Below Menu
Below Menu

चर्चामा सीमित पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम अघि बढेको छः प्रधानमन्त्री

चर्चामा सीमित पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम अघि बढेको छः प्रधानमन्त्री

रुकुम पूर्व :  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चर्चामा सीमित भएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कामसमेत अगाडि बढेको बताए । ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ विशेष रुपान्तरण अभियानअन्तर्गत रुकुम पूर्वको पुथा उत्तरगङ्गामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हु्न । 

वर्तमान सरकारले विकास निर्माणको कामलाई पनि सार्थक रुपमा अगाडि बढाएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले लामो समयदेखि चर्चामा सीमित भएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कामसमेत अगाडि बढेको बताएका हुन् ।

ुसाथै नेपाल र भारतबीचमा रहेको सीमा समस्या समाधान गर्न भारतका प्रधानमन्त्रीसँग कुराकानी भएको समेत प्रधानमन्त्री दाहालले जानकारी दिए । विद्युत् व्यापारमा नयाँ पहल भएको तथा नेपाल र चीनबीच विभिन्न नाका खोल्ने सहमति भएको उनको भनाइ छ ।

चीनले हिमाली नाकासँगसम्बन्धी रहेर थुप्रै परियोजना सञ्चालनका लागि सहमति भएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले सोही परियोजना अन्तर्गतको एउटा आयोजना रुकुम पूर्वमा पनि ल्याइने स्पष्ट पारे । सो परियोजनाले यस जिल्लाका नागरिकको जीवनस्तरमा सुधार आउने उनको भनाइ छ ।

तराई–मधेसमा लामो समयसम्म सामन्तवादको अवशेषका रुपमा रहेको मिटरब्याजी विरुद्धमा कानुन बनाएर कारबाही गरी पीडित नागरिकलाई न्याय दिलाएकोसमेत उनले उल्लेख गरे ।

उक्त कार्यक्रममा बोल्दै उनले देश र जनताको हितमा निरन्तर अभियान सुरु गरिएको बताए ।  साथै उनले भ्रस्टाचारको अन्त्यका लागि सरकारले सार्थक र योजनाबद्ध अभियान चलाएको बताए । भ्रष्टाचार र तस्करी नियन्त्रणजस्ता देश विरोधी गतिविधिलाई माओवादी नेतृत्वको सरकारले मात्र नियन्त्रण गर्न सक्छ भन्ने तथ्य स्थापित भएकोसमेत प्रधानमन्त्रीको भनाइ छ । 

प्रधानमन्त्रीले भूमाफियाकोविरुद्ध अभियान सुरु गरेर हजारौँ जनतालाई राहत प्रदान गरिएको उल्लेख गर्दै त्यसका लागि आम जनताको सार्थक सहयोग जरुरी रहेको बताए । प्रधानमन्त्री दाहालले नियमित रुपमा भइरहेको सुन तस्करी नियन्त्रणका लागि सरकारले अभियान चलाएको र सो मुद्दा हाल अदालतमा विचाराधीन रहेको उल्लेख पारे । 

पटकपटक पार्टी विभाजन हुँदा कार्यकर्ता र सहिद तथा घाइते परिवारमा निराश छाएको तथ्य पेस गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका उनले माओवादी फुटेपछि जनयुद्धमार्फत प्राप्त भएको उपलब्धि हराउँदो रहेछ भन्ने परेकले एकताको विकल्प नभएको बताए ।

विगतको जस्तो विभाजित भएर नभइ एकताका साथ अगाडि बढ्ने विषयमा छलफल भएको अध्यक्ष दाहालले जानकारी दिए । नेकपा महासचिव नेत्रविक्रम चन्दसँग आज बिहान मात्रै छलफल भएको जानकारी दिर्दै उनले डा बाबुराम भट्ट्राईसँग पनि निरन्तर संवाद भइरहेको उल्लेख गरे ।

माओवादीकै पहलमा सुरु भएको सहिदमार्ग निर्माणका लागि आफूले थप पहल गर्ने प्रधानमन्त्रीको भनाइ छ । यस जिल्लामा रहेको प्राकृतिक स्रोतको अधिकतम उपयोग गरेर समृद्ध बनाउनका लागि आफ्नो ध्यान गएको उनले उल्लेख गरे । 

Advertisment

थप समाचार