काठमाडौं : लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका पीडित बचतकर्ताहरुले साढे तीन कराेड रुपैयाँ फिर्ता पाउने भएका छन् । यसै साता भित्र पीडित बचतकर्ताहरुको ३ करोड ४० लाख रुपैयाँ बचत फिर्ता गर्न लागिएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य सचिव केशव प्रसाद पौडेलले जानकारी दिए ।
उनले भने, ‘समस्याग्रस्त घोषित उक्त सहकारीका पीडित बचतकर्ताहरुलाई यो साता भित्र लुःनिभाको ३ करोड ४० लाख रूपैयाँ अर्थात बचतको ३६ प्रतिशत रकम फिर्ता गदैछौं । अब ५ करोड रुपैयाँ फिर्ता गर्न बाँकी छ ।’
सरकारले समस्याग्रस्त घोषणा गरेको उक्त सहकारीमा २१४ जना बचतकर्ताहरुको ११ करोड ७४ लाख ४४ हजार २६ रुपैयाँ मागदावी रहेको थियो । हालसम्म समितिले ८३ जना बचतकर्ताहरुको बचत फिर्ता गरिसकेको समते उनले जानकारी दिए ।
डकुमेन्ट नमिल्दा ओरियण्टल सहकारीको पैसा फिर्ता गर्न समस्या
बचकर्ताहरुको काजगपत्र नमिल्दा ओरियन्टल बचत तथा ऋण सहकारीका सदस्यहरुको बचत फिर्ता गर्न समस्या हुने गरेको उनले सुनाए । उनका अनुसार ओरियण्टल सहकारीका २७९ जनाको पैसा फिर्ता भइसकेको छ भने अरु सदस्यहरुको डकुमेन्ट भेरिफाई भईरहेको छ ।
उक्त सहकारीको थप २ करोड १५ लाख रुपैयाँ फिर्ता गर्ने लक्ष्य रहेको उनले बताए ।उनी भन्छन्, ‘सदस्यहरुको बैंक खाता छैनन् । आफ्नै भनेर अर्कोको खाता नम्बर ल्याउँछन् । कसैको खातामा अंग्रेजी अक्षर मिल्दैन । उनीहरुले दिएको डकुमेन्टमा पैसा पठायो मिल्दैन भन्छ फेरी फोन गरेर बोलायो । केही नजानेका साना–साना बचतकर्ताहरु छन् रिसाउन पनि भएन ।’
जनशक्ति अभावमा प्रगति सुस्त
सञ्चालकले बचतकर्ताको बचत रकम हिनामिना गरेको भन्दै विभागमा उजुरी बढ्न थालेका छन् । सरकारले थप दुई सहकारी समस्याग्रस्त घोषणा गरेको छ । सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी तेथा गरिबी निवारण मन्त्रालयले भदौ २६ भक्तपुरको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र मोरङको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको छ । यीसँगै समस्याग्रस्त घोषणा भएका सहकारीको सङ्ख्या १५ पुगेको छ ।
मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको शिवशिखर बहुउद्देश्यीय सहकारीको कार्यालयहरू सिल गर्न लागिएको समितिका सदस्य सचिव पौडेलले जानकारी दिए ।
यसका साथै उनले पशुपति सहकारीको कार्यालयहरू सिल गरी बचतकर्तालाई पनि माग दाबीका लागि पत्राचार गरेको जानकारी दिए । उनका अनुसार हालसम्म उक्त सहकारीका ५ सय भन्दा बढीको आवेदन परिसकेको छ ।
शिवशिखरको कार्यालय सिल गर्नमा नै व्यस्त भएको र जनशक्तिको अभावका कारण अन्य काम अघि बढ्न नसकेको उनले बताए । ‘अहिले कार्यालय सिल गर्ने मात्र काम भइरहेको छ । पशुपति सहकारीको आवेदन परेकाहरूको अभिलेख भरिफाई हुँदै छ । अन्य काम अगाडी बढ्न सकेको छैन’, उनले भने ।
समस्याग्रस्त घोषित सहकारी संस्थाहरुको हालसम्मको स्थिति
