Below Menu
Below Menu

लगानी सम्मेलन अगाडि कानून संशोधन गरी लगानीमैत्री वातावरण बनाउन आवश्यक: ढकाल

लगानी सम्मेलन अगाडि कानून संशोधन गरी लगानीमैत्री वातावरण बनाउन आवश्यक: ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा लगानीको वातावरण निर्माण गर्न निजी क्षेत्रको तर्फबाट दिएका सुझावहरु अनुसार कानून संशोधन गर्न आवश्यक रहेको बताएका छन् । 

बुधबार इकोनोमिक मिडिया एशोसिएशन नेपालको प्रथम वार्षिकोत्सवको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले लगानी सम्मेलन अगाडि अध्यादेश वा नियमित प्रक्रियाबाट जसरी हुन्छ कानून सम्शोधन गरेर सरकारले लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिए । 

‘लगानी सम्मेलनको लागि निजी क्षेत्रतर्फबाट हामीले १२ वटा कानूनहरु संशोधन गरी लगानीको वातावरण बनाउन सरकारलाई सुझाव दिएका छौँ । लगानी सम्मेलन अगाडि नै यी कानूनहरु संशोधन गर्न सकियो भने यसले वातावरण बनाउन सहयोग गर्नेछ र लगानी ल्याउन सहयोग गर्नेछ’, उनले भने ।

उनले अर्थतन्त्रका धेरै सूचकहरु सकारात्मक रहँदारहँदै पनि आम उपभोक्ता र लगानीकर्ता दुवैको मनोबल बढ्न नसकिरहेको अहिलेको अवस्थामा सरकारको तर्फबाट सकारात्मक सन्देशमात्र दिँदा पनि आम लगानीकर्ता र उपभोक्तामा केही कन्फीडेन्स आउने बताए ।

बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न पर्दैन भनेर केही व्यक्तिले दिएको अभिव्यक्तिले आम जनतामा अन्योल सिर्जना गरेको ढकालले बताए । ‘निजी क्षेत्रको मनोबल गिरेको अवस्था छ । निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण राम्रो हुन सकेको छैन । अहिलेको अवस्थामा लगानी बढ्न सम्भव छैन । यसका लागि लगानीको वातावरण बनाउन जरुरी छ । नकारात्मक कुराहरु निस्तेज गर्दै सरकारले लगानीको वातावरण निर्माण गर्न विशेष ध्यान दिन आवश्यक छ’, उनले भने ।

Advertisment

थप समाचार