमा आर्जित पुँजी र सीप नेपालमा प्रयोग गर्न जोड दिए । अहिले पर्यटन क्षेत्र सुधार हुँदै गएको र सूचना प्रविधिका क्षेत्रमा पनि नेपालको राम्रो सम्भावना देखिन थालेको बताए । 

चालु आर्थिक वर्षको बजेटबाट सरकारले सूचना प्रविधि क्षेत्रको सेवा निर्यातका लागि सहजीकरण गरेको उनले बताए । अहिले प्रविधिको प्रयोगले बजारीकरण गर्न सजिलो भएको उनको भनाइ छ ।

अर्थमन्त्री डा महतले नेपाल विकासक्रममै रहेकाले देशमा धेरै कुरा गर्न बाँकी रहेको बताएका छन् । विदेश जानेवित्तिकै सबै कुरा प्राप्त हुन्छ भन्ने मानसिकताबाट नेपाली युवाहरु मुक्त हुनुपर्छ । यहाँ अवसर अथाहा छ, त्यसको उपयोग गर्नुपर्छ, त्यसको खोजीमा आजका हाम्रा युवा लाग्न अर्थमन्त्री डा महतले जोड दिए । 

‘युवाले यहाँ नै अवसर खोज्न थाले भने विदेशभन्दा यहाँ नै राम्रो भविष्य हुन्छ । विदेशमा जति नै सुविधा भए पनि त्यहाँ खुशी छैन’ मन्त्री डा महतले भने, ‘त्यसैले नेपालमा प्राप्त अवसरलाई ग्रहण गर्न म अनुरोध गर्दछु ।’

‘हामीकहाँ अवसर खोज्दा हट मेन्टालिटी छ । एउटाले अवसर देख्यो, फाइदा उठायो, म पनि त्यही गर्नुपर्ने, अर्कोले पनि त्यही गर्ने अर्थात् सबै त्यसैमा लाग्छन्’ मन्त्री डा। महतले भने,  ‘त्यसो गर्नु हुँदैन, अर्को अवसर खोज्नुपर्छ ।’ हरेक व्यक्ति केही न केही क्षमता लिएर जन्मेका छन् । सबैको सम्पूर्ण कुरामा क्षमता हुँदैन । पहिला आफ्नो क्षमता पहिचान गर्नुपर्छ, त्यो क्षमताको परिधिभित्र के गर्न सकिन्छ ? त्यो अवसर लिन म अनुरोध गर्छु, मन्त्री डा। महतले भने।

सूचना प्रविधिको स्पेसमा हामी छौं, जसले गर्दा हाम्रो देशमा अवसर पनि छ । हिजो त्यो अवसर थिएन, भूपरिवेष्टिक देशमा छौं, हरेक उत्पादन कसरी विदेशमा लैजाने, समुन्द्र पार कसरी पुर्याउनेलगायतका समस्या छन्’ मन्त्री डा। महतले भन्नुभयो, प्रविधिले गर्दा मार्केटिङ सजिलो भएको छ । डिजिटल प्लेटफर्म उपयोग गरेर एउटा कुरामा बसेर आफ्नो उत्पादन संसारको जुनसुकै ठाउँमा बेच्न सकिन्छ । शुन्य लागतमा बेच्ने ठाउँमा पनि तपाईं जोडिन सक्नुहुन्छ । यो हाम्रा लागि अवसर हो ।’

नेपालमा केही छैन, सबै बिग्रेको छ, सबै अर्थतन्त्र ध्वस्त छ, रोजगारी पाइँदैन, अब विदेश जानुको विकल्प छैन भनेर सबैले नकरात्मक कुरा गर्छन् । सामाजिक सञ्चालमा नकरात्मक कुरा धेरै चल्छ । सकारात्मक कुराहरु यसरी सर्कुलेट हुँदैन, मन्त्री डा। महतले आग्रह गरे ।  अब नयाँ पोजेटिभ नेशनल डिस्कोर्स सुरु गरौं । जस्तो पर्यटन उद्योग चलायमान बन्दै गएको छ । यसले धेरै अवसरहरु सिर्जना गर्छ । पर्यटन, आइटी, हाइड्रो र कृषिको नेपालमा धेरै स्कोप छ ।

जो बाहिर गएर स्किल लिएर फर्किन्छ, उनीहरुलाई सरकार प्रोत्साहन गर्न चाहन्छ । जति फर्किएका छन्, उनीहरुले गरेको कृषि उद्योग यहाँ लोकप्रिय बन्दैछ । यसमा धेरै अवसर छ, बजार स्वदेश र विदेशमा छ ।

मन्त्री डा। महतले भने,  ‘देशबाहिर सुनको श्रीलंका छैन, विदेश जाने तयारीमा रहनु भएका युवाहरु जसले पूर्ण छात्रवृत्ति पाउनु भएको छैन, उहाँहरु अप्ठ्यारोमा पर्नुभएको छ । पढाइ पूरा नहुने परिस्थिति, आर्थिक श्रोत जुटाउन नसकिने परिस्थिति र लिगल स्टाटस मेन्टेनको परिस्थितिमा उहाँहरु गुज्रिनु भएको छ । त्यहाँबाट ननिस्कन सकिन्छ, न छोड्न सकिन्छ । यो प्रतिशत धेरै ठूलो छ । त्यसैले यहाँ भएका धेरै अवसरहरुको सदुपयोग गरौं ।’

आर्थिक विकास, उद्यमशीलता र रोजगारी अवसर र चुनौती शीर्षकको पहिलो सत्रमा पूर्व अर्थमन्त्री डा युवराज खतिवडाले उद्यमशीलता भनेको व्यक्तिको क्षमतामा निहित हुने र त्यस्तो क्षमता सिकाइमा भरपर्ने बताए । उद्यमशीलता विकासका लागि व्यक्तिको क्षमता विकास महत्वपूर्ण हुने उनको भनाइ छ । उद्यमशीलता प्रवद्र्धनका लागि सरकारले लिएका नीति र योजनाको लाभ युवाले पाउन नसकेको पनि पूर्व अर्थमन्त्री खतिवडाले उल्लेख गरे । 

सोही कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरणकुमार श्रेष्ठले युवा लक्षित उद्यमशीलता कार्यक्रमका लागि बैंकिङ क्षेत्रले १० प्रकारका सहुलियतपूर्ण कर्जा उपलब्ध गराइरहेको बताए । महिला उद्यमशीलता, शैक्षिक प्रमाणपत्र धितो कर्जालगायत बिना धितो कर्जाका कार्यक्रम सञ्चालन भइरहेकोमा त्यसको लाभ युवाहरुले लिनसक्नुपर्छ भने । उद्यमशीलता लक्षित कर्जा कार्यक्रमको उपलब्धि लक्ष्य अनुरुप नदेखिएको उनको भनाइ थियो  । 

थप समाचार