काठमाडौं : केबलकार भन्ने वित्तिकै हाम्रो दिमागमा आइहाल्ने नाम हो, ‘मनकामना केबलकार’ । केबलकारको प्रयोगमा चर्चा र सफलता दुबै कमाउने पहिलो नेपाली कम्पनी यही हो ।
चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्मको जम्मा ३.०२ किलोमिटर दुरीको यो केबलकारले खासगरी नेपाली रञ्जुमार्गको क्षेत्रमा नयाँ आयामसँगै तीब्र आकर्षण नै बढाएको छ ।
२०५५ सालमा सञ्चालनमा आएको मनकामना केबलकारको तारिफ गर्दैगर्दा आज यस्ता केबलकारहरु लगभग दर्जन हाराहारी संख्यामा पुगिसकेका छन्, भने केबलकार निर्माण र सञ्चालनमा निजीक्षेत्रको तीब्र आकर्षण छ ।
केही पाइलट प्रोजेक्टको रुपमा रहेका परियोजनाहरुलाई छाडेर हाल सञ्चालनमा आइसकेका आठ वटा केबलकार परियोजनामा मात्र १८ अर्बमाथि लगानी भइसकेका छन् । यो पनि निजीक्षेत्रको एकल प्रयासमा ।
मनकामना केबलकारलाई छाडेर चन्द्रागिरि, अन्नपूर्ण, कालिञ्चोक, मौलाकालिका, बन्दिपुर, सिद्धार्थ र लुम्बिनी केबलकार छिल्लो समम सञ्चालनमा आएका केबलकार सेवाहरु हुन् ।
निजीक्षेत्रको एकल पहलमा सञ्चालनमा आएका यी केबलकारहरुले राम्रै प्रतिफल पनि लिइरहेका छन्, जसमध्ये अन्नपूर्ण, कालिञ्चोक, बन्दिपुर, प्रभु र लुम्बिनी केबलकारले एक आर्थिक वर्षमै ५३ करोड रुपैयाँ बराबरको व्यापार गर्न सफल भएका छन् ।
१८ अर्बमाथिको लगानीमा कसको प्रतिफल कति ?
लुम्बिनी केबलकार
लुम्बिनी केबलकारले आर्थिक वर्ष २०८१/८२ मा १२ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । तथापि, यो अघिल्लो वर्षको तुलनामा ७.५१ प्रतिशतले कम हो ।
कम्पनीले सन् २०२४ (आर्थिक वर्ष २०८०/८१) मा १३ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो भने सन् २०२३ मा २ करोड २० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । कम्पनीले चालु आर्थिक वर्षको छ महिनामा ५ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ ।
आईएमई ग्रुपको लगानीमा सञ्चालनमा आएको यो केबलकार सन् २०२३ मे २९ देखि व्यवसायिक सञ्चालनमा आएपनि अझै पूर्ण रूपमा स्थिर हुन सकेको छैन । पछिल्ला वर्षहरुमा यात्रु संख्या घट्दै जाँदा आम्दानीमा पनि कमी आएको कम्पनीले जनाएको छ ।
यसैबीच, कम्पनीले केबलकारसँगै जोडिएको–पाँचतारे होटल अगाडि बढाउने तयारी गरिरहेको छ । तर यो परियोजना हाल डिजाइन चरणमै रहेकोले कार्यान्वयन जोखिम उच्च रहेको मूल्याङ्कनमा उल्लेख छ ।
करिब २ अर्ब २५ करोड रुपैयाँ लागत अनुमान गरिएको यस होटल परियोजनाका लागि ऋण व्यवस्थापन अझै टुंगो लागिसकेको छैन ।
तर, कम्पनीले अघिल्लो मूल्याङ्कनपछि करिब २६ प्रतिशत ऋण पूर्वभुक्तानी गरेको छ भने करिब ५७ करोड रुपैयाँको राइट शेयर निष्कासनमध्ये २५ करोड रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको छ । बाँकी रकम होटल परियोजनामा लगानी हुने अपेक्षा गरिएको छ ।
