Below Menu

एक महिनामा ४०.०८ प्रतिशले घट्यो विदेशी लगानी, जलविद्युत क्षेत्रमा शुन्य 

एक महिनामा ४०.०८ प्रतिशले घट्यो विदेशी लगानी, जलविद्युत क्षेत्रमा शुन्य 

काठमाडौं : चालु आर्थिक वर्षको माघ महिनामा नेपालमा आउने वैदेशिक लगानी घटेको छ । गत पुसको तुलनामा उक्त लगानी करिब ७९ करोड ७५ लाख रुपैयाँले घटेको हो ।

Sponsored Advertisement

विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीका कारण प्रभावित बनेको विदेशी लगानीमा गत मंसिरमा केही सुधार देखिएपनि पुसदेखि भने फेरी घट्न पुगेको छ । सरकारको नीतिका र लगानीको वातावरण बन्न नसक्दा विदेशी लगानीमा अस्थिरता देखिएको हो । 

उद्योगको विभागको पछिल्लो तथ्यांक अनुसार माघमा सवा एक अर्ब रुपैयाँ बराबरको विदेशी लगानी भित्रिएको छ । यस अवधिमा नयाँ उद्योग र सेयर पर्चेज एग्रिमेन्ट (एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए) मा गरी १८ उद्योगका लागि एक अर्ब १९ करोड २० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको हो ।

उक्त लगानी गत पुस महिनाको तुलनामा ४०.०८ प्रतिशतले कम हो । जबकी पुसमा नयाँ उद्योग र सेयर पर्चेज एग्रिमेन्ट (एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए) मा गरी ३४ उद्योगका लागि एक अर्ब ९८ करोड ९५ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो ।

यस अवधिमा विदेशी लगानीका १५ नयाँ उद्योगका लागि ३४ करोड ५० लाख हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ भने एपीए र एसएसएका सात उद्योगका लागि ८४ करोड ७० लाख रुपैयाँ प्रतिवद्धता आएको हो ।

चालु आवको माघ मसान्तसम्म २७२ नयाँ उद्योग लागि २२ अर्ब ६८ करोड १५ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । जसमा एसपीए र एसएसएका ३१ उद्योगका लागि चार अर्ब ८५ करोड ७३ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ । 

माघमा मात्र दर्ता भएका उद्योगमा ५२५ जनाले रोजगारी पाउने भएका छन् भने सात महिनामा दर्ता भएका उद्योगमा १२ हजार ६९२ जनालाई रोजगारी प्रस्ताव गरिएको हो । 

यस अवधिमा दर्ता भएका उद्योगमा साना उद्योग २२६ वटा, मझौला उद्योग १२ वटा र ठूला उद्योग तीन वटा रहेका छन् । माघमा मात्रै विदेशी लगानीका साना उद्योग १५ वटा दर्ता भएका छन् ।

विभाग अनुसार माघ मसान्तसम्म सूचना प्रविधि क्षेत्रका आठ वटा, निर्माण क्षेत्रका २८ वटा, सेवामुलक क्षेत्रका ८६, खनिज क्षेत्रका दुई, पर्यटन क्षेत्रका १०८ उद्योग दर्ता भएका छन् ।

त्यस्तै यस अवधिमा कृषि क्षेत्रका चार र पूर्वाधार क्षेत्रका पाँच वटा उद्योग दर्ता भएका छन् । यस अवधिमा जलविद्युत क्षेत्रमा भने लगानी आएको छैन ।

यस अवधिमा विदेशी लगानीकर्ताहरुले १३ अर्ब ८४ करोड ४८ लाख २२ हजार रुपैयाँ बराबरको लाभांश लैजान प्रस्ताव गरेका छन् । विभागका अनुसार माघ  मसान्तसम्म विदेशी लगानीमा सञ्चालित उद्योगबाट भएको नाफा वापत सो बराबरको लाभांश लैजान प्रस्ताव गरेका हुन् ।

यस अवधिमा लगानी कर्ताहरुले रोयल्टी मार्फत एक अर्ब ३७ करोड ३९ लाख ८२ हजार रुपैयाँ, एक करोड २ लाख ६५ हजार अमेरिकी डलर र १३ करोड र ५३ करोड ६७ लाख चार हजार रुपैयाँ रोयल्टी लैजान प्रस्ताव गरेको विभागको तथ्यांकमा उल्लेख छ । 

थप समाचार