काठमाडौं : चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले दुई करोड ८३ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
गत आवको सोही अवधिसम्म एक करोड २३ लाख ३१ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको कम्पनी नाफामा गएको हो । समिक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी बढेसँगै वित्तीय खर्च घटेका कारण नाफामा सुधार देखिएको हो ।
गत वर्ष १३ करोड ८७ लाख सात हजार रुपैयाँ रहेको कम्पनीको सञ्चालन मुनाफा असोज मसान्तसम्म आइपुग्दा ३७.४२ प्रतिशतले बढेर १९ करोड ३१ लाख ७४ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै कम्पनीको कुल नाफा कुल नाफा २२.९० प्रतिशतले बढेर १४ करोड २३ लाख रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीको कुल नाफा ११ करोड ३२ लाख ५८ हजार रुपैयाँ रहेको थियो । यस अवधिमा कम्पनीको वित्तीय खर्च तीन करोड ४१ लाख रुपैयाँबाट घटेर तीन करोड चार लाख रुपैयाँमा सिमित भएको छ । जसका कारण नाफामा सुधार देखिएको हो ।
पहिलो त्रैमाससम्म आइपुग्दा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ । गत वर्ष ०.८१ रुपैयाँ ऋणात्मक रहेको प्रतिशेयर आम्दानी यस वर्ष बढेर १.९६ रुपैयाँ पुगेको छ। त्यस्तै यस अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ४२०.९६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०७.४१ रुपैयाँ रहेको छ।
असोज मसान्तसम्म एक अर्ब ६१ करोड ७ लाख ९५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिजर्भ तथा सरप्ल ११ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।