काठमाडौं : नेपालको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्व बढ्दो छ । मुलुकको आर्थिक विकासको प्रमुख आधार रहेको पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, आर्थिक क्रियाकलाप अभिवृद्धि र समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पुर्याउँदै आएको छ ।
सरकारले पनि पर्यटन क्षेत्रलाई अर्थतन्त्रको बलियो खम्बा मानेको छ । तर, पर्यटन क्षेत्रको सुधार र विस्तारमा भने सधैँ उदार देखिन्छ । यस क्षेत्रको विकास विस्तारका लागि ल्याएका नीतिगत कार्यक्रमहरू पनि कागजमै सीमित देखिन्छन् ।
कोरोना महामारीका कारण लामो समयसम्म खस्किएको पर्यटन क्षेत्र आर्थिक मन्दीका कारण झनै सुस्ताउन पुग्यो । पर्यटन व्यवसायीहरूले आफूहरू समस्यामा परे सहयोग गर्नु पर्यो भनेर प्रधानमन्त्रीदेखि गभर्नरसम्मलाई गुहारे । तर, सरकारको उदार नीतिका कारण पर्यटन व्यवसायीको त्यो हारगुहार कहिकतै सम्बोधन भएन ।
जसका कारण अहिले यस क्षेत्रमा लगानीको वातावरण पनि बन्न नसकेको देखिन्छ । लामो समयदेखि खस्किएको पर्यटन क्षेत्र पछिल्लो समय केही मात्रामा तङ्ग्रिँदै छ । सन् २०२३ को सुरुवाती दिनदेखि पर्यटकहरू आउने क्रम बढ्दो छ । तर, पर्यटकहरू आउने क्रम बढे पनि होटलहरुको आम्दानी भने खासै उत्साहजनक छैन ।
‘सरकारकै कारण व्यवसाय फस्टाएन’
सरकारकै कारण पर्यटन व्यवसाय फस्टाएको नसकेको व्यवसायीहरूको आरोप रहेको छ । पर्यटन विकास र विस्तारका लागि विभिन्न कार्यक्रमहरू ल्याए पनि पूर्वाधार विकासमा सरकारको उदार नीतिका कारण व्यवसाय फस्टाउन नसकेको होटल एशोसियसनका अध्यक्ष विनायक शाह तर्क गर्छन् ।
उनी भन्छन्, ‘पर्यटक आउने क्रम बढ्दो छ । बुकिङ पनि राम्रो छ । पहिलेको तुलनामा बढी काम गर्न सकिन्छ भनेर हामी पनि उत्साहित छौँ । तर हामीसँग पूर्वाधारको समस्या विमान स्थल र बाटोघाटोको समस्या छ । एकदमै सानो र सङ्कुचित छ । पूर्वाधारको कमीले गर्दा होटलको क्षमता अनुसार उपयोग गर्न सकेका छैनौँ । एकतिहाई मात्र उपयोग भएको छ ।’
कोरोना महामारीपछि विस्तारै व्यवसाय बढ्दै गए पनि सडक सञ्जाल भौतिक पूर्वाधारको विकास हुन नसक्दा होटल व्यवसायीहरू थप मारमा परेको उनी बताउँछन् । उनी भन्छन्, ‘काठमाडौंको एयरपोर्ट धेरै सानो भइसक्यो । भैरहवा र पोखरा एयरपोर्ट बनाएका छौँ । तर अन्तर्राष्ट्रिय उडान चलेका छैनन् । चीन र भारतको बिचमा छौँ । चीन र नेपाल जोड्ने सडक सञ्जाल स्तरीय छैन । काठमाडौंबाट पोखराको २०० किलोमिटरको यात्रा गर्न १२ घण्टा लाग्छ । अनि पर्यटक को आउँछन् ?’
