काठमाडौं : अख्तियार दुरुपयोग अनुुन्धान आयोगले भ्रष्टाचार आरोपमा एक जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले सडक डिभिजन लहान सिरहाका लेखा अधिकृत पदम विनोद भन्ने पद्म बिनोद पोखरेलविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार लेखा अधिकृत पोखरेलले सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी परेको थियो ।
सोही निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज लेखा अधिकृत पोखरेललाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस÷रिसवत लिइसकेको अवस्थामा गत असार २६ गते नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा पोखरेलले सडकको निर्माण कार्य सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ ।
उनी विरुद्ध सोही रकम बराबरको विगो कायम गरी जरिवाना सजायसमेतको मागदावी गर्दै आयोगले बिहिबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।