Below Menu
Below Menu

ब्याजदर घटेपनि बढ्न सकेन कर्जाको माग 

ब्याजदर घटेपनि बढ्न सकेन कर्जाको माग 

काठमाडौं : पछिल्लो समय वाणिज्य बैंकहरुले ब्याजदर घटाएपनि कर्जा लगानी भने सुस्त देखिएको छ । ऋणको माग घटेपछि बैंकिङ प्रणालीमा तरलता थप्रिदै गएको छ ।

आर्थिक संकटका कारण बजारमा आर्थिक गतिविधिमा कमी आएको छ । लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् भने बैंकहरुले खुलेर लगानी गर्न सकेका छैनन् ।

वित्तीय प्रणालीमा पर्याप्त तरलता हुँदा पनि अपेक्षाअनुसार कर्जाको माग बढ्न नसकेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । बैंकिङ्ग प्रणालीमा निरन्तर रुपमा निक्षेप थपिदै गएको छ भने कर्जाको माग उल्टै घट्दै गएको छ ।

ब्याजदर घट्दा पनि बढेन कर्जाको माग

पछिल्लो समय बैंकहरुले निरन्तर रुपमा ब्याजदर घटाइरहेका छन् । ब्याजदर घटे पनि कर्जाको माग पनि बढेको छैन । बैंकहरुले मंसिरका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.३३१ प्रतिशत र संस्थागत मुद्दती तर्फको ०.३०६६ प्रतिशतले घटाएका छन् ।

अधिकांश बैंकको बेस रेट (आधार दर) पनि घटेको छ । आधार दर घटेसँगै कर्जाको ब्याजदर पनि घटेको छ । यसरी ब्याजदर घट्दा पनि कर्जा माग भने बढ्न नसकेको हो । चर्को ब्याज तिरेर जम्मा गरेको रकम बैंकमै थुप्रिने स्थिति आएपछि १३ वटा बैंकले ब्याजदर घटाएका हुन् ।

चालु आर्थिक वर्षको सुरुदेखि नै वित्तीय प्रणालीमा तरलता थुप्रिदै गएको छ । अपेक्षाअनुसार ऋणको माग बढ्न नसकेपछि बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाइरहेका हुन् । बैंकहरूको कर्जा लगानी सुस्ताएसँगै क्रमिक रूपमा घट्दै गएको कर्जाको ब्याजदर आगामी पुसमा थप घट्ने भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार असोजमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.९४ प्रतिशत, विकास बैंकहरुको १२.३० प्रतिशत र वित्त कम्पनीहरुको १३.६५ प्रतिशत रहेको छ । 

एकै दिन थपियो आठ अर्ब निक्षेप

बैंकिङ प्रणालीमा एकैदिन आठ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत सोमबार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा सो बराबरको निक्षेप थपिएको हो । सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले दुई अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

गत सोमबार बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकै दिन आठ अर्बले बढेर ५९ खर्ब २९अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो दिन अर्थात् मंसिर ३ गते  आइतबारसम्म बैंक तथा वित्तीय संस्थामा ५९ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।

बैंकका अनुसार उक्त दिन वाणिज्य बैंकहरुमा मात्रै एकै दिन नौं अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने अन्य वित्तीय क्षेत्रमा एक अर्ब रुपैयाँ निक्षेप घटेको छ । अघिल्लो दिनसम्म ५२ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप रहेको वाणिज्य बैंकमा सो दिन नौं अर्ब निक्षेप बढेर ५२ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले यस अवधिमा ४९ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुको कर्जा लगानी ४४ खर्ब ४ अर्ब रुपैयाँ रहेको छ भने अन्य वित्तीय क्षेत्रले ५ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

यसका साथै बैंकिङ्ग प्रणालीमा निक्षेप बढेसँगै अन्तर बैंक कारोबारको ब्याजदर र सिडि रेसियो पनि घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । हाल अन्तर बैंक कारोबारको ब्याजदर २.५३ प्रतिशत रहेको छ भने सिडि रेसियो ८१.१४ बिन्दुमा झरेको छ ।

बढ्न सकेन निजी क्षेत्रको मनोबल

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले अर्थतन्त्रको बाह्य सूचक सकारात्मक बन्दै गएको देखाएको छ । तर, आन्तरिक रुपमा भने अर्थतन्त्रको दबाब कायमै रहेको छ । 

यता अर्थमन्त्री डा प्रकाश शरण महतले मुलुकको अर्थतन्त्रमा शिथिलता आउनुमा विगतमा आर्थिक अवस्थाको मूल्याङ्कन नगरी सरकार र राष्ट्र बैंकले लिएको नीतिलाई कारण देखाईरहेका छन् । त्यति मात्र नभई अर्थतन्त्रमा देखिएका समस्या हट्दै गएका र सकारात्मक दिशातर्फ अर्थतन्त्र अघि बढिरहेको समेत दावी गरिरहेका छन् ।

तर, आर्थिक सूचक सकारात्मक भए पनि अझै निजी क्षेत्रको मनोबल बढ्न नसकेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल बताउँछन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले करिब डेढ वर्षदेखि सुस्ताएको अर्थतन्त्रमा मन्दी गहिरिँदै गएको बताए । टालटुले नीतिले तत्काल अर्थतन्त्रमा सुधार नहुने उनले दावी गरे ।

बैंक तथा वित्तीय संस्थाहरूसँग करिब पाँच खर्ब रूपैयाँ लगानी गर्न सक्ने रकम भएपनि उद्यमी व्यवसायीले रकमको माग नगरेका कारण कर्जाको माग बढ्न नसकेको उनको भनाई छ ।
 

Advertisment