आईएमई ग्रुपले यसअघि चन्द्रागिरी हिल्स र मौलाकालिका केबलकार जस्ता परियोजना सञ्चालनमा ल्याईसकेको छ ।
लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको बुटवलस्थित गोलपार्क–बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म करिब ३ किलोमिटर दूरीमा फैलिएको यो केबलकार लुम्बिनी प्रदेशकै पहिलो केबलकार हो ।
यसले पाल्पाको बसन्तपुर क्षेत्रमा रहेको कामाख्यादेवी मन्दिर, भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वरपीपल, ढुंगेधारा र पोखरीजस्ता धार्मिक तथा पर्यटकीय स्थलहरूलाई थप आकर्षक गन्तव्यका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ ।
मोनोकेबल डिट्याचेबल प्रणालीमा आधारित २५ वटा गोण्डोलासहित सञ्चालनमा रहेको यो केबलकारले दैनिक ६ हजार यात्रु बोक्ने क्षमता राख्छ । परियोजनाको टप स्टेशनमा पर्यटक लक्षित भेज र ननभेज रेस्टुरेन्ट सञ्चालनमा आइसकेका छन् भने होटल, बाल उद्यान, स्काइवाक र जिपलाइन जस्ता संरचना निर्माणको चरणमा छन् ।
केबलकार र रिसोर्टसहितको समग्र आयोजनाको कुल लागत करिब ५ अर्ब रुपैयाँ अनुमान गरिएको छ । जसमध्ये पहिलो चरणमा केबलकार निर्माणमै करिब डेढ अर्ब रुपैयाँ लगानी भइसकेको छ ।
अन्नपूर्ण केबलकार
अन्नपूर्ण केबलकार लिमिटेडले चालु आर्थिक वर्षको पहिलो छ महिनामा ७ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । कम्पनीको पछिल्ला तीन वर्षको औसत कारोबार करिब ७ करोड ७६ लाख रुपैयाँ रहेको छ । सन् २०२४ र २०२५ दुवै वर्षमा कम्पनीले ८ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो ।
कम्पनीको अकुपेन्सी दरमा उल्लेख्य सुधार आएको छ । अघिल्लो आर्थिक वर्षमा १० प्रतिशत रहेको अकुपेन्सी चालु आवमा बढेर १६ प्रतिशत पुगेको छ । यससँगै सञ्चालन नाफामा पनि वृद्धि देखिएको छ । सन् २०२४ मा २२.४० प्रतिशत रहेको नाफा मार्जिन सन् २०२५ मा ४१.७२ प्रतिशत पुगेको थियो भने चालु आर्थिक वर्षको पहिलो छ महिनामै ६२.९५ प्रतिशत पुगेको छ ।
कम्पनीले सन् २०२५ र चालु आवको यस अवधिमा उल्लेखनीय इक्विटी लगानी भित्र्याएको छ । यसका कारण ऋणको आंशिक पूर्वभुक्तानी गरिएको छ, जसले भविष्यमा ऋणभार घटाउँदै वित्तीय जोखिम कम गर्ने अपेक्षा गरिएको छ ।
साराङकोट क्षेत्रमा उच्च वर्षा हुने भएकाले मौसमका कारण सञ्चालनमा असर पार्नुका साथै, पर्यटक आगमनमा हुने उतारचढावले पनि कम्पनीको आम्दानीमा प्रभाव पार्ने केयर रेटिङले औँल्याएको छ ।
सन् २०१० मा स्थापना भएको कम्पनी मे २०२३ मा सार्वजनिक कम्पनीमा रूपान्तरण भएको थियो। कम्पनीले पोखरा को पर्यटकीय क्षेत्र साराङकोटमा केबलकार सेवा सञ्चालन गर्दै आएको छ ।
