सोलार बत्ती जडानमा पाँच लाख घुस लिने विष्णुपुर गाउँपालिकाका अध्यक्षसहित तीन जना विरुद्ध मुद्दा 

सोलार बत्ती जडानमा पाँच लाख घुस लिने विष्णुपुर गाउँपालिकाका अध्यक्षसहित तीन जना विरुद्ध मुद्दा 

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवसहित तीन जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले गाउँपालिकाका अध्यक्ष यादव, लेखापाल टेक नारायण यादवसमेत ३ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार गाउँकार्यपालिकाको कार्यालय, विष्णुपुरमा कार्यरत लेखापाल टेक नारायण यादवले सोलार बत्ती जडान लगायत योजनाको भुक्तानी बापत सेवाग्राहीसँग घुस÷रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी परेको थियो ।

सोही निवेदनका आधारमा आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निज लेखापाल यादव र एमआईएस अपरेटर विरेन्द्र कुमार यादवलाई सेवाग्राहीबाट नगद २ लाख रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा उक्त रकम ३ लाख रुपैयाँको चेकसहित साउन ३१ गते नियन्त्रणमा लिएको थियो ।

आयोगले अनुसन्धान गर्दा गाउँपालिकाका अध्यक्ष यादव समेतको मिलोमतो तथा योजनामा उनीहरुले सेवाग्राहीसँग नगद २ लाख र चेकमार्फत ३ लाख रुपैयाँ समेत गरी जम्मा ५ लाख रुपैयाँ घुस लिएको पुष्टि भएको हो ।

उनीहरु विरुद्ध आयोगले जनही ५ लाख रुपैयाँको विगो र जरिवाना सजाय समेतको मागदावी गर्दै मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।