काठमाडौं : बढ्दो ब्याजदर र आर्थिक मन्दीका कारण ऋणीहरु थप मारमा परेका छन् । समयमा ऋण तिर्न नसकेपछि कालोसूचीमा पर्नेको संख्या थपिदै गएको हो । चालु आर्थिक वर्षको पछिल्लो तथ्यांक हेर्ने हो भने एक महिना मै ३ हजारबढी ऋणीहरु कालोसूचीमा परेका छन् ।
कर्जा सूचना केन्द्रका अनुसार यस अवधिमा ३ हजार ८०६ व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका छन् । धेरैजसो व्यक्तिहरु चेक बाउन्सका कारण कालोसूचीमा पर्ने गरेको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार यस अवधिमा कालोसूचीमा पर्नेमा विभिन्न व्यक्ति सँग–सँगै, होटल तथा रेष्टुरेन्ट, निर्माण कम्पनी, सहकारी लगायत अन्य कम्पनीहरु रहेका छन् । मुलुकमा देखिएको आर्थिक संकटका कारण कालोसूचीमा पर्ने ऋणीहरुको संख्या थपिदै गएको हो ।
आर्थिक मन्दीका कारण निर्माणका कामहरु ठप्प छन् । बढ्दो ब्याजदरका कारण व्यवसायीहरुले लगानी गर्न सकेका छैनन् । व्यवसाय ठप्प हुँदा आर्थिक गतिविधि चलायमान हुन सकेको छैन ।
पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा तरलता थपिदै गएपनि कर्जा लगानी सुस्त छ । यसले गर्दा पनि बजारमा आर्थिक गतिविधि बढ्न सकेको छैन । मुलुकको अर्थतन्त्रका बाह्य सूचकहरुमा सुधार हुँदै गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
चालु आर्थिक वर्षको पहिलो साउन महिनामा रेमिट्यान्स आप्रवाहमा ऐतिहासिक रेकर्ड कायम भएको छ भने चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा छ । राष्ट्र बैंकका अनुसार गत साउन महिनामा एक खर्ब १६ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
यता चालु खाता ३३ महिनापछि बचतमा गएको छ । राष्ट्र बैंकका अनुरा २०७७ कात्तिकसम्म बचतमा रहेको चालु खाता त्यसयताको ३३ महिनासम्म घाटामा थियो । चालु आवको साउनमा चालु खाता १२ अर्ब ९९ करोडले बचतमा रहेको छ भने शोधनान्तर स्थिति ३२ अर्ब ९० करोड बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।
२०७८ साउनदेखि लगातार १४ महिना घाटामा रहेको शोधनान्तर स्थिति भने २०७९ असोजदेखि बचतमा गएको थियो । त्ययता शोधनान्तर बचत भएपनि चालु खाता घाटा कायम रहँदा अर्थतन्त्रमा देखिएको दबाब कायमै थियो ।
अर्थतन्त्रमा देखिएको दबादका कारण बजारमा आर्थिक कारोबारहरु बढ्न सकेका छैनन् । सरकारले भू–उपयोग (पहिलो संशोधन) नियमावली, २०८०, जारी गरेपछि अस्पष्ट नियमावलीका कारण जग्गाको कित्ताकाट र कारोबार ठप्प छ । मुलुकको आर्थिक गतिविधि बढ्न नसकेको कारण कालोसूचीमा पर्ने ऋणीहरु थपिदै गएका छन् ।
गोकर्ण रिसोर्टसहित कालोसूचीमा परेका कम्पनी
केन्द्रका अनुसार भदौ महिनामा कालोसूचीमा पर्नेमा न्यु पाथीभरा कपि स्टेशनरी उद्योग, त्रियुगा काष्ठ फर्निचर उद्योग, गायत्री होटल एण्ड लज, न्यु भिजन बचत तथा ऋण सहकारी संस्था, धौलागिरी कन्ट्रक्सन एण्ड डेभलपमेन्ट, शुभम इट्टा उद्योग र कन्चन किसान एग्रो फार्म एण्ड रिसर्च सेन्टर रहेका छन् ।
त्यसैगरी यस अवधिमा मकालु काञ्जीरोवा अटो लिंक, लुम्बिजी बचत तथा ऋण सहकारी, सिद्धार्थ कुटी रिसोर्ट, मोजो बुटिक होटल, मनकामना इलेक्ट्रोनिक्स एण्ड अडियो भिडियो कन्सर्न, सञ्जय मोटस ड्राइभिङ स्कुल, मादी हिमाली अर्थोडक चिया उद्योग, जनता प्रकाशन तथा प्रकाशन पब्लिक, डेरिभेटिभ सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ, ओसिएन दि गार्डेन एण्ड लज पनि कालोसूचीमा परेको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार युनिभर्सल वाइल्डलाइफ एण्ड फूल प्रोडक्स, केदारनाथ एग्रोभेट रिसर्च डेभलपमेन्ट, आरएस टुर एण्ड ट्रान्सपोर्ट, इनर्जी सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ, अग्नी सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ, ओम जय शिवशक्ति ज्वेलरी, चामलिङ कन्ट्रक्सन एण्ड वाटर रिसर्च, गोकर्ण रिसाेर्ट एण्ड पार्टी प्यालेस, धुव्रतारा दाना तथा खाद्य उद्योग पनि सोही अवधिमा कालोसूचीमा परेको छ ।
त्यस्तै, एनपी डेकोरेशन एण्ड होम अप्लायन्स, सन्तुलित मल्टीप्रपोज को अरेटिभ, भए एस पाहुना घर एण्ड रेष्टुरेन्ट, श्रप्ी हिमाल सुनचाँदी उद्योग, पिंगल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ, एग्रिकल्चर डेभलपमेन्ट मल्टीप्रपोज को अपरेटिभ, ललित ब्युुटिसियन बहुउद्देश्यीय सहकारी, कमल नारायण मल्टीप्रपोज को अपरेटिभ पनि कालोसूचीमा परेको छ ।
भदौ महिनामा नै कालोसूचीमा पर्ने अन्य कम्पनीमा सूर्योदय निर्माण एण्ड हाउजिङ कम्पनी, हिमालयन आइस उद्योग, लोकसेवा रेष्टुरेन्ट एण्ड बार, हातेमालो साना किसान कृषि सहकारी, माउन्टेन निटिङ ह्याण्डीक्राफ्ट एक्सपोर्ट रहेको केन्द्रले जनाएको छ ।
(यसअघि भूलवश गाेकर्ण फरेष्ट रिसाेर्ट र फाेटाे पर्न गएकाेमा सच्याइएकाे छ । संं.)
Sponsored Advertisment