काठमाडौं : अर्थतन्त्रको मुख्य खम्बाको रुपमा रहेकाे नेपालको पर्यटन क्षेत्र पुरानै लयमा फर्किएको छ । कोरोना महामारी पछि विश्वमा देखिएको आर्थिक मन्दीका कारण थलिएको यो क्षेत्र सुधार हुँदै गएको छ । अझ भनौं कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन करिब पुनःरुत्थान भएको हो ।
निराशा र अस्थिरताको स्थितिबाट गुज्रिरहेको विश्व पर्यटन बजारमा हालका महिनामा आशाका किरण देखिएका छन् । अब नेपालको पर्यटन पहिलेकै अवस्थामा फर्किने आशा देखिएको छ ।
नेपालका पर्यटकीयस्थलहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुको सङ्ख्या बढेसँगै व्यवसायीहरु पनि उत्साहित देखिन्छन् । पर्यटकीय गतिविधि बढेसँगै विभिन्न देशबाट भित्रिने पर्यटक आगमन सङ्ख्या बढिरहेको छ । पर्यटक आगमन उत्साहवद्र्धक रहेको र आगामी दिनमा थप वृद्धि हुने होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाहको अपेक्षा छ ।
दश वर्षमा साढे चार खर्ब लगानी
आर्थिक सुधारका लागि पर्यटन क्षेत्रमा अधिक सम्भावना रहेको नेपालमा पछिल्लो समय स्वदेशी तथा विदेशी लगानीकर्ताको पनि आकर्षण बढदै गएको छ । उद्योग विभागको तथ्यांक हेर्ने हो भने दश वर्षको अवधिमा पर्यटन क्षेत्रका लागि ४ खर्ब बढी लगानी भित्रिएको छ ।
आर्थिक वर्ष २०७०/७१ देखि आव २०७९/८० सम्म पर्यटन क्षेत्रका होटल तथा रेष्टुरेन्टका लागि चार खर्ब ७० अर्ब ९१ करोड ८६ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । यस अवधिमा उक्त रकम बराबरको एक हजार २९ उद्योग दर्ता भएका छन् ।
विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा मात्रै पर्यटन क्षेत्रका लागि २५ अर्ब २७ करोड ४५ लाख रुपैयाँ आएको छ । जुन ६७ उद्योगका लागि आएको हो । जसबाट ५ हजार ३७ जनालाई रोजगारी प्रस्ताव गरिएको छ ।
कुन वर्षमा कति आयो लगानी?
यस अवधिमा सबैभन्दा धेरै लगानी आव २०७०/७१ मा आएको छ । सो अवधिमा पर्यटन क्षेत्रका ८४ उद्योगका लागि २ खर्ब ९६ अर्ब ८८ करोड रुपैयाँ बराबरको लगनाी प्रतिवद्धता आएको थियो । त्यसयता निरन्तर रुपमा खस्किरहेको लगानी प्रतिवद्धता फेरी बढ्न थालेको छ ।
हालसम्म पर्यटन क्षेत्रका एक हजार ९८९ उद्योगका लागि २ खर्ब २६ अर्ब ९ करोड ३२ लाख रुपैयाँ आएको छ । जसबाट ८३ हजार २१३ जनालाई रोजगारी प्रस्ताव गरिएको छ ।
पर्यटन आगमनको सरकारी लक्ष्य पुरा
सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य पूरा भएको छ । १ जनवरीदेखि डिसेम्बर २७ सम्म १० लाख ३४ हजार ८७६ विदेशी पर्यटक भित्रिएको तथ्याङ्क छ ।
चालु आर्थिक वर्षको बजेटमा सन् २०२३ मा नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्या १० लाख पु¥याउने घोषणा गरेको थियो । सन् २०२२ मा केवल छ लाख १४ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
पर्यटन आगमन बढेसँगै सरकारले अर्को वर्ष विदेशी पर्यटकको संख्या झण्डै दोब्बर बनाउने लक्ष्य लिएको छ । सरकार एक वर्ष पूरा भएको अवसरमा पुस १० गते देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो वर्ष पर्यटकको संख्या लगभग कीर्तिमानकै रूपमा वृद्धि भएको बताएका थिए ।
सरकारले सन् २०२५ लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेको छ । साथै सन् २०२३ देखि २०३२ लाई पर्यटन दशकका रुपमा मनाएर ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ ।
कोभिड महामारी र विशवका विभिन्न देशमा भएका द्वन्द्व र आर्थिक मन्दीका कारण शिथिल बनेको पर्यटन पुनरुत्थान गर्दै चलायमान बनाउन नेपाल भ्रमण दशक मनाउने निर्याण गरेको हो । कोभिडले सबैभन्दा बढी प्रभावित बनेको पर्यटन उद्योगको प्रवद्र्धनका लागि निजी क्षेत्रसँग समन्वय र सहकार्य गरी भ्रमण दशकका रुपमा मनाएर विदेशी पर्यटक आवागमनमा बढोत्तरी गर्ने सरकारको उद्देश्य छ ।
चालु आव २०८०/८१ को बजेटमा मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिनुका साथै पर्यटन प्रवर्द्धन र पूर्वाधार विकास गरी राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान वृद्धि गरिने उल्लेख गरिएको थियो ।
नेपाल भ्रमण दशक अवधारणाको कार्यान्वयनमा
सरकारले नेपाललाई विश्वको एक पर्यटन आगमनको केन्द्र बनाउने गरी नेपाल भ्रमण दशक (२०२३–३२) अवधारणा स्वीकृत भई कार्यान्वयनमा ल्याएको छ । कोभिड महामारीबाट प्रभावित बनेको पर्यटन क्षेत्रको दीर्घकालीन सोचसहितको पुनरुत्थान आवश्यक भएकाले पर्यटन दशकको घोषणा भएको हो ।
‘सबैका लागि पर्यटन’ भन्ने अवधारणासहित आगामी १० वर्षभित्र मुलुकका वार्षिक ३५ लाख पर्यटक आउने वातावरण बनाउने गरी भ्रमण दशकले लक्ष्य लिएको छ । विश्वका परम्परागत पर्यटन बजारबाट नेपालले पर्यटकलाई आतिथ्य प्रदान गर्न सन् १९९८ मा नेपाल भ्रमण वर्षलगायत सन् २००० र २०१० को दशकका अवधिमा अनेकन अभियान सञ्चालन गरे पनि लक्षित उपलब्धि हासिल हुन सकेको छैन ।
विगतको अनुभवबाट पाठ सिक्दै भ्रमण दशकको कार्यान्वयन गर्न ल्याइएको कार्ययोजनाअनुसार देशैभर बहुपक्षीय पूर्वाधारको विकास गर्ने, पर्यटन क्षेत्रको पुनरुत्थान गर्दै सन् २०२४ सम्म पर्यटन आगमनलाई २०१९ को पूर्ववत् अवस्थामा पु¥याउने लक्ष्य लिइएको छ ।
पर्यटक आगमन हरेक वर्ष १५ प्रतिशतले बढ्दा २०३२ सम्म वार्षिक ३५ लाख पर्यटक आउने सरकारको विश्वास छ । आगामी १० वर्ष भित्र वार्षिक १ लाखका दरले थप रोजगारी सिर्जना हुने समेत कार्ययोजनाको लक्ष्य रहेको छ । पर्यटन दशक कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि तीनै तहका सरकारसँग समन्वयमा जोड दिइएको छ ।
Advertisment