सन् २०२२ को जुलाईबाट व्यावसायिक रूपमा सञ्चालनमा आएको यो केबलकार सेवा सेती बगरदेखि साराङकोटसम्म २.३ किलोमिटर लम्बाइमा फैलिएको छ । जहाँ १७ वटा गोन्डोलामार्फत यात्रु ओसारपसार गरिन्छ ।
कम्पनीले दीर्घकालीन र अल्पकालीन कर्जाका लागि कुल ८२ करोड १ लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ । हाल कम्पनीको नेतृत्व अध्यक्ष कालु गुरुङले गरिरहेका छन् ।
कालिन्चोक दर्शन केबलकार
दोलखाको कालिन्चोकमा सञ्चालित कालिन्चोक दर्शन लिमिटेडको व्यापार सन् २०२५ मा ७ प्रतिशतले घटेको देखिएको छ । कम्पनीले आर्थिक वर्ष २०२५ मा ७ करोड ९० लाख रुपैयाँको कारोबार गरेको छ । सन् २०२४ मा कम्पनीले ८ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।
यद्यपि, सन् २०२३ मा भने कम्पनीको व्यापार ७ करोड ६० लाख रुपैयाँ रहेको थियो । कम्पनीका अनुसार व्यापार घट्नुको मुख्य कारण प्रतिकूल मौसम र पर्यटक आगमनमा आएको कमी हो ।
करिब ३,८५० मिटर उचाइमा रहेको कालिन्चोक क्षेत्रमा हावाहुरी, आँधी–तूफान तथा मनसुनका कारण केबलकार सेवा समय–समयमा अवरुद्ध हुन पुगेको थियो । यसले पर्यटक आवागमनमा प्रत्यक्ष असर पारेको कम्पनीले जनाएको छ ।
सन् २०२५ को अन्त्यसम्म कम्पनीसँग करिब ४४ करोड रुपैयाँ बराबरको नगद संचित रहेको छ । सो अवधिमा आगन्तुक संख्या करिब ७ प्रतिशतले घटे पनि सञ्चालन मुनाफा मार्जिन ६५ प्रतिशतभन्दा माथि कायम रहेको छ ।
गत आर्थिक वर्षमा करिब १ लाख ५३ हजारभन्दा बढी पर्यटकले केबलकार सेवा उपयोग गरेका थिए। कम्पनीको ऋण–इक्विटी अनुपात ०.१२ गुणा मात्र रहेको छ भने ब्याज कभरेज अनुपात ५.६३ गुणा पुगेको छ ।
चालु आर्थिक वर्षको पहिलो छ महिनामा भने कम्पनीको व्यवसायमा सुधार देखिएको छ । यस अवधिमा ७१ हजार ९ सयभन्दा बढी पर्यटकले केबलकार सेवा लिएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब २१ प्रतिशतले वृद्धि हो ।
कम्पनीले अब केबलकार सेवासँगै आतिथ्य (हस्पिटालिटी) क्षेत्रमा प्रवेश गर्ने योजना अघि सारेको छ । करिब ३५ करोड रुपैयाँ लगानीमा ३० कोठे होटल निर्माण गर्ने प्रस्ताव कम्पनीले अघि बढाएको छ ।
तर उक्त परियोजना अझै प्रारम्भिक चरणमै रहेको र यसको कार्यान्वयन, लागत व्यवस्थापन तथा प्राविधिक चुनौतीहरू मुख्य जोखिमका रूपमा देखिएको केयर रेटिङले उल्लेख गरेको छ ।
कालिन्चोक दर्शन लिमिटेड सन् २०१५ जनवरी २० मा स्थापना भएको सार्वजनिक कम्पनी हो । करिब १ किलोमिटर लामो केबलकारमार्फत कुरी उपत्यकाबाट कालिन्चोक मन्दिरसम्म यात्रु सेवा दिँदै आएको यस परियोजनामा चारवटा गोन्डोला सञ्चालनमा छन् ।
हाल कम्पनीका अध्यक्ष बालकृष्ण शिवाकोटी रहेका छन् । बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी ६३ करोड रुपैयाँ पुगेको छ । कम्पनीले होटल परियोजनाका लागि आवश्यक लगानी इक्विटीमार्फत जुटाउने योजना बनाएको छ । जसअन्तर्गत १ः१ अनुपातमा राइट शेयर जारी गर्ने तयारी गरिएको छ ।
