Below Menu
Below Menu

नयाँ वर्ष २०८१ लाई ‘नवीकरणीय ऊर्जा वर्ष’ घोषणा गर्न परिसंघको आग्रह 

नयाँ वर्ष २०८१ लाई ‘नवीकरणीय ऊर्जा वर्ष’ घोषणा गर्न परिसंघको आग्रह 

काठमाडौं : नेपाल नवीकरणीय ऊर्जा परिसंघले नयाँ वर्ष २०८१ लाई ‘नवीकरणीय ऊर्जा वर्ष’ घोषणा गरी नीति, योजना र कार्यक्रम तर्जुमा गर्न आग्रह गरेको छ ।

एक आपसमा सहयोग गर्न उपयुक्त वातावरण बनाउन सकेमा नेपालले आगामी दिनमा नवीकरणीय ऊर्जा क्षेत्रमा फड्को मार्न सक्ने जनाउँदै परिसंघले यस्तो आग्रह गरेको हो । 

त्यसैगरी निजी क्षेत्रले नवीकरणीय ऊर्जा प्रवद्र्धन र विकासमा वर्षौदेखि योगदान गर्दै आएको बताउँदै परिसंघले आगामी दिनमा अझ सहभागिमूलक बनाउन नीति, प्रविधि र आर्थिक क्षमता अभिवृद्धिका लागि सरकार र सम्वद्ध निकायको ध्यान केन्द्रित हुनुपर्ने बताएको छ । 

नयाँ वर्षको शुभकामनासहित परिसंघले व्यक्त गर्दै परिसंघले यस्तो जनाएको हो । विभिन्न विश्वस्तरका निकायबाट प्राप्त गर्न सकिने आर्थिक सहयोग र कम ब्याजदरको ऋण प्राप्त गर्न साथै कार्बन व्यापारबाट लाभ लिन सरकारले सम्बन्धित निकाय र निजी क्षेत्र पनि सहकार्य गर्नु आवश्यक रहेको परिसंघले जनाएको छ ।

नयाँ वर्षको अवसरमा नेपाल नवीकरणीय ऊर्जा परिसंघले नेपाल सरकार, अन्तर्राष्ट्रिय सहयोगी संस्था, दातृ निकाय, स्वदेशी तथा विदेशी प्राज्ञिक व्यक्तित्व, ऊर्जा उद्यमी, व्यवसायी, उपभोक्ता तथा सञ्चारकर्मीलगायत सम्बद्ध सबैमा नवीकरणीय ऊर्जा प्रविधिको उपयोग, विकास तथा विस्तारमा सफलताको कामना गरेको छ । 

पृथ्वीको तापक्रम बढिरहेकाले त्यसलाई नियन्त्रण गर्न मुख्यता खनिज इन्धनको खपत शून्यमा पु¥याउनु आवश्यक छ भन्ने विश्वव्यापी बुझाइ छ । यो कार्य नवीकरणीय ऊर्जा प्रविधिको प्रयोग, प्रवद्र्धन र विकासबाट मात्रै सम्भव छ भन्ने विश्वव्यापी मान्यता रहेको छ । विश्वस्तरका विभिन्न मञ्चमा यस सम्बन्धमा लामो समयदेखि छलफल, बहस चल्दै आएको छ ।

प्राविधिक तथा आर्थिक क्षमता वृद्धि गर्नका लागि धेरै खालका सिद्धान्त प्रतिपादनसमेत गरिएका छन् । खोज, अनुसन्धानको क्रम जारी छ । यस अभियानलाई सफल बनाउन विश्वस्तरमा विभिन्न अभिसन्धि एवम् सम्झौताहरू पनि गरिँदै आएको छ ।

विश्वका अधिकांश देशले प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । तीमध्ये सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा सम्पन्न अर्थ समिट, सन् १९९४ मा जापानको क्योटोमा सम्पन्न क्योटो सम्मेलन, सन् २०१५ मा फ्रान्सको पेरिसमा आयोजित कोप–१६, सन् २०२१ म बेलायतको ग्लासगोमा आयोजित कोप–२६ र सन् २०२३ मा संयुक्त अरब इमिरेटसमा आयोजित कोप–२८ विशेष रूपले उपलव्धिमूलक मानिएका छन् । 

सन् २०३० सम्म सबैलाई आधाभूत सुविधामा पहुँच पु¥याउने लक्ष्यसहितको दिगो विकास लक्ष्यलाई मानक मानिएको छ । जसमा प्रमुख सूचकमध्ये नवीकरणीय ऊर्जा पनि रहेको छ । त्यस्तै कोप–२८ मा खनिज इन्धनको प्रयोगलाई पुरै बन्द गर्नुपर्ने माग भए पनि क्रमैसँग घटाउने सहमति भएपछि नवीकरणीय ऊर्जाको महत्व र उपादेयता उजागर भएको छ ।

