Below Menu
Below Menu

नगरका बहुवर्षे गौरवका योजना कार्यान्वयनमा, नाला निर्माणका लागि साढे नौ करोड 

नगरका बहुवर्षे गौरवका योजना कार्यान्वयनमा, नाला निर्माणका लागि साढे नौ करोड 

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाले नगरका बहुवर्षे गौरवका योजना निर्माणको कार्य अगाडि बढाएको छ । नगरपालिकाले नगर चक्रपथ र खानेपानी आयोजना निर्माणको कार्य अगाडि बढाएको हो । नगरस्तरीय कभर्ड हल निर्माणका लागि जग्गा छनोट गरी ठेक्का सम्झौता गरिएको छ । 

नगरपालिकाको भौतिक पूर्वाधार शाखाका प्रमुख इञ्जिनीयर दीपक धामीका अनुसार नगर चक्रपथ सडक पहिलो चरणमा वडा नं १, २, ३ र १२ मा दुई दशमलव ६७ किलोमिटर लम्बाइको निर्माण हुनेछ । त्यसका लागि एडभान्चर, राजधानी र नार्गाजुन जेभीसँग ठेक्का सम्झौता भई सडक स्तरोन्नतिको कार्य भइरहेको छ । चक्रपथ सडक निर्माणका लागि नगरपालिकाले रु एक करोड ६४ लाख ४७ हजार पाँच सय ६१ बजेट विनियोजन गरेको छ । 

सो सडकको चौडाई नौ मिटर रहेको छ । नगरपालिकाका सबै वडामा सात दशमलव ६७ किलोमिटर मुख्य बाटो पानी पिचको कार्य अगाडि बढाइएको इञ्जिनीयर धामीले बताए । “नगरस्तरीय कभर्ड हल निर्माणका लागि वडा नं १० मा जग्गा छनोटको कार्य गरेका छौँ”, उनले भने, “छनोट गरिएको जग्गाको क्षेत्रफल पाँच सय १० दशमलव ६८ वर्गमिटर रहेको छ ।” एसएनएस जयलक्ष्मी जेभी नेपालगञ्जसँग कवर्ड हल निर्माणका लागि रु दुई करोड ६६ लाख ४९ हजार पाँच सय ५४ मा ठेक्का सम्झौता गरिएको छ । दुई वर्षभित्रै कवर्ड हल निर्माणको कार्य पूरा गर्नका लागि समय सीमा निर्धारण गरिएको छ । 

यसैगरी वडा नं २ लक्ष्मीपुरमा उच्चाकोटी ड्रिलिङ एण्ड कन्स्ट्रक्सन कम्पनीसँग रु छ करोड आठ हजार चार सय १४ मा खानेपानी आयोजना निर्माणका लागि ठेक्का सम्झौता गरी निर्माण कार्य अगाडि बढाइएको छ । निर्माण कम्पनीले खानेपानीका लागि बोरिङ जडानका लागि ड्रिल गर्ने कार्य अगाडि बढाएको छ । दुई सय २५ घनमिटरको ओभरहेड ट्याङ्की निर्माणको कार्य पनि अगाडि बढाएको इञ्जिनीयर धामीको भनाइ रहेको छ । 

खानेपानी योजना आउँदो असार मसान्तभित्रै सम्पन्न गरिने बताइएको छ । नगरपालिकाले बहुवर्षे नगर गौरवका योजनासँगै दीर्घकालीन परियोजनासमेत सञ्चालनमा ल्याएको छ । नगरपालिकाभित्रका डुबान क्षेत्रको पहिचान र बाढीको पानी निकासका लागि विस्तृत परियोजना तयार गरेको छ । बाहैं वडा भएर बग्ने ठूला नदी सुनवरा, स्याली, वनहरा गरी अन्य खोलानालासहित जम्मा एक सय ३० किलोमिटर क्षेत्रको सर्भे गरी जोखिम प्रभावित क्षेत्र पहिचानको कार्य गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकेन्द्रराज भट्टले बताए । 

“नदी क्षेत्रको ३६ किलोमिटर दुवै किनारा गरी ७२ किलोमिटर क्षेत्र अति प्रभावित क्षेत्रका रुपमा पहिचान गरेका छौँ”, उहाँले भन्नुभयो, “त्यसका लागि नदी नियन्त्रण संरचना निर्माण गर्नुपर्ने देखिएको छ, जसको लागत रु एक करोड ८८ लाख २७ हजार एक सय ७७ प्रति किलोमिटर हुन आउछ ।” नगरपालिकाको बजेटले नभ्याउने भएकाले नदी नियन्त्रण संरचना निर्माणका लागि प्रदेश र सङ्घीय सरकारलाई पत्राचार गरिएको उन जानकारी दिए । उनका अनुसार नगरपालिकाका १२ वटै वडाका ५२ क्षेत्र डुबान हुने क्षेत्रका रुपमा पहिचान गरिएका छन् ।

डुबान क्षेत्रको पानी निकासका लागि नाला निर्माण गरी खोलासँग जोडन रु नौ करोड ८७ लाख २१ हजार तीन सय ४७ खर्च लाग्ने अनुमान गरिएको छ । नगरपालिकामा सडक सञ्जाल तीन सय ३८ दशमलव १५ किलोमिटर रहेको छ । त्यसमध्ये ५१ दशमलव २८ कालोपत्र, ४८ दशलव ६३ कच्ची र दुई सय ३८ दशमलव २४ किलोमिटर सडक ग्राभेल रहेको छ । ग्राभेल गरिएका सडकलाई कालोपत्र गर्न र कच्ची सडकको स्तरोन्नति गरी ग्राभेल राख्ने तथा पानी पिच गर्ने कार्यलाई अगाडि बढाइएको छ । 

Advertisment