बन्दिपुर केबलकार एण्ड टुरिजम
सन् २०२५ मा कम्पनीको सञ्चालन आम्दानी चार करोड रुपैयाँ पुगेको छ । तर, सञ्चालन नाफा मार्जिन, ब्याज आवरण अनुपात तथा कुल ऋण–सकल नगद सञ्चिति अनुपात नकारात्मक अवस्थामा छन् ।
समग्र गियरिङ अनुपात ०.५५ गुणा र करेन्ट रेसियो ०.९७ गुणा रहनुले कम्पनीको तरलता स्थिति कमजोर देखाएको छ ।
निर्माणाधीन पाँचतारे होटल परियोजनामा भएको ढिलाइका कारण बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडको क्रेडिट रेटिङ पनि घटेको छ । केयर रेटिङ्सले कम्पनीको इस्यूअर क्रेडिट रेटिङ बीबी माइनसमा झारेको छ ।
यससँगै कम्पनीले लिएको दीर्घकालीन बैंक कर्जाको रेटिङ पनि बीबी माइनस कायम गरिएको छ । कम्पनीले दीर्घकालिन बैकिङ कर्जा सुविधाका लागि एक अर्ब ३० करोड रुपैयाँ बराबरको ऋण रेटिङ गराएको छ ।
होटल परियोजना समयमै सम्पन्न नहुनु, लागत बढ्ने जोखिम र त्यसको असर नगद प्रवाहमा पर्ने देखिएकाले रेटिङ घटाइएको केयर रेटिङ्सको भनाइ छ । बन्दिपुर केबलकार सन् २०२४ जुलाईदेखि सञ्चालनमा आएको छ । तर परियोजनाको दोस्रो चरणअन्तर्गत पहाडी स्टेशनमा निर्माणाधीन पाँचतारे होटल ‘क्विन टावर’ अझै सम्पन्न हुन सकेको छैन ।
कम्पनीले बन्दिपुरमा ८० कोठा क्षमताको पाँचतारे होटल निर्माण गरिरहेको छ, जसमा स्वीमिङ पुल, स्पा, सम्मेलन तथा भोज हललगायत सुविधा रहनेछन्। होटल सञ्चालनका लागि अन्तर्राष्ट्रिय ब्रान्ड “लेमन ट्री होटल्स” सँग सम्झौता भइसकेको छ ।
तर प्रिमियम होटल उद्योगमा स्थिर आम्दानी र नाफा हासिल गर्न समय लाग्ने भएकाले सुरुवाती वर्षहरू चुनौतीपूर्ण हुने केयर रेटिङ्सको निष्कर्ष छ । सामान्यतया होटलमा निर्माणका लागि ३–४ वर्ष र सञ्चालनका लागि थप २–३ वर्ष लाग्ने हुँदा अपेक्षित आम्दानी हासिल गर्न चुनौति रहेको रिपोर्टमा उल्लेख छ ।
बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडको सम्पूर्ण व्यवसाय बन्दिपुरस्थित एउटै परियोजनामा केन्द्रित छ । अध्यक्ष रामचन्द्र शर्माको नेतृत्वमा अनुभवी व्यवस्थापन टोलीले परियोजना अगाडि बढाइरहेको छ ।
यस्तै पाँचतारे होटलसहितको बन्दीपुर केबलकारमा तीन अर्ब रुपैयाँ लगानी भएको छ । बन्दीपुर केबुलकार सञ्चालनमा आएको छ । होटलको काम जारी छ ।
बन्दीपुर केबुलकारले सिसाको स्काइ ब्रिज पनि बनाउँदै छ । यसमा एक अर्ब रुपैयाँ लगानी हुने अनुमान गरिएको छ । बन्दीपुरका लगानीकर्ताले पाँच अर्ब रुपैयाँ लगानीमा तनहुँमा छिम्केश्वरी केबलकार बनाउने तयारी गरिरहेको छ ।
प्रभु केबल कार एण्ड टुरिजम
प्रभु केबल कार एण्ड टुरिजम लिमिटेडले एक वर्षमा साढे २० करोड रुपैयाँ बराबरको व्यापार गरेको छ । कम्पनीले सन् २०२५ मा २० करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरेको हो ।
