काठमाडौं : ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले जलविद्युत उद्योगमा सरकारको समस्या जन्माउने उद्देश्य नभएको बताएका छन्।
सोमवार इप्पानले आयोजना गरेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया र दीर्घकालिन महत्व विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
उनले सरकारले केही गरेन भनेर बाहिर बहस र छलफल गर्ने भन्दा पनि एक आपसमा समन्वय गरी समाधानको बाटोमा जानु आजको आवश्यकता भएको बताए।
उनले जलविद्युतको विकासको लागि समस्या बल्झाउने र जन्माउने मात्रै नभएर समस्या बाँकी राख्ने उद्देश्य सरकारको नभएको दाबी गरे। उनले जलविद्युत क्षेत्रमा देखिएका नीतिगत,वन तथा वातावरण क्षेत्रमा देखिएका समस्या समेत समाधान गरेर लैजाने सरकारको योजना रहेको बताए। उनले सरकार र निजी क्षेत्र आरोप प्रत्यारोप भन्दा पनि आपसी समन्वय गरेर जाँदा मात्रै जलविद्युतको विकास हुने बताए।
उनले निजी क्षेत्र र राज्य निजी साझेदारीको बाटोमा जाँदा मात्रै मुलुकले समृद्धि हासिल गर्ने दाबी गरे । उनले मुलुकमा जलविद्युतको क्षेत्रबाट हेर्दा धेरै आशावादी हुने ठाउँ रहेको बताए। उनले पछिल्लो ८ वर्षमा २५ सय मेगावटा विद्युत उत्पादन भएको र अबको १२ वर्षमा २८ हजार विद्युत उत्पादन गर्ने गतिमा सरकार अघि बढेकाले निजी क्षेत्र निराश हुनुपर्ने अवस्था नभएको दाबी गरे । निजी क्षेत्र सरकारसँग आशावादी भएर समन्वय र सहकार्यमा अघि बढ्न आग्रह गरे ।
Advertisment