Below Menu
Below Menu

डिजिटल भुक्तानीको बढ्दो आकर्षणले वित्तीय पारदर्शीता बढ्छः प्रवक्ता डा भट्ट 

डिजिटल भुक्तानीको बढ्दो आकर्षणले वित्तीय पारदर्शीता बढ्छः प्रवक्ता डा भट्ट 

काठमाडौं : कोरोना महामारी पश्चात नेपालमा डिजिटल कारोबार र भुक्तानीमा सर्वसाधारणको आकर्षण बढ्दो छ । प्रविधिको विकास सँगसँगै हरेक सर्वसाधारणले जानी नजानी भएपनि डिजिटल कारोबार मार्फत सर्वसाधारणहरु उन्मुख भएका छन् । 

अहिले काठमाडौं उपत्यका लगायत नेपालका मुख्य सहरहरूमा ठूला–ठूला सपिङ मलमा मात्र नभई चियापसलदेखि, तरकारी पसल लगायतका सामान्य खालमा पसलमा पनि डिजिटल कारोबार तथा भुक्तानीमा वृद्धि भइरहेको छ ।

अझ भनौं पछिल्लो समय क्युआरकोड अर्थात् (क्विक रेस्पोन्स पेमेन्ट) सेवा, कनेक्ट आइपिएस र मोवाइल वालेटमा पनि सर्वसाधारणको आकर्षण बढ्दै गएको छ ।

वित्तीय पारदर्शीता बढ्छ 

प्रविधिको बढ्दो प्रयोगले वित्तीय पारदर्शीता बढ्नुका साथै ट्रान्जेक्सन कष्ट पनि घट्ने गरेको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट बताउँछन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले डिजिटल कारोबारलाई बढाउन वित्तीय सारक्षरताका साथै साइबर सुरक्षाबारेमा पनि विभिन्न कार्यक्रमहरु गर्दै आएको बताए ।

बैंक तथा वित्तीय क्षेत्र, सहकारी र बीमा लगायतका क्षेत्रमा डिजिटलाइजेशनमा अझ अघि बढाउनका लागिपरेको बताउँदै उनले भने, ‘हाम्रो उद्देश्य ट्रान्जेक्सन कष्ट, घटाउनु, वित्तीय पहुँच बढाउनु र ट्रान्सपरेन्सी बढाउँदै जानु हो ।’

नेपालको वित्तीय क्षेत्रमा उदारीकरणको लागि पनि नयाँ नयाँ सिस्टम र प्रविधिमा अगाडी बढ्न आवश्यक रहेको उनको भनाई छ । डिजिटल भुक्तानी सुरक्षित र सष्म हुनुपर्ने उनको तर्क छ । यसका साथै उनले नेपालबाट बाह्य देशहरुमा हुने डिजिटल भुक्तानी पनि एकद्वार प्रणालीबाट हुनुपर्ने धारणा राख्दै, नेशनल पेमेन्ट स्वीचको व्यवस्था गरिहेको बताए ।   

एक महिनामै सवा आठ खर्बको कारोबार

नेपाल राष्ट्र बैंकको तथ्यांक हेर्ने हो भने एक महिनामै सवा आठ खर्बको डिजिटल कारोबार भएको पाइएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघ महिनाको तथ्यांक हेर्दा डिजिटल कारोबार र भुक्तानीमा उल्लेख्य वृद्धि भएको देखिएको हो ।

यस अवधिमा डिजिटल भुक्तानी मार्फत आठ खर्ब २३ अर्ब १२ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । उक्त कारोबार कनेट आइपिएस, इ– कर्मश, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट, क्यूआर पेमेन्ट, पोन्ट अफ सेल्स (पिएसओ) का प्रयोगकर्ताबाट भएको हो ।

उक्त रकम गत आवको सोही अवधिको तुलनामा ४९.१५ प्रतिशत अर्थात दुई खर्ब ७१ अर्ब २७ करोड ७ लाख रुपैयाँले बढी हो । गत आवको माघ मसान्तसम्म ५ खर्ब ५१ अर्ब ८५ करोड २ लाख रुपैयाँ बराबरको डिजिटल कारोबार भएको थियो । 

एक वर्षमा थपिए साढे ५१ लाख वाटेट प्रयोगकर्ता

राष्ट्र बैंकको तथ्यांक हेर्ने हो भने पनि एक वर्षमै मोबाइल वाटेट प्रयोगकर्ताहरु ५१ लाख ६९ हजारभन्दा बढीले बढेका छन् भने मोबाइल बैंकिङ प्रयोगकर्ताहरु ३४ लाख ६९ हजार भन्दाबढीले बढेका छन् ।

गत आवको माघको तुलनामा चालु आवको सोही अवधिमा मोबाइल वाटेट प्रयोगकर्ताहरुको संख्या ५१ लाख ६९ हजार १६ अर्थात ३२ प्रतिशतले बढेर दुई करोड १२ लाख ९५ हजार ४४९ पुगेको छ भने २३ अर्ब ८७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जबकी गत आवको सोही अवधिमा वालेट प्रयोगकर्ताहरु एक करोड ६१ लाख २६ हजार ४३३ रहेका थिए ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा डेबिट कार्ड प्रयोगकर्ता एक करोड २५ लाख २४ हजार १२१, क्रेडिट कार्ड प्रयोगकर्ता दुई लाख ८२ हजार ९४५, मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ३५ लाख ६ हजार २८, इन्टरनेट बैंकिङ प्रयोगकर्ता १८ लाख ३५ हजार ८४९ र कनेट आईपिएस प्रयोगकर्ता १२ लाख १४ हजार ६७८पुगेका छन् ।

कति भयो कारोबार ?

राष्ट्र बैंकका अनुसार चालु आवको माघ महिनामा कनेट आईपीएस मार्फत चार खर्ब ५२ अर्ब ७१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जबकी गत आवको सोही अवधिमा तीन खर्ब २८ अर्ब तीन करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । 

त्यस्तै, डेबिट कार्डमार्फत मंसिरमा ८९ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो भने क्रेडिट कार्डमार्फत एक अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । माघमा इन्टरनेट बैंकिङ मार्फत १३ अर्ब ७८ करोड रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी, गत आवको माघमा महिनामा मोबाइल बैंकिङ मार्फत एक खर्ब ६३ अर्ब २५ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा चालु आवको सोही अवधिमा २ खर्ब ८९ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

राष्ट्र बैंकका अनुसार माघमा क्यु्आर मार्फत ३७ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जबकी गत आवको सोही अवधिमा क्युआर मार्फत १७ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

त्यस्तै यस अवधिमा पोइन्ट अफ सेल्स पीओएस मार्फत चार अर्ब ९७ करोड र इ–कमर्सबाट ६५करोड एक लाख रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।  
 

Advertisment