विश्वस्तरका विभिन्न संघसंस्था र निकायले नवीकरणीय ऊर्जा प्रविधिको थप प्रभावकारीका लागि अध्ययन, अनुसन्धान गर्न, प्राविधिक तथा आर्थिक सहयोग जुटाउने सहमति भएको छ । साथै सन् २०३० सम्म नवीकरणीय ऊर्जाको क्षमता तीन गुणा र ऊर्जा दक्षता दुई गुणा पु¥याएर जलवायु परिवर्तनको असर नियन्त्रण गर्नुपर्ने समझदारीलाई पनि अत्यन्तै उत्साहजनक मानिएको छ ।

प्रयोग गर्दा नसकिने बरु पुनः प्रयोग गर्न सकिने स्रोत परिचालन गरेर उत्पादित ऊर्जा नै नवीकरणीय ऊर्जा हो । नेपालको सन्दर्भमा खोला–नालामा बगिरहेको पानीबाट जलविद्युत्, सूर्यको किरणबाट सौर्य विद्युत् र सौर्य तापीय ऊर्जा, जैविक सामग्रीबाट जैविक ग्यासका साथै ब्रिकेट, पालेट नवीकरणीय ऊर्जा हुन् ।

त्यस्तै वायुको गतिलाई परिचालन गरी उत्पादन गरिएको ऊर्जा पनि नवीकरणीय ऊर्जा हो । वन, जंगल, रुख, बिरुवा, बुट्यानबाट प्राप्त हुने दाउरा, झारपात आदी स्रोत तथा उपभोक्तालाई कम हानी हुने तरिकाबाट परिचालन गर्नुलाई पनि नवीकरणीय ऊर्जा प्रविधि मानिएको छ । 

नवीकरणीय ऊर्जाका फाइदामा स्वास्थ्यमा अनुकुल असर (घरभित्रको धूँवा नियन्त्रण हुने), दाउरा खपत न्यूनीकरण वा शून्यकरण (वन जंगल संरक्षण हुने), घरधन्दाको समय न्यूनीकरण (आय आर्जनका लागि अवसर हुने), उज्यालो र पुग्दो प्रकाश (साँझ, राति पनि पढाई, लेखाई र काम गर्न सकिने), प्राकृतिक स्रोतको परिचालन (आयात गर्नुपर्ने खनिज इन्धनको प्रयोग न्यूनीकरण ) आदी हुन् । 

नेपालमा जलविद्युत्, लघु जलविद्युत्, सौर्य विद्युत्, सौर्य तापीय, बायोग्यास, बायोमास, वायु ऊर्जा जस्ता नवीकरणीय ऊर्जाका प्रविधि परिचालित छन् 

नेपालले जिम्मेवार सदस्य राष्ट्रको हैसियतले विश्वस्तरीय अभिसन्धि तथा विभिन्न समझादारीमा ऐक्यबद्धता जनाएको छ । वि.सं. २०७५ को वैशाखमा नेपाल सरकारबाट जारी गरिएको श्वेतपत्र, राष्ट्रिय आवधिक योजनाहरु तथा राष्ट्रिय प्रतिवद्धताले पनि यसलाई नेपालले प्राथमिकतामा  राखेको स्पष्ट छ ।

ऊर्जा श्वेतपत्रमा नवीकरणीय ऊर्जा दशक २०७५–२०८५, हरेक घरः ऊर्जा घर, हरेक बस्तीः ऊर्जा बस्ती, सबैका लागि स्वच्छ भान्छा जस्ता महत्वाकांक्षी लक्ष्य समावेश गरिएको छ । 

यसैगरी खाना पकाउन विद्युतीय उपकरण, यातायातका साधन विद्युतीय ऊर्जाबाट चल्ने र उद्योग धन्दाका लागि बिजुलीमा पनि जोड दिएर नीति कार्यक्रम र योजना समावेश गरिँदै आएको छ ।

नवीकरणीय ऊर्जा प्रविधिलाई सर्वत्र स्वीकार गरिसकेको सन्दर्भमा जलविद्युत्बाहेक सौर्य विद्युत्, बायोग्यास, बायोमास र वायु ऊर्जालाई पनि ऊर्जा सुरक्षा तथा ऊर्जा मिश्रणको अवधारणासँग जोडेर सँगै बढिभन्दा बढी उपयोगमा ल्याउन आवश्यक छ ।

यस सम्बन्धमा विभिन्न तहमा छलफल, बहस तथा सहमति पनि भएका छन् । साथै विभिन्न प्रकारका कार्यक्रम र योजना पनि ल्याइएको छ । तर, कार्यान्वयन पक्ष फितलो हुँदा अपेक्षाकृत सफलता प्राप्त हुन सकिरहेको छैन ।

नवीकरणीय ऊर्जा प्रविधि प्रवद्र्धन र विकासका लागि आवश्यक नीति, योजना कार्यान्वयनमा सहजीकरण, नवीन प्रविधिको विकास र आर्थिक क्षमता विस्तार आवश्यक रहेको परिसंघको ठहर छ ।

Advertisment

थप समाचार