काठमाडौं : प्रविधिको प्रयोग र पहुँचमा छोटो समयमै नेपालले ठूलो फड्को मारेको छ । कोरोना महामारी अगाडी समान्यरुपमा अगाडी बढेको डिजिटल कारोबार त्यसयता भने निरन्तर बढ्दो छ ।
छिटो छरितो काम हुन थालेपछि नेपालको वित्तीय क्षेत्र प्रविधिमैत्री बन्दै गएको छ । विगतदेखि नै प्रविधिको विकास र प्रयोगमा जोड दिँदै आएका वित्तीय क्षेत्रले कोरोना महामारीपछि भने प्राथमितामै राखे ।
सेवाग्राहीलाई डिजिटल माध्यमबाट सेवा प्रदान गर्न समग्र वित्तीय क्षेत्र नै कम्मर कसेर लागेका छन् । बैंक तथा वित्तीय संस्थाहरु जस्तै सहकारी पनि प्रविधिमैत्री सेवा प्रदान गर्न लागिपरेका छन् ।
ग्रामिण भेगमा सञ्चालित सहकारीहरुले पनि प्रविधिमार्फत सेवा प्रदान गर्न जोड दिएका छन् । आफ्ना सेयर सदस्यहरुलाई प्रविधिमैत्री सेवा प्रदान गर्ने अभियानमा सहकारीहरु अग्रसर भएका हुन् । शेयर सदस्यहरुको सेवा सुविधालाई ध्यानमा राख्दै अधिकांश सहकारीहरुले प्रविधिमैत्री सेवामा जोड दिएका छन् ।
एटिएमदेखि मोबाइल बैंकिङसम्मको सुविधा
रामेछापको मन्थली नगरपालिका वडा नं १ मा रहेको नवजागरण बचत तथा ऋण सहकारीले सदस्यहरुलाई मोबाइल बैंकिङदेखि एटिएमसम्मको सुविधा प्रदान गर्दै आएको छ । सदस्यहरूको सेवालाई ध्यानमा राख्दै उक्त सहकारीले क्यूआर कोड, मोबाइल बैकिङ, एटिएम सुविधा पनि प्रदान गरिरहेको छ ।
मोबाइलमा म्यासेजबाटै सदस्यहरुलाई कारोबारको जानकारी दिन संस्थाको आफ्रनै एप्स रहेको संस्थाका सचिव सोमेश थापाले बताए । संस्थाका शेयर सदस्यहरुलाई सरल र सहज रुपमा सेवा प्रदान गर्न एटीएम बुथ राखेको उनले जानकारी दिए ।
उनका अनुसार संस्थाको एप्सबाट घरमै बसी बसी निःशुल्क ब्यालेन्सको जानकारी, मोबाइल तथा डिश होमको रिचार्ज, मिनी स्टेटमेन्ट, रकम ट्रान्सफर, इन्टरनेट, बिजुलीको बिल भुक्तानी गर्ने सेवाहरू समेत दिने गरिएको छ ।
कम छैनन् दोलखाका सहकारी पनि
सदस्यहरुलाई डिजिटल माध्यमबाट सेवा प्रदान गर्न ग्रामिण भेगमा सञ्चालित अधिकांश सहकारीहरु अग्रसर भएर लागेका छन् । दोलखा जिल्लामा सञ्चालनमा रहेका सहकारीहरुले त झन् आफ्नै इन्टरनेट सेवा स्थापना गरी सेवा प्रदान गरीरहेका छन् ।
दोलखाको वैतेश्वर गाउँपालिका वडा नं ५ मा मैनापोखरीमा मुख्य कार्यालय रहेको जनसचेतन बचत तथा ऋण सहकारीले ‘प्रविधिमैत्री गुणस्तरीय सेवा, सदस्यलाई टेवा’ भन्ने मुल उद्देश्यका सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
संस्थाले आफ्ना १६ वटै सेवा केन्द्रबाट आफ्नो छुट्दै इन्टरनेट सेवा स्थापना गरी सदस्यहरुलाई निशुल्क रुपमा अन्तर सेवाकेन्द्र (एबिबिएस) सेवा उपलब्ध गराउँदै आएको संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज दहालले बताए ।
उनका अनुसार संस्थाले मोबाइल बैकिङमार्फत कारोबारको अलर्ट, नगदरहित कारोबार, टपअप तथा रिचार्ज, अनलाइन टिकेटिङ, क्युआर कोड, इ–टेलर, बैंक फण्ड ट्रान्टफर लगायतका सुविधा प्रदान गर्दै आएको छ ।