सरकारले लगानीको वातावरण सिर्जना नगरिदिँदा होटल व्यवसायी थप मारमा परको बताउँदै उनले भने ,‘पूर्वाधार विकासमा सरकार असफल देखिएको छ । जुन रूपमा विकास गर्नु पर्ने थियो त्यसरी भएन । हामी व्यवसायीले लगानीमा कम गरेनौँ । एकपछि अर्को ब्राण्डेड होटलहरु, ठूला पाँचतारे होटलहरु २ वर्षभित्र थपिँदै छन् । पूर्वाधार नहुँदा हामीसँग भएको क्षमताको पूर्ण उपयोग गर्न सकेका छैनौँ । यसले गर्दा पनि समस्या आएको हो ।’
पर्यटन व्यवसाय सुधारका लागि भैरहवा र पोखरा एयरपोर्टलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउनुपर्ने उनको भनाई छ । ‘नयाँ बनेका विमानस्थललाई घाममा सुकाउनु भएन । फ्लाइट ल्याउनुप¥यो । हामीले ऋण लिएर होटलमा लगानी गरेका छौँ । ऋणको साँवा र ब्याज तिरेका छौँ । एयरपोर्ट बनेपछि पर्यटक आउँछन् भनेर अर्बौँ लगानी गरेर खुलेको भैरहवाका होटलहरु डुबेका छन् ऋण र ब्याज तिर्न नसक्दा बैंकले कालोसूचीमा राख्छ । लिलामीमा चढाइराखेको छ । यसमा सरकारको जबाफदेहिता खोइ ।’
क्षमता ३५ लाख, आउँछन् १० लाख
नेपालमा ३० देखि ३५ लाख पर्यटक अटाउने सक्ने क्षमता छ । तर, ग्राहकहरू १० लाख आउँछन् । नेपाली होटलले ३५ लाख ग्राहकलाई सेवा दिन सक्छ । खानादेखि अन्य धेरै कुरामा सेवा दिन सक्छ । सरकारको लक्ष्य २०२३ मा १० लाख पर्यटक भित्र्र्याउने छ । १० लाख पर्यटकले एक तिहाइ मात्र होटल भरिन्छन् । यसले गर्दा पनि लगानी अनुत्पादक भइरहेको उनको भनाई छ ।
‘पर्यटकहरू बढेका छन् । यो राम्रो हो । र आएका पर्यटक हाम्रो क्षमताको एक तिहाइ मात्र हो । १०० प्रतिशत नभए पनि ७० प्रतिशत होटल त भरिदिनुपर्यो । २२ लाख पर्यटक आए पनि हामी अगाडी बढ्न सक्ने थियौँ । सरकारको बजेट र मौद्रिक नीतिले पनि हामीलाई छोएको छैन । व्यवसाय विस्तार गर्ने वातावरण बनाउन सकेको छैन’, उनले गुनासो गरे ।
उनका अनुसार अहिले काठमाडौंका नयाँ र ठूला होटलहरु भरिभराउ छन् । उनीहरूको व्यवसाय पनि राम्रो छ । बोनस पनि राम्रो दिएका छन् । तर, यतिले देशभरिको अवस्थालाई प्रतिबिम्बित नगर्ने उनको भनाई छ । ‘हाम्रो सञ्चालन खर्च नै उठ्दैन । ४० प्रतिशत अकुपेन्सी नभईकन हाम्रो खर्च उठ्दैन नि लगानी कसरी गर्ने ? उनले प्रश्न गरे ।
भाषण मै सीमित कार्यक्रम
सरकारले बजेटमा चालु आर्थिक वर्षको बजेटमा सन् २०२३ देखि २०३२ सम्मलाई पर्यटक दशक भनेर घोषणा गरेको छ । तर, यसका लागि आवश्यक पर्ने कार्यक्रम योजनाहरू केही नआएको उनले सुनाए । उनले भने, ‘कार्यक्रमको घोषणा गरेर मात्रै भएन त्यसलाई कार्यान्वयन पनि गर्नुपर्यो । पर्यटन विस्तारका लागि पूर्वाधारको पनि विकास गर्नुप¥यो । राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा यसको प्रचार प्रसार गर्नुपर्यो ।’
पर्यटन दशकमा सरकारले कार्यक्रम ल्याएर केही गर्न नसकेको उनको तर्क । यसको सचिवालय कहाँ छ भने प्रश्न गर्दै उनले अगाडी भने, ‘बजेट कति छुटाएका छौँ । यसबारे कुनै जानकारी आएको छैन । पुराण भनेजस्तो भएन र । बजेटमा भन्ने अनि कार्यान्वयन नगर्ने ?’
एक वर्षमा ९४.६४ प्रतिशतले घट्यो पर्यटन क्षेत्रको लगानी
उद्योग विभागका अनुसार पर्यटन क्षेत्रको लगानी ठूलो मात्रामा घटेको छ । यस क्षेत्रको लगानी एक वर्षमा ९४.६४ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षमा पर्यटन क्षेत्रका ६ उद्योगका लागि ७ अर्ब १० करोड ७ लाख रुपैयाँ लगानी भित्रिएको थियो ।
चालु आवको साउन महिनामा नौं उद्योगका लागि ३८ करोड रुपैयाँ प्रस्ताव आएको छ । सरकारको बजेट र मौद्रिक नीतिले पनि व्यवसायीहरूको लगानी गर्ने वातावरण झन् खस्किँदै गएको व्यवसायीहरू बताउँछन् ।

सात महिनामा भित्रिए ५ लाख पर्यटक
सन् २०२३ को सुरुवाती महिना जनवरीदेखि नै नेपालमा भित्रिने पर्यटकहरूको सङ्ख्या बढ्दो छ । अध्यागमन विभागका अनुसार जनवरीदेखि जुलाईसम्म अर्थात् सात महिना अवधिमा ५ लाख ३४ हजार २१० जना पर्यटक नेपाल भित्रिएका छन् ।
यस अवधिमा भित्रिएका पर्यटकमध्ये मार्च महिनामा सर्वाधिक पर्यटक नेपाल भिधिएका छन् भने जनवरीमा कम पर्यटक आएका थिए । मार्च महिनामा झण्डै एक लाख पर्यटक भित्रिएको विभागको तथ्यांकमा उल्लेख छ । यस अवधिमा ९९ हजार ४२६ जना विदेशी पर्यटक नेपाल आएका हुन् ।
त्यसैगरी, जनवरीमा ५५ हजार ७४ जना, फेब्रुअरीमा ७३ हजार २५६, अप्रिलमा ९८ हजार ७७४, मे महिनामा ७७ हजार ७०४, जुन महिनामा ७२ हजार २५० र जुलाईमा ५७ हजार ७२६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
Advertisment