ओरेण्टल को–अपरेटिभ
वि.स २०७४ समस्याग्रस्त घोषणा भएको उक्त सहकारीमा हालसम्म ४ हजार २५९ जनाबाट ३ अर्ब १९ करोड ५० लाख २२ हजार ८६२ रुपैयाँ बराबरको मागदावी परेको छ । हालसम्म यस समितिमा रहेको उक्त सहकारीको खातामा २ करोड ७१ लाख ८८ हजार २ रुपैयाँ जम्मा छ ।
संस्थासँग सम्बद्ध रहेको अचल सम्पत्ति जग्गा लिलामको सूचना प्रकाशित भएकोमा सर्वोच्च अदालतको आदेश बमोजिम लिलाम गर्न रोक लगाएकोले लिलाम हुन नसकिरहेको अवस्थामा यस समितिको पहलमा निलम्वित अध्यक्षसँग वार्ता गरी मुद्दा फिर्ता लिने सहमति गराई गत असार २७ गते मुद्दा फिर्ता लिएकाले लिलाम लगायतका अन्य काम कारवाहीको प्रकृया अगाडि बढेको छ ।
बचतकर्ताहरुको बचत फिर्ता गर्ने सम्बन्धमा कार्ययोजना बनाई उक्त संस्थासँग सम्बन्धित जग्गाहरु लिलाम गरी जम्मा हुने रकम र संस्थाको समेत लगानीमा निर्माणाधिन रहेको भेगास सिटी अपार्टमेण्टको करिब ४१ रोपनीको जग्गा विभिन्न बैंक र संचयकोषको ऋण भुक्तानी भएपछि यस समितिमा बाँकी रकम ल्याउने व्यवस्था गरी बचतकर्तालाई रकम फिर्ता दिने गरी कार्ययोजना बनाई कार्य प्रारम्भ गरेको समितिले जनाएको छ ।
एक लाख रुपैयाँभन्दा कम बचत मागदावी गर्ने बचतकर्ताहरुलाई पहिलो चरणमा बचत फिर्ता गर्ने प्रक्रियामा रहेको उनले जानकारी दिए ।
स्टयाण्डर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ
उक्त सहकारीका १७५ जना बचतकर्ताहरुको मागदावी रहेकोमा ७१ जना मागदावीकर्ताहरुको हिसाव मिलान÷बचत फिर्ता गरिएको छ । १०४ जना बचतकर्ताहरुलाई ९ करोड ६८ लाख ५८ हजार ५८२ रुपैयाँ रकम फिर्ता गर्न बाकी रहेको छ । ७३ जना ऋणीबाट १ करोड १३ हजार ५५८ रुपैयाँ असुल गरिएकोमा सहकारीको नाममा रहेको समितिको खातामा हाल २२ लाख ३५ हजार ९८४ रुपैयाँ मौज्दात रहेको छ । समितिबाट १९ जना ऋणीको जग्गा रोक्का राखिएको छ ।
प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेण्ट को–अपरेटिभ
यस सहकारीका ३५२ जना बचतकर्ताहरुको मागदावी रहेकोमा १८६ जना बचतकर्ताहरुको बचत फिर्ता गरिएको । समितिको खातामा हाल ६ लाख ८ हजार ०४० रुपैयाँ मौज्दात रहेको छ । १६६ जना बचतकर्ताहरुलाई १२ करोड ३७ लाख २७ हजार ७४२ रुपैयाँ फिर्ता गर्न बाँकी रहेको छ भने २८ जना ऋणीको जग्गा रोक्का राखिएको ।
प्रभु बचत तथा ऋण सहकारी संस्था
प्रभु सहकारीका १३८ जना बचतकर्ताहरुको १३ करोड २० लाख ८९ हजार ९२७ रुपैयाँ मागदावी रहेकोमा १५ जना बचतकर्ताहरुको १५ लाख १७ हजार रुपैयाँ बचत फिर्ता गरिएको छ भने समितिको खातामा हाल १७ लाख ६ हजार ६१६ रुपौयँ मौज्दात रहेको छ ।
१२३ जना बचतकर्ताहरुलाई १३ करोड ५ लाख ७२ हजार ९२७ रुपैयाँ फिर्ता गर्न बाकी रहेको छ भने १२ जना ऋणीबाट २२ लाख ८ हजार ९९० रुपैयाँ असुल गरिएको छ ।
समितिबाट ३ जना ऋणीको जग्गा रोक्का राखिएको छ भने ८१ जना सञ्चालक, कर्मचारी तथा ऋणीहरुको बैंक खाता रोक्का गरिएको छ ।
कोहिनुर हिल बचत तथा ऋण सहकारी
