काठमाडौं : नेपाल विद्युत प्राधिकरणले सडक बत्ती उपयोग गरेवापतको बक्यौता तिर्न ३३२ स्थानीय तहलाई ४५ दिने अल्टिमेटम दिएको छ । प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै देशभरका विभिन्न स्थानीय तहहरुलाई सडक बत्ती उपयोग गरेपावतको बक्यौता तिर्न अल्टिमेटम दिएको हो ।
प्राधिकरणका विभिन्न वितरण केन्द्रहरुबाट स्थानीय निकायहरुले सडकबत्तीका लागि विद्युत उपयोग गरेपावत २०८० असार मसान्तसम्मको विद्युत महसुल बुझाउन बाँकी रहेको हुँदा सम्बन्धित वितरण केन्द्र सम्पर्क गरी सूचना जारी भएको ४५ दिनभित्र उक्त बक्यौता महशुल बुझाउन प्राधिकरणले भनेको छ ।
तोकिएको समयसीमाभित्र बक्यौता महशुल नबुझाएमा कारबाही गरिने समेत प्राधिकरणले चेतावनी दिएको छ । स्थानीय तहले कुल तिनुपर्ने बक्यौता ६ अर्ब ८ करोड ९४ लाख ३११ रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ ।
यसका साथै प्राधिकरणसँग अनुमति नलिई बिना मिटर आफूखुसी जथाभावी सडक बत्ती जोड्ने काम नगर्न र बिना मिटर जडान गरिएका सडक बत्तीहरुमा सम्बन्धित वितरण केन्द्रबाट ४५ दिनभित्रमा मिटर जडान गर्न स्थानीय निकायलाई आग्रह पनि गरेको छ ।
मिटर जडान नगरिएका सडकबत्तीहरु हटाइने समेत प्राधिरकणले जनाएको छ ।

Advertisment