Below Menu
Below Menu

नाफा घटेसँगै बैंकले तिर्ने आयकरमा संकुचन, छ महिनामा सरकारलाई बुझाए करिब १० अर्ब 

नाफा घटेसँगै बैंकले तिर्ने आयकरमा संकुचन, छ महिनामा सरकारलाई बुझाए करिब १० अर्ब 

काठमाडौं : पछिल्लो समय बैंकहरुको नाफा र आम्दानी घटेसँगै आयकर भुक्तानीमा पनि कमी आएको छ । बैंकहरुको नाफामा संकुचन भएसँगै सरकारले प्राप्त गर्ने आयकर पनि घटेको हो । 

चालु आर्थिक वर्षको छ महिना अर्थात पुस मसान्तसम्म बैंकहरुले सरकारलाई आयकर वापत करिब १० अर्ब रुपैयाँ बुझाएका छन् । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंक र १५ विकास बैंकले यस अवधिमा आम्दानी वापतको ९ अर्ब ९४ करोड ५८ लाख ३२ हजार रुपैयाँ सरकारलाई बुझाएका हुन् । 

उक्त रकम गत आवको सोही अवधिको तुलनामा ५१ करोड ९ लाख अर्थात ४.८८ प्रतिशतले कम हो । जबकी गत आवको सोही अवधिमा बैंकहरुले सरकारलाई आयकर वापत १० अर्ब ४५ करोड ६८ लाख रुपैयाँ बुझाएका थिए। 

चालु आवको दोस्रो त्रैमाससम्म वित्तीय विवरण अनुसार यस अवधिमा बैंकहरुले २८ अर्ब ९५ करोड ९७ लाख रुपैयाँ बराबरको नाफा कमाएका छन् । उक्त नाफा अघिल्लो आवको तुलनामा ९.३३ प्रतिशतले कम हो । आव २०७९/८० को पुस मसान्तसम्म बैंकहरुले ३१ अर्ब ९४ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । यस पुस मसान्तसम्म आइपुग्दा अधिकांश बैंकहरुको नाफा घटेको छ ।

बजारमा देखिएको आर्थिक मन्दीको असर र बैंकहरुको ब्याजदर वृद्धिसँगै कर्जा लगानीमा सुस्तता आएको छ । अनपेक्षित रुपमा बैंकहरुको खराब कर्जा (एनपीएल) बढ्दा बैंकहरुको नाफामा संकुचन आएको छ ।

आयकर ऐन २०५८ अनुसार बैंक तथा वित्तीय संस्थाहरूले आम्दानीको ३० प्रतिशत आयकर तिर्नुपर्ने कानुनी प्रावधान छ । ऐन अनुसार बैंकहरुले कर पछिको नाफामा १० प्रतिशत कर्मचारी बोनस छुट्याएपछि बाँकीमा ३० प्रतिशत आय कर सरकारलाई बुझाउनु पर्ने ऐनमा उल्लेख छ ।

वाणिज्य बैंकहरुले सरकारलाई बुझाए साढे आठ अर्ब

चालु आवको पुस मसान्तसम्म वाणिज्य बैंकहरुले आयकर वापत सरकारलाई साढे आठ अर्ब रुपैयाँ बुझाएका छन् । यस अवधिमा बैंकहरुले ८ अर्ब ७१ करोड ६६ लाख ९० हजार रुपैयाँ कर बुझाएका हुन् ।

उक्त रकम गत आवको सोही अवधिको तुलनामा ६.६६ प्रतिशतले कम हो । जबकी गत आवको सोही अवधिमा वाणिज्य बैंकहरुले आयकर वापत सरकारलाई ९ अर्ब ३४ करोड ९१ लाख रुपैयाँ बुझाएको विवरणमा उल्लेख छ ।

यस अवधिमा सबैभन्दा धेरै आयकर तिर्नेमा नबिल बैंक रहेको छ । बैंकले पुसर मसान्तसम्म सरकारलाई आम्दानी वापतको एक अर्ब ३१ करोड ८६ लाख रुपैयाँ कर बुझाएको हो । त्यस्तै, सरकारी स्वमित्वको बैंक राष्ट्रिय वाणिज्य बैंकले ८६ करोड ३७ लाख रुपैयाँ आयकर बुझाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा २५.७० प्रतिशत कम हो । 

त्यसैगरी, गत वर्षको छ महिनामा ४० करोड ९१ लाख ५९ हजार रुपैयाँ आयकर बुझाएको हिमालयन बैंकले यस अवधिमा १३५.५१ प्रतिशत बढी अर्थात ९६ करोड ३६ लाख ११ हजार रुपैयाँ सरकारलाई आम्दानी वापतको कर बुझाएको छ । 

