Below Menu
Below Menu

चालु खाता १२ अर्ब ९९ करोडले बचतमा 

चालु खाता १२ अर्ब ९९ करोडले बचतमा 

काठमाडौं :  चालु खाता १२ अर्ब बढीले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । यस अवधिमा चालु खाता १२ अर्ब ९९ करोडले बचतमा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१५ अर्ब १३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ११ करोड ८८ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ९ करोड ८५ लाखले बचतमा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ६५.९ प्रतिशतले कमी आई रु.२७ करोड २६ लाख कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.२ अर्ब ६५ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.८० करोड ३ लाख कायम भएको थियोभने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१ अर्ब ४० करोड ऋणात्मक रहेको थियो ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा शोधनान्तर स्थिति रु.३२ अर्ब ९० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१९ अर्ब ७६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १५ करोड ५२ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २४ करोड ९५ लाखले बचतमा रहेको छ ।
 

Advertisment