काठमाडौं : चालु आर्थिक वर्षको पाँच महिना अर्थात मंसिर मसान्तसम्म उद्योगमा ९४ अर्ब बढी लगानी प्रस्ताव आएको छ । उद्योग विभागका अनुसार गत साउनदेखि मंसिरसम्म १७२ स्वदेशी तथा विदेशी लगानीका उद्योग दर्ता भएका छन् ।
उक्त उद्योगका लागि ९४ अर्ब ९३ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ । जसमा ठूला उद्योग २१ वटा। मझौला १४ वटा र साना उद्योग १३७ वटा दर्ता भएका छन् । दर्ता भएका उक्त उद्योगमा १२ हजार ७६७ जनालाई रोजगारी प्रस्ताव गरिएको छ ।
विभागका अनुसार मंसिरमा मात्रै ३ अर्ब ४३ करोड रुपैयाँ लगानीका ३१ उद्योग दर्ता भएका छन् । जसमा ठूला एउटा, मझौला एउटा र साना उद्योग २९ वटा रहेका छन् । दर्ता भएका उद्योगमा एक हजार ४१२ जनालाई रोजगारी प्रस्ताव गरिएको छ ।
विभागका अनुसार मंसिर मसान्तसम्म विदेशी लगानीका २१ उद्योगका लागि २० अर्ब ६० करोड रुपैयाँ प्रस्ताव आएको छ । चालु आवमा सरकारले ३८ अर्ब रुपैयाँ विदेशी लगानी भित्र्याउने लक्ष्य लिएको छ । यस अवधिमा लक्ष्यको ५४.२१ प्रतिशत लगानी प्रतिवद्धता आएको छ ।
प्रस्तावित विदेशी लगानी परियोजनाहरुमा १० हजार १२० लाई रोजगारी प्रस्ताव गरिएको छ । यस अवधिमा प्यान्टेन्ट दर्ता एउटा र ट्रेडमार्क दर्ता संख्या २ हजार १३८, प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) ८ रहेका छन् ।
विभागका अनुसार यस अवधिमा ट्रेडमार्क सम्बन्धी मुद्दामा कारवाही संख्या १४ रहेको छ भने भारतमा रियायती निर्यातको लागि सर्टिफिकेट अफ ओरिजिन सिफारि संख्या ४६ रहेको छ ।
Advertisment