काठमाडौं : सरकारले कर्णाली चिसापानी जलविद्युत् आयोजनाको अध्ययन गर्ने भएकाे छ । मन्त्रिपरिषद्को आज सिंहदरबारमा बसेको बैठकले कर्णाली चिसापानी जलविद्युत् आयोजनाको अध्ययन गरी कार्यान्वयन प्रक्रिया अघि बढाउने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
यसका साथै साे बैठकले इन्धनको पूर्वाधार शुल्कबाट रु पाँचका दरले प्राप्त हुने रकम बूढीगण्डकी जलाशय आयोजनालाई दिने निर्णय गरेको छ ।
यसैगरी काठमाडौँको मूलपानी, भरतपुर र मोरङको क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवका आयोजनाका रुपमा सञ्चालन गर्ने र निजगढ अन्तिर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अघि बढाउन विज्ञ टोलीबाट प्राप्त प्रतिवेदन कार्यान्वयनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय बैठकले गरेको छ ।
सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० स्वीकृत गर्ने र युरोपको पोर्चुगलमा नेपाली दूतावास स्थापना गरी समिम नेपाललाई राजदूत पदमा नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री शर्माले जानकारी दिइन् ।
Advertisment