Below Menu

एक वर्षमै ४५ प्रतिशतले बढ्यो राष्ट्र बैंकको सम्पत्ति, सरकारलाई ४२ अर्ब मुनाफा बुझाउने

एक वर्षमै ४५ प्रतिशतले बढ्यो राष्ट्र बैंकको सम्पत्ति, सरकारलाई ४२ अर्ब मुनाफा बुझाउने

काठमाडौं : नेपाल राष्ट्र बैंकको कुल सम्पत्ति तथा दायित्व ४५.०६ प्रतिशतले बढेको भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनअनुसार २०८३ असार मसान्तसम्म बैंकको कुल सम्पत्ति तथा दायित्व ३८ खर्ब ७४ अर्ब ८२ करोड १० लाख ३७ हजार रुपैयाँ पुगेको छ । 

Sponsored Advertisement

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को असार मसान्तमा यस्तो रकम २६ खर्ब ७१ अर्ब रुपैयाँको हाराहारीमा थियो । राष्ट्र बैंकको वासलातअनुसार समीक्षा अवधिमा बैंकको सम्पत्तितर्फ सबैभन्दा ठूलो हिस्सा विभिन्न वित्तीय उपकरणमा गरिएको लगानीको रहेको छ । कुल सम्पत्तिमा लगानीको हिस्सा ८९.७२ प्रतिशत पुगेको छ ।

त्यस्तै, नगद तथा बैंक मौज्दात सम्पत्तिको हिस्सा ६.८७ प्रतिशत र अन्य सम्पत्तिको हिस्सा ३.४१ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यी शीर्षकको हिस्सा क्रमशः ८८.९२ प्रतिशत, ७.३२ प्रतिशत र ३.७६ प्रतिशत थियो।

समीक्षा वर्षमा राष्ट्र बैंकले विभिन्न उपकरणमा गरेको लगानी ४६.३६ प्रतिशतले वृद्धि भएको छ । लगानीको कुल रकम ३४ खर्ब ७६ अर्ब ५१ करोड ७ लाख ४१ हजार रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तमा यस्तो लगानी २३ खर्ब ७५ अर्ब २६ करोड २ लाख ९१ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, राष्ट्र बैंकको नगद तथा बैंक मौज्दात सम्पत्ति पनि उल्लेख्य रूपमा बढेको छ । अघिल्लो वर्षको तुलनामा यस्तो सम्पत्ति ३६.१८ प्रतिशतले वृद्धि भई २०८३ असार मसान्तमा २ खर्ब ६६ अर्ब २७ करोड ७४ लाख ३६ हजार रुपैयाँ पुगेको छ । २०८२ असार मसान्तमा नगद तथा नगदसरहका सम्पत्ति एक खर्ब ९५ अर्ब ५३ करोड १० लाख १० हजार रुपैयाँ थियो 

दायित्वमा बैंक तथा वित्तीय संस्थाको निक्षेपको हिस्सा बढ्यो

राष्ट्र बैंकको कुल दायित्व तथा इक्विटी संरचनामा समीक्षा अवधिमा दायित्वको हिस्सा ७३.१२ प्रतिशत र इक्विटीको हिस्सा २६.८८ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा दायित्वको हिस्सा ७४.६९ प्रतिशत र इक्विटीको हिस्सा २५.३१ प्रतिशत थियो । 

कुल दायित्वमध्ये सबैभन्दा ठूलो हिस्सा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप दायित्वको रहेको छ । २०८३ असार मसान्तमा कुल दायित्वमा यस्तो निक्षेपको हिस्सा ५९.१५ प्रतिशत पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकमा स्वदेशी तथा विदेशी मुद्रामा राखेको निक्षेप, एसडीएफ, रिपोसम्बन्धी दायित्व तथा अन्य सम्बन्धित कोषसमेत यसमा समेटिएका छन् ।

अघिल्लो आर्थिक वर्षमा यस्तो निक्षेप दायित्वको हिस्सा ५२.७९ प्रतिशत रहेको थियो। समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको राष्ट्र बैंकमा रहेको निक्षेप ५९.१३ प्रतिशतले वृद्धि भई १६ खर्ब ७५ अर्ब ९५ करोड ५८ लाख ८८ हजार रुपैयाँ पुगेको छ । २०८२ असार मसान्तमा यस्तो निक्षेप १० खर्ब ५३ अर्ब १७ करोड ९१ लाख ३९ हजार रुपैयाँ रहेको थियो।

त्यस्तै, चलनचल्तीमा रहेको नोटको हिस्सा कुल दायित्वमा २८.२९ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्तो हिस्सा ३७.६० प्रतिशत थियो ।रकमका आधारमा भने चलनचल्तीमा रहेको नोट ६.८७ प्रतिशतले वृद्धि भएको छ । 

गत असार मसान्तमा चलनचल्तीमा रहेको नोट आठ खर्ब एक अर्ब ६२ करोड ६७ लाख ७२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम ७ खर्ब ५० अर्ब ११ करोड २४ लाख २२ हजार रुपैयाँ थियो ।

नेपाल सरकारको राष्ट्र बैंकमा रहेको निक्षेप दायित्व पनि उल्लेख्य रूपमा बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस्तो निक्षेप १६२.५९ प्रतिशतले वृद्धि भई असार मसान्तमा एक खर्ब ८६ अर्ब ८५ लाख ३० हजार रुपैयाँ पुगेको छ । २०८२ असार मसान्तमा सरकारको निक्षेप ७० अर्ब ८३ करोड ७० लाख ९९ हजार रुपैयाँ रहेको थियो ।