यसका साथै उनले संस्थामा मोबाइल बैंकिङ प्रयोगकर्ताहरु एक हजार ८०० नाघेको जानकारी दिए । माघ मसान्तसम्म बैंक ट्रान्सफरबाट तीन करोड ३८ लाख, वालेटबाट ७३ लाख र टपअपबाट २ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको समेत उनले जानकारी दिए ।
घरमै बसेर ऋण तिर्न सकिने
दोलखामै रहेको अर्को मिलीजुली कालिञ्चोक सहकारीले पनि सदस्यहरुको सेवालाई ध्यानमा राख्दै डिजिट वित्तीय सेवालाई प्राथमिकतामा राखेको छ । सदस्यहरुलाई थप सेवा प्रदान गर्न संस्थाले एटिएमका साथै मोबाइल बैंकिङ सेवा पनि प्रदान गर्दै आएको संस्थाका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले बताए ।
उनका अनुसार सदस्यहरुले आफ्नो बचत खातामा भएको रकमबाट ऋणको किस्ता र ब्याज भुक्तानी गर्ने सक्नेछन् । घरमै बसीबसी डिजिटल माध्ययमबाट आफ्नो खाताको सम्पूर्ण विवरण हेर्न मिल्नुका साथै इन्टरनेत, विद्युत शुल्क, प्लेन टिकट, बीमा लगायतका रेमिट्यान्सको समेत सुविधा लिन सकिने उनको भनाई छ ।
संस्थामा मोबाइल बैंकिङ प्रयोगकर्ताहरु ८०० रहेको उनले जानकारी दिए । यसका साथै उनले नयाँ प्रविधिहरुको खोेजी गरी संस्थामा प्रयोगमा ल्याई सदस्यहरुलाई अत्याधुनिक सेवा दिने योजना रहेको बताए ।
रेमिट्यान्सदेखि बीमाको प्रिमियम भुक्तानी
‘गुणस्तरीय सेवा सहितको दिगो प्रतिस्पर्धी र उत्कृष्ट वित्तीय सहकारी’ को परिकल्पना बोकेको एकीकृत एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारीले प्रविधिमार्फ सदस्यहरुलाई रेमिट्यान्सदेखि बीमाको प्रिमियम भुक्तानीसम्मको सेवा प्रदान गर्दै आएको छ ।
जिरीमा रहेको संस्थाले सदस्यहरुलाई विभिन्न रेमिट्यान्स सेवा –आईएमई, प्रभु मनी ट्रान्फर, हिमाल रेमिट, सिटी एक्सप्रेस, नेपाल रेमिट लगायतका विभिन्न कम्पनीसँग सम्झौता गरी देश तथा विदेशबाट भित्रिने रेमिट्यान्सलाई संस्थाको हरेक केन््रबाट सेवा प्रदान गर्दै आएको संस्थाका अध्यक्ष भूमिराज खड्काले बताए ।
यसका साथै उनले सदस्यहरुको कारोबार सहजताको लागि संस्थाको मोबाइल एप्स समृेत सञ्चालनमा ल्याएको जानकारी दिए । जसबाट साकोसमा रहेका सदस्यहरुले जुनसुकै खातामा निशुल्क रकमान्तर गर्न सकिनेछ ।
अध्यक्ष खड्काका अनुसार सदस्यहरुले सञ्चालनमा रहेका ३० भन्दा बढी बैंकबाट सहकारीको खातामा १० रुपैयाँ चार्ज तिरेर प्रतिदिन ३ लाख रुपैयाँसम्मको रकमान्तर गर्न सकिनेछ ।
यसका साथै सहकारीले सदस्यहरुलाई १५ वटा भन्दा बढी बीमा कम्पनीको प्रिमियम भुक्तानी, व्यक्तिको नाममा क्युआर कोडको सुविधा, विभिन्न सरकारी बिल भुक्तानी, शेयर कारोबारपछि ब्रोकरलाई तिर्ने भुक्तानी, आन्तरिक हवाई टिकट लगायत पठाओको समेत भुक्तानी गर्न सकिने सुविधा दिएको छ ।
Advertisment