Below Menu

आन्तरिक अर्थतन्त्रमा दबाब कायमै !

आन्तरिक अर्थतन्त्रमा दबाब कायमै !

काठमाडौं : अर्थतन्त्रका बाह्य सूचकहरु सकारात्मक देखिएपछि आन्तरिक दबाब भने कायमै देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा अधिकांश बाह्य आर्थिक सूचकहरु सकारात्मक देखिए पनि आन्तरिक रुपमा भने सुधार हुन सकेको छैन । 

Sponsored Advertisement

राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मङ्सिर मसान्तसम्ममा मूल्यवृद्धि घटेको छ भने विप्रेषण र विदेशी मुद्रा सञ्चिति बढेको छ । शोधनान्तर स्थिति बचतमा देखिएको छ ।

तर, सरकारले लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेको छैन भने पुँजीगत खर्च पनि हुन सकेको छैन । एकातर्फ बैकिङ प्रणालीमा तरलता थुप्रिरहेको छ । लगानीको वातावरण बन्न नसक्दा बैंकहरुले लगनाी गर्न सकिरहेका छैन । निजी क्षेत्र र उद्योगी व्यवसायीहरुको मनोबल खस्किरहेको छ । बजारमा मागसँगै उत्पादन निर्यात पनि घटिरहेको छ । बैंकिङ प्रणालीबाट लगानी नहूँदा बजारमा आर्थिक गतिविधिहरु सुस्त छन् ।

यस अवधिमा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.९५ प्रतिशत छ । यस अवधिमा आयात ३.४ प्रतिशत, निर्यात ६.१ प्रतिशत र कूल वस्तु व्यापार घाटा ३.१ प्रतिशतले घटेको छ । विप्रेषण आप्रवाह २७ दशमलव ६ प्रतिशतले बढेको छ ।

यस अवधिमा शोधनान्तर स्थिति पनि बचतमा छ भने कूल विदेशी विनिमय सञ्चिति  १७ खर्ब ६७ अर्ब चार करोड पुगेको छ । चालु आवको पाँच महिनाको आयातलाई आधार मान्दा बैंङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४.१ महिनाको वस्तु आयात र ११ दशमलव ८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

पाँच महिनामा नेपाल सरकारको खर्च चार खर्ब ५३ अर्ब र राजस्व परिचालन रु तीन अर्ब ६३ अर्ब ४३ करोड छ । यस अवधिमा मुद्राप्रदायक १४.४ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ४.६ प्रतिशत अर्थात् रु दुई खर्ब ६३ अर्ब ७२ करोडले बढेको छ । यही अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा दुई दशमलव तीन प्रतिशत अर्थात्  रु एक खर्ब १० अर्ब ६ करोडले बढेको छ । 

वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर चार दशमलब पाँच प्रतिशत छ ।

पाँच महिनामा भित्रियो ६ खर्ब १३ अर्ब रेमिट्यान्स

चालु आवको पाँच महिनामा छ खर्ब १३ अर्ब २५ करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ । राष्ट्र बैंकका अनुसार यस मंसिर मसान्तसम्मको विवरणअनुसार विप्रेषण आप्रवाह २७.६ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४.५ प्रतिशतले वृद्धि भई चार अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो । 

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ७३ हजार पाँच सय ५५ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख चार हजार ३७ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः दुई लाख ३६ हजार सात सय ७९ र एक लाख १५ हजार नौ सय ४८ थियो । 

१७ खर्ब ६७ अर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति

मुलुकभित्र विदेशी मुद्राको सञ्चिति सबल बन्दै गएको पाइएको छ । चालु आवको मङ्सिर मसान्तसम्म कूल  १७ खर्ब ६७ अर्ब बराबरको विदेशी मुद्राको सञ्चिति रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

केन्द्रीय बैंकका अनुसार गत असार मसान्तमा रु १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति रहेकामा १४ दशमलव आठ प्रतिशतले वृद्धि भई गत मङ्सिर मसान्तमा रु १७ खर्ब ६७ अर्ब चार करोड पुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा गत मङ्सिर मसान्तमा १३ दशमलव छ प्रतिशतले वृद्धि भई १३ अर्ब ३१ करोड पुगेको छ ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रु १३  खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा गत मङ्सिर मसान्तमा १५ दशमलब छ प्रतिशतले वृद्धि भई रु १५ खर्ब ५६ अर्ब २५ करोड पुगेका छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा रु एक खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा गत मङ्सिर मसान्तमा आठ दशमलब नौ प्रतिशतले वृद्घि भई रु दुई खर्ब १० अर्ब ७९ करोड कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार गत मङ्सिर मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.६  प्रतिशत छ । चालु आवको पाँच महिनाको आयातलाई आधार मान्दा बैंङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति एक महिनाको वस्तु आयात र आठ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

शोधनान्तर स्थिति दुई खर्ब १० अर्ब ५९ करोडले बचतमा

मुलुकबाट बाहिरने भन्दा भित्रिने मुद्राको मात्रामा वृद्धि भएको पाइएको छ । मंसिर मसान्तसम्म शोधनान्तर स्थिति दुई खर्ब १० अर्ब ५९ करोडले बचतमा छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४५ अर्ब ८६ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब ५८ करोडले बचतमा  छ ।

यस अवधिमा चालु खाता एक खर्ब ४० अर्ब २३ करोडले बचतमा  छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४१ अर्ब २१ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड २२ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब पाँच करोडले बचतमा रहेको छ । 

यस अवधिमा पुँजीगत ट्रान्सफर १७.२ प्रतिशतले कमी आई दुई अर्ब ८७ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी तीन अर्ब ९२ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रू तीन अर्ब ४७ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी रू ६० करोड ४९ लाखले धनात्मक रहेको थियो । 

वैदेशिक व्यापारतर्फ चालु आवको पाँच महिनामा कुल वस्तु निर्यात छ दशमलव एक प्रतिशतले कमी आई रू ६३ अर्ब २१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३४ दशमलव छ प्रतिशतले कमी आएको थियो । 
गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ११.३ प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३२२.३ प्रतिशत र २.३ प्रतिशतले वृद्धि भएको छ । 

वस्तुगत आधारमा जिङ्क सिट, पार्टिकल बोड, जुस, पोलिस्टर धागो, तयारी पोसाकलगायतका वस्तुको निर्यात बढेको छ । त्यस्तै, पाम तेल, सोयाविन तेल, चिया, ऊनी गलैँचा, रोजिनलगायतका वस्तुको निर्यात घटेको छ । 

चालु आवको पाँच महिनामा कूल वस्तु आयात घटेर ६ खर्ब ४२ अर्ब २१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २०.७ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः १.३ प्रतिशत र २८ं४प्रतिशतले घटेको छ । 

चीनबाट भएको आयात ३२.८ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा तयारी पोसाक, एमएस तार, छड, बार तथा क्वाइल, विद्युत्तीय उपकरण, लत्ताकपडा, हवाईजहाजका स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ ।

सुन, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, धान लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्पm भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कृष्णनगर, मेची, रसुवा, तातोपानी तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ ।

आयाततर्पm भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । चालु आवको पाँच महिनामा कूल वस्तु व्यापार घाटा ५ खर्ब ७९ अर्ब रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १८.८ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २६.३ प्रतिशतले वृद्धि भई छ खर्ब ६९ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१ दशमलव छ प्रतिशतले बढेको थियो  । 
 

थप समाचार