पुस मसान्तसम्म नाफा घटेसँगै ग्लोबल आईएमई बैंकले तिर्ने आयकर पनि २७.९४ प्रतिशतले घटेको छ । गत वर्षको पुस मसान्तसम्म एक अर्ब १२ करोेड १० लाख रुपैयाँ कर बुझाएको बैंकले चालु आवको यस अवधिमा ८० करोड ७८ लाख ४३ हजार रुपैयाँ मात्र बुझाएको छ ।

यस अवधिमा एनआईसी एशिया बैंकले तिर्ने आयकरमा पनि कमी आएको छ । चालु आवको पुस मसान्तसम्म बैैंकले आयकर वापत सरकारलाई ७० करोड ५७ लाख ३१ हजार रुपैयाँ बुझाएको छ । जबकी बैंकले गत वर्षको पुस मसान्तसम्म एक अर्ब ४० करोड २८ लाख ५५ हजार रुपैयाँ कर बुझाएको थियो ।

कृषि विकास बैंकको आयकरमा छलाङ

यस अवधिमा कृषि विकास बैंकको आयकरमा उल्लेख्य रुपमा वृद्धि भएको पाइएको छ । गत आवको पुस मसान्तसम्म आम्दानी वापत सरकारलाई २ करोड एक लाख ९१ हजार रुपैयाँ कर बुझाएको बैंकले यस अवधिमा ४९ करोड बढी कर बुझाएको छ । 

चालु आवको छ महिना अर्थात पुस मसान्तसम्म बैंकले ५० करोड २८ लाख ५६ हजार रुपैयाँ आयकर बुझाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा २३९०.५० प्रतिशत अर्थात ४८ करोड २६ लाख ६५ हजार रुपैयाँले बढी हो ।

विकास बैंकले बुझाए सवा एक अर्ब

हाल सञ्चालनमा रहेका विकास बैंकहरुले चालु आवको पुस मसान्तसम्म सरकारलाई आयकर वापत सवा एक अर्ब रुपैयाँ बुझाएका छन् । गत आवको सोही अवधिको तुलनामा बैंकहरुले तिर्ने आयकर ९.९७ प्रतिशतले बढेको छ । 

चालु आवको दोस्रो त्रैमाससम्म राष्ट्रिय स्तरका आठ बैंकले दुई अर्ब २५ करोड ४२ लाख रुपैंया नाफा आर्जन गरेका छन् । यो नाफा गत वर्षको पुससम्मको तुलनामा १०.९८ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकले दुई अर्ब ५३ करोड २३ लाख रुपैंया भन्दा बढी नाफा कमाएका थिए । यस अवधिमा अन्य बैैंकहरुको नाफा पनि घटेको छ ।

दोस्रो त्रैमाससम्मको नाफाबाट भएको आम्दानीबाट विकास बैंकहरुले सरकारलाई एक अर्ब २२ करोड ९१ लाख ४२ हजार रुपैयाँ आयकर बुझाएका छन् । जबकी बैंकहरुले गत वर्षको पुस मसान्तसम्म एक अर्ब ११ करोड ७६ लाख २६ हजार रुपैयाँ आयकर बुझाएका थिए । 

यस अवधिमा सबैभन्दा बढी आयकर तिर्नेमा गरिमा विकास  बैंक रहेको छ । गत वर्षको सोही अवधिमा २१ करोड ५२ लाख रुपैयाँ आयकर तिरेको बैकले चालु आवको पुस मसान्तसम्म २१ करोड ९६ लाख ७८ हजार रुपैयाँ कर तिरेको छ । 

त्यसैगरी, यस अवधिमा मुक्तिनाथ विकास बैकले १८ करोड ७ हजार, कामना सेवा विकास बैंकले ११ करोड ९ लाख ६५ हजार, सांग्रिला डेभलपमेन्टले ४ करोड २९ लाख र महालक्ष्मी विकास बैंकले ११ करोड ९१ लाख रुपैयाँ आयकर तिरेका छन् । उक्त बैंकहरुले तिर्ने आयकर गत वर्षको तुलनामा घटेको छ ।

गत वर्षको पुसको तुलनामा आयकर बढाउने बैंकमा लुम्बिनी विकास बैंक, गरिमा विकास बैंक, ग्रिन डेभलपमेन्ट र ज्योति विकास बैंक रहेका छन् । एक्सेल डेभलपमेन्टको आयकर शतप्रतिशतले घटेको छ भने सप्तकोशी र नारायणी डेभलपमेन्ट बैंकले यस अवधिमा सरकारलाई बुझाएका छैनन्  ।
 

Advertisment