उक्त रकम अघिल्लो वर्षको तुलनामा २१६.९२ प्रतिशतले बढी हो । कम्पनीले आर्थिक वर्ष २०२४ मा ६ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
मुख्यतः कम्पनीको सूचीकृत तथा असूचीकृत शेयर बिक्रीबाट प्राप्त नाफा, व्यवस्थापन शुल्क र अन्य आम्दानीका कारण व्यापार बढेको रिपोर्टमा उल्लेख छ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा कम्पनीले ४ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरिसकेको छ ।
यद्यपि, कम्पनीको पीबीआईएलटीडी मार्जिन भने सन् २०२४ को तुलनामा घटेको छ । सन् २०२४ मा ४५.९८ प्रतिशत रहेको यस्तो मार्जिन सन् २०२५ मा घटेर ३२.०४ प्रतिशतमा झरेको छ ।
साथै कम्पनीको खुद नाफा पनि घटेको छ । सन् २०२४ मा २८.२५ प्रतिशत रहेको खुद नाफा सन् २०२५ मा आउँदा घटेर २१.६४ प्रतिशतमा कायम भएको छ ।
तर, नगद प्रवाहमा भने सुधार देखिएको छ । सन् २०२५ मा कम्पनीको ग्रस क्यास एक्रुअल ४ करोड ७० लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष २ करोड ३० लाख रुपैयाँ रहेको थियो ।
आर्थिक वर्ष २०७९/८० देखि २०८१/८२ सम्म कम्पनीले कुनै पनि दीर्घकालीन वा अल्पकालीन कर्जा लिएको छैन । जसका कारण कम्पनी पूर्ण रूपमा ऋणमुक्त अवस्थामा सञ्चालन भइरहेको छ । यद्यपि, कम्पनीसँग करिब १ करोड ७० लाख रुपैयाँ बराबरको लिज दायित्व भने रहेको छ ।
कम्पनीले सन् २०२३ जनवरी १९ देखि व्यावसायिक सञ्चालन सुरु गरेको हो । कम्पनीको नेतृत्व अध्यक्ष भोज कुमार खड्काले गरिरहेका छन् । रेटिङ एजेन्सीले प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडलाई डबल बी रेटिङ प्रदान गरेको छ ।
विशेषगरी, कम्पनीले गरेको अधिकांश लगानी सूचीकृत नभएका (अनलिस्टेड) शेयरहरूमा केन्द्रित भएकाले ती लगानीहरू तत्काल बेच्न कठिन हुने र तरलता कम रहने अवस्था रहेको उल्लेख गरिएको छ ।
कम्पनीले विभिन्न केबलकार परियोजनामा लगानी तथा व्यवस्थापन गर्दै आएको छ । सिद्धार्थ केबलकार लिमिटेड सञ्चालनमा रहेको छ भने बडीमालिका केबलकार प्रालि र इन्छाकामना देवी केबलकार परियोजना प्रालि निर्माणाधीन अवस्थामा रहेका छन् ।
सिद्धार्थ केबलकार परियोजना बनाउन एक अर्ब तीन करोड ३० लाख रुपैयाँ खर्च भएको छ । जसमा ५३ करोड रुपैयाँ बैंकको ऋण र बाँकी ५० करोड ३० लाख रुपैयाँ संस्थापकको स्वपुँजी (इक्विटी) लगानी भएको छ । ५१ प्रतिशत ऋण र बाँकी ४९ प्रतिशत स्वपुँजी हुने गरी लगानी संरचना बनाइएको छ ।
बुटवल उपमहानगरपालिकाको वडा नम्बर १ र २ स्थित देउरालीडाँडामा केबुलकारको प्रस्थान बिन्दु रहेको छ । कूल १.९४ किलोमिटर लम्बाइको यो केबुलकार पाल्पाको नुवाकोटसम्म पुगेको छ ।
केबलकार निर्माणमा आइएमई ग्रुपको बर्चश्व