कुल दायित्वमा नेपाल सरकारको निक्षेपको हिस्सा ६.५६ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो हिस्सा ३.५५ प्रतिशत थियो । अन्य दायित्वको हिस्सा भने समीक्षा अवधिमा ५.९९ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्ष ६.०७ प्रतिशत थियो ।

इक्विटी ५४ प्रतिशतले बढ्यो, जगेडा कोषमा १० खर्बभन्दा बढी

राष्ट्र बैंकको कुल इक्विटीमा पनि उल्लेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०८२/८३ मा कुल इक्विटी ५४.०५ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । यस अवधिमा जगेडा कोष ५४.४५ प्रतिशतले वृद्धि भई १० खर्ब ३६ अर्ब ४३ करोड ३३ लाख ९५ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को असार मसान्तमा जगेडा कोष ६ खर्ब ७१ अर्ब २ करोड ६३ लाख २३ हजार रुपैयाँ रहेको थियो । यसरी एक वर्षको अवधिमा राष्ट्र बैंकको जगेडा कोषमा उल्लेख्य वृद्धि भएको देखिन्छ।

यद्यपि, बैंकको शेयर पुँजीमा भने कुनै परिवर्तन भएको छैन । २०८२ असार मसान्तमा ५ अर्ब रुपैयाँ रहेको शेयर पुँजी २०८३ असार मसान्तमा पनि सोही रकम कायम रहेको प्रतिवेदनमा उल्लेख छ ।

खुद सञ्चालन आम्दानी ६.४८ प्रतिशतले बढ्यो

राष्ट्र बैंकको आय विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा बैंकको कुल खुद सञ्चालन आम्दानी अघिल्लो वर्षको तुलनामा ६.४८ प्रतिशतले वृद्धि भएको छ । समीक्षा वर्षमा यस्तो आम्दानी ९३ अर्ब ९२ करोड २० लाख २६ हजार रुपैयाँ पुगेको छ ।

खुद सञ्चालन आम्दानीमा खुद ब्याज आम्दानीको हिस्सा सबैभन्दा ठूलो रहेको छ । समीक्षा अवधिमा खुद ब्याज आम्दानी ८.६३ प्रतिशतले वृद्धि भई ९४ अर्ब ५६ करोड ४९ लाख ७४ हजार रुपैयाँ पुगेको छ । कुल खुद सञ्चालन आम्दानीमा खुद ब्याज आम्दानीको हिस्सा १००.६९ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ।

यसैबीच, विदेशी विनिमय खरिदबिक्रीबाट भएको आम्दानी भने ऋणात्मक रहेको छ । समीक्षा वर्षमा विदेशी विनिमय खरिदबिक्रीबाट २ अर्ब १३ करोड ८८ लाख ४० हजार रुपैयाँ घाटा भएको छ । कुल खुद सञ्चालन आम्दानीमा यस शीर्षकको योगदान २.२८ प्रतिशत ऋणात्मक रहेको छ ।

त्यस्तै, अन्य सञ्चालन आम्दानी एक अर्ब ४९ करोड ५८ लाख ९३ हजार रुपैयाँ रहेको छ । कुल खुद सञ्चालन आम्दानीमा अन्य सञ्चालन आम्दानीको हिस्सा १.५९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

पुनर्मूल्याङ्कन लाभ तथा हानीअघिको खुद आय ८३ अर्ब ५६ करोड

विदेशी विनिमय तथा अन्य सम्पत्तिको पुनर्मूल्याङ्कनबाट हुने लाभ वा हानी समायोजन गर्नुअघिको राष्ट्र बैंकको खुद आय पनि बढेको छ । आर्थिक वर्ष २०८२र८३ मा यस्तो खुद आय अघिल्लो वर्षको तुलनामा ३.८४ प्रतिशतले वृद्धि भई ८३ अर्ब ५६ करोड ९४ लाख ७६ हजार रुपैयाँ पुगेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा यस्तो खुद आय ८० अर्ब ४८ करोड २६ लाख ५० हजार रुपैयाँ रहेको थियो। यस आधारमा समीक्षा वर्षमा राष्ट्र बैंकको पुनर्मूल्याङ्कन लाभ तथा हानी समायोजनअघिको खुद आयमा सुधार देखिएको छ ।

सरकारलाई ४२ अर्ब रुपैयाँ उपलब्ध गराउने निर्णय

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण निर्धारित समयमै सम्पन्न गरेको जनाएको छ। समीक्षा वर्षको लेखापरीक्षणसमेत समयमै सम्पन्न गरी २०८३ मंसिर ३० गते बसेको सञ्चालक समितिको बैठकबाट प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

सञ्चालक समितिको बैठकले बैंकको खुद मुनाफाबाट विभिन्न आवश्यक कोषमा छुट्याउनुपर्ने रकम विनियोजन गरेपछि बाँकी बचत रकम ४२ अर्ब रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ ।

यस निर्णयसँगै राष्ट्र बैंकले आफ्नो नाफाबाट आवश्यक कोषहरूमा रकम छुट्याएर बाँकी ४२ अर्ब रुपैयाँ सरकारलाई उपलब्ध गराउने भएको छ । समीक्षा वर्षमा बैंकको कुल सम्पत्ति तथा दायित्व, लगानी, निक्षेप र जगेडा कोषमा भएको वृद्धिसँगै सञ्चालन आम्दानीसमेत बढेको प्रतिवेदनले देखाएको छ ।
 

थप समाचार