काठमाडौं : चालु आर्थिक वर्षको पहिलो साउन महिनामानै राजस्व संकलनको लक्ष्य भेट्टाउन सरकार असफल देखिएको छ । सरकारले चालु आवको पहिलो महिनामा ८८ अर्ब २४ करोड रुपैयाँ मात्र राजस्व संकलन गरेको हो । उक्त राजस्व गत आवको सोही अवधिको तुलनामा २.३ प्रतिशत कम हो ।
जबकी गत आवको सोही अवधिमा सरकारले ९० अर्ब २१ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । चालु आवको साउनमा ९९ अर्ब ५७ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको सरकारले लक्ष्यभन्दा ११.४७ प्रतिशत कम राजस्व संकलन गरेको हो ।
महालेखा नियन्त्रकका अनुसार सरकारले चालु आवको पहिलो महिनामा राजस्व सङ्कलनमा कर राजस्वतर्फ ७० अर्ब १७ करोड ५२ लाख अर्थात् वार्षिक लक्ष्यको पाँच दशमलव ३८ प्रतिशत र गैरकर राजस्वतर्फ आठ अर्ब ६९ करोड ८९ लाख बराबर अर्थात् वार्षिक लक्ष्यको सात दशलमव ४३ प्रतिशत बराबर संकलन गरेको छ ।
राजस्वको लक्ष्य भेट्न भन्सार विभाग पनि असफल
भन्सार विभागले चालु आवको साउन महिनामा ३१ अर्ब ६६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यस अवधिमा ३९ अर्ब ७१ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको विभागले लक्ष्यको ७९.७३ प्रतिशत मात्र राजस्व संकलन गरेको हो ।
आन्तरिक राजस्व विभागले उठायो लक्ष्यको ८२.३३ प्रतिशत राजस्व
आन्तरिक राजस्व विभागले चालु आवको साउन महिनामा ४० अर्ब ३४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । विभगाले यस अवधिमा ४९ अर्ब ७ लाख रुपैयाँ राजस् संकलन गर्ने लक्ष्य लिएको विभगाले ८२.३३ प्रतिशत मात्र राजस्व संकलन गरेको हो ।
कुन शीर्षकमा कति उठ्यो राजस्व
चालु आवको पहिलो साउन महिनामा आयकर शीर्षकबाट १६ अर्ब ९ करोड १३ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको विभागले लक्ष्यको १३ अर्ब २६ करोड ५२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । जुन लक्ष्यको ८२.४४ प्रतिशत मात्रै संकलन भएको हो ।
त्यस्तै घरबहाल शीर्षकबाट विभागले २२ करोड १९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । घरबहाल शीर्षकबाट ३१ करोड ३ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको विभागले लक्ष्यको ७१.५१ प्रतिशत राजस्व संकलन गरेको हो ।
चालु आवको साउन महिनामा ब्याजबाट ६ अर्ब ७६ करोड ५४ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको विभागले ९९.३९ प्रतिशत राजस्व संकलन गरेको छ । यस अवधिमा विभागले उक्त शीर्षकबाट ६ अर्ब ७२ करोड ३९ लाख रुपैयाँ राजस्व संकलन गरेको हो ।
त्यस्तै, विभागले भ्याट शीर्षकबाट लक्ष्यको ८१.९४ प्रतिशत राजस्व संकलन गरेको छ । साउन महिनामा भ्याटबाट १४ अर्ब २४ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको विभागले १ज्ञ अर्ब ४७ करोड ३५ लाख रुपैयाँ मात्र संकलन गरेको हो ।
अन्तशुल्क शीर्षकबाट १० अर्ब ६१ करोड ७१ लाख रुपैयाँ राजस्व संकलन र्गो लक्ष्य लिएको विभागले ७ अर्ब ७० करोड ८५ लाख रुपैयाँ मात्र संकलन गरेको छ । जसन लक्ष्यको ७२.५० प्रतिशत हो । त्यस्तै, स्वास्थ्य शीर्षकबाट विभागले लक्ष्यको सबैभन्दा कम ६५.१० प्रतिशत राजस्व उठाएको छ । यस अवधिमा उक्त शीर्षकबाट एक अर्ब ९३ लाख राजस्व उठाएने लक्ष्य लिएपनि ६५ करोड ७१ लाख रुपैयाँ मात्र राजस्व उठेको हो ।
शिक्षा शीर्षकमा विभागले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । साउनमा शिक्षाबाट २० करोड ४५ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको विभागले २८ करोड ९६ लाख रुपैयाँ उठाएको हो । जुन लक्ष्यभन्दा १४१.६२ प्रतिशत बढी हो ।
खर्च व्यवस्थापनमा सरकारलाई दबाब
राजस्वको लक्ष्य भेटउन मुस्किल देखिएसँगै सरकारलाई खर्च व्यवस्थापनमा समेत दबाब देखिने भएको छ । आन्तरिक राजस्व विभागलाई सरकारले चालु आर्थिक वर्षमा ६ खर्ब ७७ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य दिईएको छ भने भन्सार विभागलाई ६ खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने जिम्मेवारी दिइएको छ ।
गत वर्ष १० खर्ब १० अर्ब रुपैयाँ राजस्व संकलन गरेको सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।
अर्थमन्त्रीको दबाबमा कर्मचारी
गत वर्षहरुमा कोरोना महामारी, बाह्य युद्ध लगायतका विभिन्न कारणले राजस्व संकलनमा संकुचन देखिएपनि अर्थतन्त्र सकारात्मक लयतर्फ फर्कदै गएको अर्थमन्त्री डा. प्रकाश शरण महतले दावी गर्दै आएका छन् ।
एक कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र लयमा फकिर्एको दावी गर्दै राजस्व संकलनमा वृद्धि गर्न भन्सार विभाग र राजस्वका कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् । राजस्व नै प्रमुख स्रोत भएकाले राजस्व संकलनमा अझै मेहनत गर्न समेत आग्रह गरेका छन् ।
गत वर्ष कोरोना महामारी र बाह्य कारणले गर्दा लक्ष्य अनुरूप राजस्व संकलन नभएपनि अहिले त्यो समस्या नरहेको अर्थमन्त्री महतको भनाइ थियो । उनले भने, ‘आर्थिक वृद्धिद्ररमा सकारात्मक छौ । चालु आर्थिक वर्षमा एकसय प्रतिशत भन्दा बढि राजस्व संकलन गर्नुहोस् । यो सम्भव छ, मलाई विश्वास छ। अहिनै खुट्टा नकमाउनुहोस् ।’
Advertisment