काठमाडौं : बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा हिनामिना प्रकरणमा अन्य व्यक्ति पनि तानिन सक्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले स्पष्ट पारेको छ ।
जग्गा हिनामिना प्रकरणको अनुसन्धान पूरा गर्न तीन महिना लागेको बताउँदै सीआईबीका प्रवक्ता एवम् एसएसपी नवराज अधिकारीले पुष्टी भएको अवस्थामा अन्य व्यक्ति पनि पक्राउ पर्ने बताए । ‘हामीलाई अनुसन्धान पूरा गर्न तीन महिनाभन्दा धेरै समय लाग्यो’, अधिकारीले भने, ‘अनुसन्धान जारी रहन्छ । अनुसन्धान हुँदै जाँदा अरु व्यक्ति पनि तानिने सम्भावना रहन्छ ।’ तत्काललाई यसमा कुनै राजनीतिक तहमा निर्णय भएको नदेखिएको समेत उनले बताए ।
आरोपीहरुलाई किर्ते र ठगी सम्बन्धी मुद्दामा कारबाही अघि बढाउने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । जग्गा तत्कालीन सरकारले निर्णय गरेर नदिएको सीआईबीको दाबी छ । २०४३ सालमा च्याम्पियन फुटवेयरमा बाँसबारी छाला जुत्ता उद्योगको २५ प्रतिशत सेयर स्वामित्व रहने गरि जग्गा निजीकरण गरिएको थियो ।
सीआईबीका अनुसार सो समयमा च्याम्पियन फुटवेयरको पुँजी ५० लाख रहेको र सो को २५ प्रतिशत सेयर बाँसबारीले उद्योगले पाउँदा १२ लाख ५० हजार रुपैयाँ मात्र हुन आउँछ । तर, जग्गाको मूल्यांकन भने रोपनीको २ लाख ५० हजार रुपैयाँका दरले २५ लाख गरिएको सीआईबीको दाबी छ ।
सीआईबीका अनुसार सम्झौता बमोजिम साढे १२ लाख रुपैयाँ लगानी गर्नुपर्ने ठाउँमा २६ लाख २७८ रुपैयाँ लगानी गरि तत्कालीन बाँसबारी छाला जुत्ता उद्योगका अध्यक्ष अजितनारायण सिंह थापाले सरकारलाई हानी नोक्सानी पु¥याएर आफूलाई लाभ लिएर अरुण चौधरी सञ्चालक रहेको च्याम्पियन फुटवेयरलाई जग्गा दिलाएको सीआईबीले बतायो ।
यसरी सरकारबाट उद्योग सञ्चालन भनि विभिन्न मितिमा लिएको १० रोपनी जग्गा चौधरीले आफ्नो व्यक्तिगत नाममा नामसारी गरि चाँदबाग स्कुल सञ्चालन गरेको सीआईबीको ठहर छ । सरकारी जग्गा व्यक्तिको नाममा ल्याएको अभियोगमा तत्कालीन च्याम्पियन फुटवेयरका सञ्चालक अरुण चौधरीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
साथै प्रहरीले चाँदबाग स्कुलका सञ्चालक समेत रहेका सञ्जय ठाकुर र उद्योगका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापालाई पक्राउ पक्राउ गरेको छ ।
Advertisment