केबलकार सेवा विस्तारमा आईएमई ग्रुप आक्रामक देखिएको छ । यो समूहले हालसम्म तीनवटा केबलकार सञ्चालनमा ल्याइसकेको छ । व्यवसायी चन्द्रप्रसाद ढकालले ६ प्रदेशमा केबलकार बनाउने घोषणासहित निर्माण कार्यलाई समेत तीब्रता दिइरहेका छन् ।
आईएमई ग्रुपले काठमाडौंको चन्द्रागिरिमा रिसोर्टसहितको केबलकार सञ्चालन गरिरहेको छ भने चितवनको गैंडाकोटदेखि मौलाकाली मन्दिरसम्म मौलाकाली केबलकार सञ्चालन गरिरहेको छ ।
यही समूहको लगानी रहेको लुम्बिनी केबलकार सन् २०२३ मे २९ देखि व्यवसायिक सञ्चालनमा छ । होटलसहित निर्माण भएको उक्त परियोजनामा पहिलो चरणमा केबलकार निर्माणमै करिब डेढ अर्ब रुपैयाँ लगानी भइसकेको छ । यस्तै होटल र क्यासिनोसहितको ‘जाल्पादेवी केबलकार’ निर्माण तीव्ररुपमा भइरहेको छ ।
सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा निर्माणाधीन जल्पादेवी केबलकार परियोजना यो समूहको सबैभन्दा महत्वाकांक्षी योजनामध्ये एक हो । कैलालीको कर्णाली चिसापानी क्षेत्रमा निर्माण भइरहेको यो परियोजना जाल्पादेवी केबलकार प्रालिमार्फत कार्यान्वयन भइरहेको छ भने दुई महिनाभित्र निर्माण सक्नेगरी कम्पनीको लक्ष्य छ ।
करिब ३.१ किलोमिटर लम्बाइको यो केबलकारले लम्कीचुहा नगरपालिका–३, चिसापानी लाई मोहन्याल गाउँपालिका–७, राजकाँडा सँग जोड्नेछ । परियोजनामा ३४ वटा गोन्डोला सञ्चालन गर्ने योजना रहेको छ । जसले दैनिक सयौं पर्यटक ओसारपसार गर्न सक्ने क्षमता राख्नेछ ।
परियोजनाको कुल लागत करिब ४ अर्ब ४ करोड रुपैयाँ अनुमान गरिएको छ । बटम स्टेशन क्षेत्रमा आधुनिक होटल, क्यासिनो तथा ब्याङ्क्वेट हल निर्माण गरिने योजना छ भने टप स्टेशनमा १०० कोठाको रिसोर्ट, जल्पादेवी मन्दिर, स्काई वाक, वाकिङ ट्रेल, रेस्टुरेन्ट र बाल उद्यानसहितका संरचना निर्माण गरिनेछन् ।
यद्यपि, परियोजनाले वित्तीय व्यवस्थापनका केही चुनौतीहरू सामना गरिरहेको छ । करिब ३ अर्ब १२ करोड ४२ लाख रुपैयाँ दीर्घकालीन तथा २७ करोड ६० लाख रुपैयाँ अल्पकालीन कर्जा आवश्यक पर्नेमा हालसम्म सीमित मात्र ऋण सुनिश्चित भएको छ ।
‘नववर्ष २०८३ को पहिलो दिन, आइएमई ग्रुपको लगानीमा सुदूरपश्चिमको कैलाली, चिसापानीमा निर्माणाधीन जाल्पादेवी केबलकार आयोजनामा आजैदेखि केबलकार जडानको लागि पोल ठड्याउने काम औपचारिक रूपमा प्रारम्भ गरेका छौं,’ व्यवसायी ढकालले लेखेका छन्, ‘यो केवल एक परियोजना मात्र होइन, यसले क्षेत्रीय पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रमा नयाँ ऊर्जा थप्ने हाम्रो प्रतिबद्धताको निरन्तरता हो । नयाँ वर्षको पहिलो दिनमै सुरु भएको यो कामले हामीलाई नयाँ आशा, नयाँ यात्रा र नयाँ उपलब्धिको अझ दृढ विश्वास दिएको छ ।’
कम्पनीले दीर्घकालीन कर्जाका लागि ३ अर्ब १२ करोड ४२ लाख रुपैयाँको रेटिङ गराएको छ ।
