Below Menu
Below Menu

सात गुणाले बढ्यो कृषि बीमा व्यवसाय, दाबी भुक्तानीमा भने सधैँ झमेला

सात गुणाले बढ्यो कृषि बीमा व्यवसाय, दाबी भुक्तानीमा भने सधैँ झमेला

काठमाडौं : पछिल्लो समय कृषि बीमा व्यवसायमा उल्लेख्य वृद्धि भएको पाईएको छ । दाबी भुक्तानीमा सधैँ समस्या देखिएपनि कृषि बीमाप्रति भने किसानहरुको आकर्षण बढ्दै गएको पाइएको हो । नेपाल बीमा प्राधिकरणको तथ्यांक हेर्ने हो भने पनि अघिल्लो आवको तुलनामा गत वर्ष कृषि बीमा व्यवसाय सात गुणाले बढेको छ ।

अघिल्लो आवमा निर्जीवन बीमा कम्पनीहरुले कृषि बीमा व्यवसायबाट २७ करोड ४४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थिए भने । गत आवको असार मसान्तसम्म कम्पनीहरुले झण्डै साढे दुई अर्बको व्यवसाय गरेका छन् ।

यस अवधिमा कम्पनीहरुले एक लाख ८० हजार ९१५ बीमालेख बिक्री गरी २ अर्ब ३५ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन् । उक्त व्यवसाय अघिल्लो आवको सोही अवधिको तुलनामा ७५६.१६ प्रतिशतले बढी हो । प्राधिकरणका कम्पनीहरुले कृषि बीमाबाट बागमती प्रदेशमा सर्वाधिक बीमाशुल्क संकलन गरेका छन् भने सुदुरपश्चिम प्रदेशमा पनि पछिल्लो समय बीमा व्यवसाय फस्टाउँदै गएको छ ।

सरकारले बाली तथा पशुपालन व्यावसायका जोखिम तथा अनिश्चितता कम गरी कृषकलाई कृषि व्यवसायतर्फ उन्मुख गर्न र कृषि क्षेत्रमा निजी, सरकारी तथा वित्तीय संस्थाहरुको लगानी बढाउन र लगानी सुरक्षित गर्न भन्दै बीमा कार्यक्रम सुरु गरिएको थियो ।

आयात निरुत्साहन र कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने योजनाअनुरुप सरकारले किसानलाई बीमा सुविधा दिन थालेको झण्डै १० वर्ष पुगेको छ । सरकारले कृषि बीमालाई प्रभावकारी बनाउन अनुदान रकमलाई बढाएसँगै कृषि बीमा गर्नेहरूको संख्या बढेको विज्ञहरु बताउँछन् ।

सरकारले हाल कृषि तथा पशुपन्छी बीमा बापत प्रिमियममा ८० प्रतिशत रकम अनुदान दिँदै आएको छ । जसमा किसानले कृषि बीमा गर्दा प्रिमियमको २० प्रतिशत रकम मात्रै तिरे पुग्छ । यहि प्रावधानले गर्दा किसानहरू आकर्षित बन्दा बीमा कम्पनीहरूले पनि उल्लेख्य मात्रामा बीमा शुल्क सङ्कलन गरेको देखिएको छ ।

दाबी भुक्तानीमा सधैँ झमेला
कम्पनीहरुले कृषि बीमा व्यवसायमा वृद्धि गरेपनि दाबी भुक्तानीमा भने सधै झमेला हुने गरेको छ । समयमा भुक्तानी नपाएको भन्दै कृषकहरुका गुनासो धेरै आउने गरेका छन् । दाबी भुक्तानीमा किसान मात्र होइन बीमा कम्पनीहरुको पनि गुनासो उस्तै छ । सरकारले समयमा अनुदानको रकम नदिएको भन्दै बीमा कम्पनी र प्राधिकरणबीच बेला बेलामा विवाद समेत उत्पन्न हुने गरेको छ ।

