Below Menu
Below Menu

‘रेमिट्यान्समा सरकार रमाउँदा १२७ देशसँग व्यापार घाटा चुलियो’

‘रेमिट्यान्समा सरकार रमाउँदा १२७ देशसँग व्यापार घाटा चुलियो’

काठमाडौं : नेपालले हरेक वर्ष वैदेशिक व्यापारमा ठूलो घाटा बेहोर्दै आइरहेको छ । चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा समेत नेपालले करिब ६ खर्बको व्यापार घाटा व्यहोरेको छ ।

मंसिर मसान्तसम्म नेपालले ५ खर्ब ७९ अर्ब १५ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । यस अवधिमा नेपालको वैदेशिक व्यापार ७ खर्ब ५ अर्ब ४१ करोड ६३ लाख रुपैयाँ रहेको छ  भने ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख रुपैैयाँ बराबरको वस्तु आयात हुँदा ६३ अर्ब २० करोड ७४ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

नेपालले वैदेशिक व्यापार गर्ने अधिकांश साझेदार मुलुकसँग नेपालको व्यापार घाटामा रहेको भन्सार विभागको तथ्यांकले देखाउँछ । विभागका अनुसार मंसिर मसान्तसम्म नेपालले विश्वका १५१ वटा मुलुकसँग व्यापार गरेको छ । जसमध्ये १२७ वटा देशसँग नेपालको व्यापार घाटामा छ भने बाँकी २४ देशसँगको व्यापारमा भने नेपालले नाफा गर्दै आइरहेको छ ।

विभागका अनुसार २४ देशसँगको व्यापार नाफा पनि न्यून मात्रामा रहेको छ । सरकारले निर्यात प्रवर्द्धन गर्ने लक्ष्यसहित बनाएका योजनामा नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस) समेत सञ्चालनमा ल्याइएको छ । तर, यो रणनीतिमा समेटिएका वस्तुको निर्यात झन् घटिरहेको छ ।

नेपालबाट निर्यातका लागि उत्पादन हुने वस्तुहरुको मात्रा घटिरहेको छ भने आयात प्रतिस्थापन अथवा निर्यात बढाउन सरकारले बनाएका योजना प्रभावकारी नहुँदा नेपालको वैदेशिक व्यापार झन् खम्चिदै गएको छ । नेपालले निर्यात वृद्धिका लागि बनाएका ठोस योजना नबनाउँदा सबैजसो देशसँग व्यापार घाटा बेहोर्नुपरेको नेपाल निर्यात परिषद्का अध्यक्ष रेशम बहादुर पोखरेल बताउँछन् ।

उनी भन्छन्, ‘निर्यातमुखी अर्थतन्त्रमा सरकारले ध्यान नदिँदा सबैजसो देशसँग व्यापार घाटा व्यहोर्नु परेको छ । उत्पादन घटिरहेको छ । माग अनुसारको सामान समयमा आपूर्ति गर्न सकेका छैनौं । कच्चा पदार्थको पनि अभाव रहेको छ । लागत पनि महंगो छ । निर्यातमा प्रगति हुन सकेको छैन ।यसले गर्दा पनि विगतमामा भन्दा व्यापार घाटा बढ्दै गएको छ ।’

साना तथा मझौला व्यापारले मात्र व्यापार घाटालाई धान्न्न नसक्ने उनको भनाई छ । ‘ठूला व्यापारीहरु सबै धरासायी भएका छन् । बैंकको ब्याज महंगो छ उत्पादन गर्ने कच्चापदार्थ ल्याउँदा लागत बढी हुने हुँदा व्यापार फस्टाउन सकेको छैन । साना उद्योगले मात्र सबै देशहरुसँग व्यापार फस्टाउन सकेको छैन’, उनले भने ।

उनका अनुसार पछिल्लो समय अमेरिकासँग भने वैदेशिक व्यापारमा सुधार हुँदै गएको छ । उनी भन्छन्, ‘धेरै ठाउँमा पैठारी हुने गरेको छ । अलिकति अमेरिकासँग व्यापार राम्रो हुँदै गएको छ । सबैभन्दा धेरै व्यापार हुने भारत हो । हामीले एक रुपैयाँको सामान पठाउन सकेका छैनौ उनीहरुले १० रुपैयाँको सामान पठाउँछ’, उनले थपे, ‘हामी सबै किनेर खाने मात्र उपभोक्ता भयौ । निर्यात गर्ने भन्दा पनि आयात गर्ने उपभोक्ता भएकाले व्यापार घाटा भएको हो ।’