आइएमई ग्रुपले मात्रै तीनवटा केबलकार बनाउन १० अर्ब रुपैयाँ लगानी गरिसकेको छ । यसका साथसाथै यस समूहले ताप्लेजुङ पाथीभरामा पनि केबलकार बनाउने तयारी गरेको छ । पाथीभरा केबलकार बनाउन तीन अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
केबलकार निर्माणले पर्यटन प्रवद्र्धनमा टेवा
पछिल्लो समय केबलकार निर्माणको लहरले पर्यटन प्रवद्र्धनमा टेवा पुगेको छ । आर्थिक गतिविधि चलायमान गर्न पनि मद्दत पुगेको छ । केवलकार सञ्चालन भएको स्थलमा साना होटलदेखि ठूला रिसोर्टहरु पनि स्थापना हुने तथा स्थानीय उत्पादन प्रवद्र्धनमा मद्दत पुग्नेछ ।
त्यस्तै सडक, बिजुली, खानेपानीलगायतको सुविधामा विस्तार हुने तथा विकट ठाउँमा रहेका पौराणिक मठमन्दिरमा पहुँच पुगेको छ । धार्मिक, पर्यावरण, साहसिक तथा मनोरञ्जनात्मक पर्यटनको विस्तारका लागि केबलकारको निर्माण बढ्दै गएको हो ।
नेपालमा पछिल्लो समय धार्मिक र पर्यटकीय स्थलहरूमा केबलकारको निर्माण बढेको छ । धेरैजसो केबलकारहरूले मठमन्दिर दर्शन र दृश्यावलोकनका लागि सहज सेवा प्रदान गरेका छन् । थप ७७ अर्ब लगानीका छ वटा केलबकार निर्माणको चरणमा छन् । जसमा पाथीभरा जालपादेवी, सिकलेस, छिक्केश्वरी चम्पादेवीर पोखरा–मुक्तिनाथ रहेका छन् ।
हाल पूर्वदेखि पश्चिमसम्म होटल र क्यासिनोसहित केबलकार पूर्वाधार निर्माण भइरहेका छन् । सञ्चालनमा आइसकेका, निमाणाधीन र निर्माणको तयारीको चरणमा रहेका गरी केबलकारमा मात्र हालसम्म एक खर्ब बढी लगानी हुने अनुमान गरिएको छ ।
कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथसम्म निर्माण गन लागिएको नेपालमा विश्वकै लामो ८० किलोमिटरको मुक्तिनाथ केबुलकार निर्माणका लागि करिब ५८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
उक्त परियोजनाका लागि लगानी बोर्डले केबलकार विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गरी विकासकर्ता कम्पनीसँग वार्ता सुरु गरेको छ । मुक्तिनाथको कूल लागतको ८० प्रतिशत अर्थात् ४४ अर्ब के एन्ड आर इन्जिनियरिङ भारतले लगानी गर्नेछ । बाँकी प्राथमिक शेयरबाट लगानी जुटाउने तयारी कम्पनीको छ । चितवन कोई र अग्नि ग्रुपको एक अर्ब ६० करोड ४० लाख रुपैयाँ लगानीमा पुम्दिकोट महादेव केबलकार सञ्चालन हुँदैछ ।
त्यस्तै कास्कीको मादी गाउँपालिका सिकलेसमा ८ अर्ब रुपैयाँ लगानीमा केबुलकार बन्ने भएको छ भने काठमाडौंको चाल्नाखेलदेखि चम्पादेवीमा ६ अर्ब रुपैयाँमा दोस्रो केबलकार बन्ने भएको छ । चम्पादेवीमा विशाल र त्रिवेणी ग्रुपको लगानी रहेको छ ।
विकासकर्ता कम्पनी पुम्दीकोट महादेवले आगामी वर्ष आगामी साउनसम्म सम्पन्न गर्ने लक्ष्य लिएको छ । केबलकार परियोजना पोखरा महानगरपालिकाको पुम्दीकोटलाई ध्यानमा राखेर विकास गरिँदैछ ।
Advertisment