कोहिनुर सहकारीको ५१ जना बचतकर्ताहरुको २ करोड ४१ लाख ७१ हजार ८९९ रुपैयाँ रकम मागदावी रहेको छ । ७ जना बचतकर्ताहरुले समितिमै उपस्थित भई मागदावी फिर्ताको लागी निवेदन पेश गरेका छन् । यो संस्था ओरेण्टल को–अपरेटिलसँग सम्बन्धित रहेको भन्ने ओरेण्टल सहकारी संस्थाका अध्यक्षको भनाई रहेकाले समिति समक्ष उपस्थित भई फरफारक गर्ने निजले जिम्मा लिएको छ ।
कन्जुमर बचत तथा ऋण सहकारी संस्था
यस सहकारीका ५६ जना बचतकर्ताहरुको ४ करोड ३४ लाख ७८ हजार २५२ रुपैयाँ रकम मागदावी रहेको थियो । यो संस्था पनि ओरेण्टल को–अपरेटिभसँग सम्बन्धित रहेको भन्ने ओरेण्टल सहकारी संस्थाका अध्यक्षको भनाई रहेकाले समिति समक्ष उपस्थित भई फरफारक गर्ने निजले जिम्मा लिएको समितिले जनाएको छ ।
कुवेर बचत तथा ऋण सहकारी संस्था
उक्त सहकारीमा म्याद भित्र दाबी गर्ने बचतकर्ताहरुको ५७ लाख ६३ हजार ४६७ रुपैयाँ रकम मागदावी रहेकोमा सबै बचतकर्ताहरुको बचत फिर्ता गरिएको छ ।
चार्टर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ
उक्त सहकारीमा बचतकर्ताहरुको ८४ लाख ११ हजार ४९४ रुपैयाँ बराबरको मागदावी रहेकोमा ४ जना सदस्यहरुको मात्र दाबी फिर्ता गर्न बाँकी रहेको छ । ४५ जना ऋणीबाट ३६ लाख १२ हजार ९०३ रुपैयाँ असुल गरिएको छ भने १६ जना ऋणीको जग्गा रोक्का राखिएको छ । चालु आवको पहिलो त्रैमासमा नै सबै रकम फिर्ता गरिने समितिले जनाएको छ ।
भेगास बचत तथा ऋण सहकारी संस्था
भेगास सहकारीका बचतकर्ताहरुको १ करोड ६५ लाख ४४ हजार ७११ रुपैयाँ मागदावी रहेको छ । उाो संस्था ओरेण्टल को–अपरेटिभसँग सम्बन्धित रहेको भन्ने ओरेण्टल सहकारी संस्थाका अध्यक्षको भनाई रहेकाले यस समिति समक्ष उपस्थित भई फरफारक गर्ने निजले जिम्मा लिएको समितिले जनाएको छ ।
स्टयाण्डर्ड मल्टिपर्पोज को–अपरेटिभ
यस सहकारी विरुद्ध बचतकर्ताहरुको ७५ लाख २८ हजार ८२४ रुपैयाँ बराबरको मागदावी रहेकोमा सबै मागदावीकर्ताहरुको बचत फिर्ता गरिएको छ ।
सोसाईटल बचत तथा ऋण सहकारी संस्था
सोसाइटल सहकारीमा २४० जना बचतकर्ताहरुको १० करोड ८७ लाख ४१ हजार २४३ रुपैयाँ मागदावी रहेकोमा १६२ बचतकर्ताहरुको बचत फिर्ता गरिएको छ । ७८ जना बचतकर्ताहरुलाई ५ करोड ३५ लाख २८ हजार ३५५ रुपैयाँ बाँकी रहेको छ ।
समितिको खातामा हाल ७ लाख ७२ हजार ८२८ रुपैयाँ मौज्दात रहेको छ । सहकारीको नाममा चितवनमा रहेको १३ कट्टा जग्गाबाट बाँकी माग दावीकर्ताको दावी फिर्ताको प्रकृयामा रहेको छ ।
लुः निभा बहुउद्देश्यीय सहकारी संस्था
यस सहकारीमा २१४ जना बचतकर्ताहरुको ११ करोड ७४ लाख ४४ हजार २६ रुपैयाँ मागदावी रहेकोमा ८३ जना बचतकर्ताहरुको बचत फिर्ता गरिएको छ । समितिको खातामा हाल ३२ लाख ३० हजार ३११ रुपैयाँ मौज्दात रहेको छ छ । ८८ जना ऋणीबाट एक करोड ४१ लाख ९६ हजार २७१ रुपैयाँ असूल गरिएको छ भने रोक्का राखिएका अचल सम्पत्तिहरु लिलामी प्रकृया अगाडी बढाईएको छ ।
Advertisment