केही समयअघि मात्रै सरकारले समयमा अनुदानको रकम नदिएको भन्दै पोलिसी नै बन्द गरेका थिए । निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले गत जेठ ७ गतेदेखि बीमालेख नै बन्द गरेपछि सरकारले पहिलो किस्तामा कृषि बीमा वापतको ७२ करोड रुपैयाँ अनुदानको रकम निकासा गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बीमकहरुलाई केहि आंंशिक रकम उपलब्ध गराई बाँकी रहेको अनुदानको रकम पनि तत्काल उपलब्ध गराउने प्रतिवद्धता गराएपनि अहिले कम्पनीहरुले कृषि बीमालेख जारी गरेका छन् ।

सरकारले २०६९ सालदेखि कृषक र कृषिलाई प्राथमिकता दिई कृषि बीमाशूल्कमा क्रमशः अनुदान दिँदै आएकोमा २०७७ सालदेखि कृषि बीमाको अनुदान करिब ३ अर्ब बाँकी रहेको थियो ।

बागमती प्रदेशमा मात्रै ७८८.५५ प्रतिशतको वृद्धि
बीमा कम्पनीहरुले बागमती प्रदशेबाट मात्रै गत वर्ष ८६ करोड बढीको व्यवसाय गरेका छन् । कम्पनीहरुले गत असार मसान्तसम्म उक्त प्रदेशमा ७१ हजार २०६ पोलिसी बिक्री गरी ८६ करोड ९९ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुनु् । अघिल्लो जबकी अघिल्लो आवको सोही अवधिमा कम्पनीहरुले बागमती प्रदेशबाट ७१ हजार ८२४ बीमालेख बिक्री गरी ९ करोड ७९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

सुदुरपश्चिममा ७९३.४० प्रतिशतको वृद्धि
प्राधिकरणको तथ्यांक हेर्ने हो भने बीमा कम्पनीहरुले सुदुरपश्चिम प्रदेशमा पनि व्यवसाय विस्तारमा छलाङ मारेका छन् । अघिल्लो आवमा ८४ लाख ५७ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका अनुसार कम्पनीहरुले गत आवमा ७ करोड ५५ लाख ५५ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।

अन्य प्रदेशमा कस्तो छ व्यवसाय ?
प्राधिकरणका अनुसार प्रदेशगत बीमाशुल्क सङ्कलनको अवस्था हेर्दा पनि कुल बीमा शुल्क आर्जन बढेको देखिन्छ । गत असार मसान्तसम्म कम्पनीहरुले कोशी प्रदेशबाट २५ हजार १३८ बीमालेख बिक्री गरी ३१ करोड ३८ लाख ६६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

प्राधिकरणका अनुसार कृषि तथा बाली बीमाबाट कम्पनीहरुले मधेस प्रदेशबाट २२ करोड रुपैयाँ भन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् । यस अवधिमा कम्पनीहरुले उक्त प्रदेशबाट १४ हजार ४३८ बीमालेख बिक्री गरी २२ करोड ३ लाख २२ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।

प्राधिकरणका अनुसार गण्डकी प्रदेशमा पनि कृषि तथा बाली बीमा बापत गरिने बीमा शुल्क बढेको छ । कम्पनीले यस अवधिमा उक्त प्रदेशबाट १८ हजार ५४३ बीमालेख बिक्री गरी ३० करोड १६ लाख ९० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् ।

त्यस्तै, लुम्बिनी प्रदेशमा कम्पनीहरुले कृषि तथा बाली बीमाबाट ३५ करोड १९ लाख ३५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहले यस अवधिमा ३२ हजार ७१४ बीमालेख जारी गरी सो बराबरको बीमाशुल्क आर्जन गरेका हुन् ।

त्यसैगरी, कर्णाली प्रदेशमा पनि कम्पनीहरुले बीमा व्यवसायमा वृद्धि गरेका छन् । बीमा गर्नेहरू बढेसँगै बीमाशुल्कमा पनि बढेको छ । कम्पनीहरुले उक्त प्रदेशमा यस अवधिमा १२ हजार ९२४ बीमालेख बिक्री गरेका छन् । उक्त संख्यामा बीमालेख बिक्री गरी कम्पनीहरुले २१ करोड ६७ लाख ४० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

Advertisment