Below Menu
Below Menu

छ दशकदेखि भेडापालक किसान भन्दछन्ः ‘कृषि अनुदान भन्ने थाहा छैन’

छ दशकदेखि भेडापालक किसान भन्दछन्ः ‘कृषि अनुदान भन्ने थाहा छैन’

ढोरपाटन : शिरमा हरियो गलबन्दी, शरीरमा मैलिएका कपडा । बुढ्यौउली उमेर, चाउरिएका अनुहार ढल्दै गरेको उमेर । तर पनि काम गर्ने जोस जाँगर भने कत्ति पनि घटेको देखिन्न । हिजोआज पहेँलो त्रिपालले छाएको गोठ छेउमै भटिन्छन्, रनबहादुर सिर्पाली । गोठ वरपर दुई सय ५० बढी भेडाबाख्रा चरिरहेका देखिन्छन् ।

युवावस्थामा एक सय ५० सय भेडाबाख्रा पालेको सुनाउने उनी अहिले तागत घट्दै गएपछि कम पाल्न थालेको बताउछन्। बागलुङको सबैभन्दा दुर्गम गाउँ तमानखोला गाउँपालिका–५ का उनले व्यावसायिक रुपमा भेडापालन गन थालेको ६३ वर्ष भयो । नौ वर्षकै उमेरदेखि गोठालो गर्न थाल्नु भएका सिर्पाली अहिले ७२ वर्ष पूरा भए ।

एउटै पेसामा यति लामो समयसम्म निरन्तरता दिई राख्ने यासदै होलान् । सरकारी कर्मचारी भए पनि २० वर्ष मात्रै जागिरमा रहन्छन् । तर सिर्पाली दशकौँसम्म एउटै पेसामा अनवरत रुपमा लागि राखेका छन्। बिहान उठेदेखि राति नसुतुञ्जेलसम्म भेडाबाख्राको स्याहारमै व्यस्त हुने उनी दसैँ अगाडि मात्रै बुकीबाट झर्नु भएको थियो । विकट गाउँमा जन्म हुँदा सानैबाट गोठालोमा लाग्नुपरेको उनले गुनासो गरे।

आफ्नो बाल्यकालमा अहिलेको जस्तो पढ्ने लेख्ने चलन नभएको हुँदा आफूले पढ्न नपाएको उनी बताउछन्। अहिले तमानखोला दुर्गम नै मानिन्छ । पहाडैपहाडले घेरिएको तमानखोलाका अधिकांश नागरिक रनबहादुर जस्तै पशुपालनमा लागेका छन्। अग्ला भिर पाखा र पशुपालनका लागि राम्रो वातावरण रहेको हुँदा हजारौँ पशु पाल्न सहज हुने उनको भनाइ छ ।

अझै १० वर्ष एक डेढसय भेडा पाल्न सक्ने उनी बताउछन्। गाउँमा पाका पूर्खादेखि खेतीपाती गर्ने र पशुपालन गर्दै आएको हुँदा आफूले पनि सानैदेखि यही पेसा अङ्गाल्दै आएको उनले बताए। पछिल्लो समय नयाँ पुस्ता भेडापालनमा चसो नदिँदा परम्परागत पेसा हराउना थालेको उनी बताउछन्।

चार वर्ष अगाडिसम्म बुकीमा हजारौँ भेडा र सयौँ गोठाला भेटिने गरेकामा अहिले त्यो सङ्ख्या निकै न्यून भएको सिर्पालीले बताए। समय परिवर्तनसँगै गाउँघरमा पेसा पनि फेरिँदै गएको हुँदा व्यापार व्यवसाय गर्ने बढ्न थालेको उनले बताए।

“सहर बजारमा सुविधा धेरै हुन्छ, हाम्रा गाउँ ठाउँमा बल्ल अलिअलि विकास हुन थालेको छ, पहिले मोटर गाडी देख्न सहर जानुपथ्र्यो, अहिले गाउँमै गाडी गुड्छन्, भेडाबाख्राले पनि अहिले त गाडी देख्न पाए, हाम्रो जमानामा साह्रै दुःख थियो, नून, चामल बटौली (बुटवल) पुगेर ल्याउनुपथ्र्यो, आजभोलि घरमै पाइन्छ,” उनले भने, “हामी सानो–सानो हुँदा गाउँभरिका मान्छेले भेडाबाख्रा पाल्थे, एउटा घरमा कम्तीमा पनि एक सय भेडाबाख्रा र गाईभैँसी हुन्थे, अचेल त्यस्तो छैन, युवा बजार जान थाले, विदेश जान थाले त्यही भएर गोठालो गर्ने पनि घटे।”

सिर्पालीका भेडाको बथानमा काला, सेता र खैरो रङ्गा पाठापाठी र माहु भेडाबाख्रा छन् । हुलमूलमा हराउने हुँदा ती सबैका सिङमा रातो, हरियो लगायतका रंग लगाइएका छन् । बर्खामा बुकी र हिउँदमा बेँसी झर्ने गर्दा घाँस र दाना पुर्याउन सहज हुने भएको छ । भेडापालनबाटै परिवार चलाउँदै आएको उनी बताउछन्।

पाँच भाइबहिनी छोराछोरी यही पेसाबाटै हुर्काएको र पढाएको जनाउँदै तीन छोरा र दुई छोरीको विवाहसमेत भेडा बेचेरै गरेको उनको भनाइ छ । आफूहरुले अहिलेसम्म भेडापालन गर्दै आए पनि छोराछोरीले यसतर्फ चासोनै नदिएको उनी बताउछन्।

उनले भेडा र गोठको सुरक्षाका लागि दुई कुकुरसमेत पालेका छन्। दुई कुकुरलाई गोठको दुई पट्टीबाँध्नु भएको छ । यसले गर्दा गोठ सुरक्षित हुने उनी बताउछन्। पहिले–पहिले गोठ बलाङ, मान्द्रो ९बाँसको चोयाबाट बनेको सामान० ले बनाउने गरेको सुनाउँदै अहिले त्रिपाल र टेन्टले छाउन थालेको उनको भनाइ छ ।

स्थानीय, प्रदेश र संघीय सरकारले कृषिकका लागि हरेक वर्ष अनुदानका कार्यक्रम ल्याउने गरेको छ । तर ती कार्यक्रमले रनबहादुर जस्ता सयौँ किसानलाई अझै पनि छुनसकेको छैन । उनी भन्छन्, “ कृषि अनुदान भन्ने मलाई थाहा छैन ।”

Advertisment