विभागका अनुसार चालु आवको मंसिर मसान्तसम्म सबैभन्दाबढी व्यापार घाटा व्यहोरेका मुलुकमा भारत र चीन रहेका छन् । पाँच महिनामा नेपालले भारतसँग ३ खर्ब ५२ अर्ब ७६ करोड ८५ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । त्यस्तै यस अवधिमा चीनसँगको व्यापार घाटा एक खर्ब २४ अर्ब ५८ करोड ७७ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा विश्वमा १५१ देशसँगको व्यापारमा २४ वटा देशसँगको व्यापारमात्र नाफमा छ । जसमा उरुग्वे, अमेरिका, सुडान, सिरिया लेन, सेचेलेस, पानामा, नर्वे, न्यु कोलेडोनिया, मौरिसस, मौरिसिनिया, ल्याटभिया, काजकिस्तान, आइसल्याण्ड, जर्जिया, डोमिनिका, डेनमार्क, क्रोयसिया, चाड, एन्टिगोवा, बहमास, बेरमुडा लगायतका देश छन् ।

रेमिट्यान्समा सरकार रमाउँदा व्यापार घाटा चुलियो

१६ औं पञ्चवर्षिय योजनामा निर्यात वृद्धिका लागि ठोस रणनीति ल्याउनुपर्ने सुझाव दिएको अध्यक्ष पाृेखरेलले बताए । उनले भने, ‘१६ औं योजनामा उत्पादन र उत्पादकत्वमा अलिकति परिणाममुखी बनाउन सुभाव दिएका छौ । हामीसँग भएको कच्चा पदार्थ र हामीले उत्पादन बढाएर निर्यात गर्ने कृषि उत्पादन मात्र हो ।’

उनका अनुसार नेपालमा उत्पादन हुने कृषि उत्पादनमा अलैची, अदुवा, छुर्पी, स्याउ र सुन्तला मात्र हो । यसको उत्पादकत्व कसरी बढाउने, साना किसानलाई कसरी उद्यमी बनाउने भन्ने तर्फ ठोस योजना आओस् भन्ने माग रहेको उनले बताए ।  

‘सरकार रेमिट्यान्समा रमाइरहेको छ । किन्न पुग्ने पैसा छ भनिरहेको छ । हामीसँग दश महिनालाई पुग्ने बजेट छ भनेर मख्ख परेको छ । हामी साना व्यापारी आफ्नो जिविकोपार्जनका लागि पनि गर्नुपर्छ भन्नेमा लागिरहेको छौं’, उनले भने ।

सबैभन्दाबढी व्यापार घाटा रहेका देश

नेपालको व्यापार घाटा रहेको भारत र चिनपछिका देशमा अफगानिस्तान, अल्जेरिया, एन्डोरिया, अर्जेन्टिना, अष्ट्रेलिया, अष्ट्रिया, बहराइन, बंगलादेश, बेल्जियम, भुटान, ब्राजिल, ब्रुनाई, इन्डोनेसिया, युनाइटेड अरब इमिरेट्स, युक्रेन, मलेसिया, , थाइल्याण्ड, क्यानडा, भियतनाम, दक्षिण कोरिया, साउदी अरेयिबा रहेका छन् ।

त्यस्तै, जापान, पराग्वे, टर्की, रुस, दक्षिण अफ्रिका, फ्रान्स, नेदरल्याण्ड्स, जोर्डन, कतार, इजिप्ट, इटाली र म्यानमार रहेका छन् । 

यस्तै, बेलायत, जर्मनी, मोजाम्बिक, न्युजल्याण्ड, इजरायल, पोल्याण्ड, चेक रिपब्लीक, सुडान, बहराइन, भुटान, फिलिपिन्स, स्पेन, लिथुवानिया, तान्जानिया, आयरल्याण्ड, पाकिस्तान, ग्वाटेमाला, मेक्सिको, अष्ट्रिया, श्रीलंका, कुवेत, ओमान लगायतका अन्य थुपै देशसँग नेपालको व्यापार घाटामा रहेको छ । 
 

Advertisment