Below Menu

बाजेको सेकुवाले गर्यो एकै वर्षमा साढे ४५ करोडको व्यापार, नयाँ आउटलेट ल्याउँदै 

बाजेको सेकुवाले गर्यो एकै वर्षमा साढे ४५ करोडको व्यापार, नयाँ आउटलेट ल्याउँदै 

काठमाडौं : नेपाली मौलिक परिकार ‘सेकुवा’ लाई ब्रान्डका रूपमा स्थापित गर्दै आएको बाजेको सेकुवा लिमिटेडले एक वर्षमा साढे ४५ करोडको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२६ को अपरिष्कृत विवरण अनुुसार ४५ करोड ५० लाख रुपैयाँको व्यापार गरेको हो । जुन अघिल्लो वर्षको तुलनामा १४.६० प्रतिशतले बढी हो । 

कम्पनीले सन् २०२५ मा  ३९ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो भने सन् २०२४ मा ३३ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । बाजेको सेकुवाले पछिल्ला वर्षमा आफ्नो व्यवसाय उल्लेख्य रूपमा बढाएको छ । कम्पनीको सञ्चालन आम्दानी सन् २०२२ देखि २०२६ सम्म करिब २६ प्रतिशतको वार्षिक वृद्धिदरले बढेको छ ।

व्यापार बढेसँगै कम्पनीको सञ्चालन नाफा मार्जिनमा पनि वृद्धि देखिएको छ । सन् २०२६ मा कम्पनीको यस्तो मार्जिन १७.९५ प्रतिशत पुगेको छ । जुन सन् २०२५ मा १६.६७ प्रतिशत र सन् २०२४ मा १३.७२ प्रतिशत थियो । 

हाल बाजेको सेकुवाका कुल २६ वटा आउटलेट सञ्चालनमा छन् । जसमध्ये २० वटा फ्रेन्चाइज र ६ वटा कम्पनीको स्वामित्वमा रहेका आउटलेट छन् । कुल आउटलेटमध्ये करिब ७७ प्रतिशत फ्रेन्चाइज मोडलमा र २३ प्रतिशत कम्पनीको प्रत्यक्ष स्वामित्वमा छन् । 

विदेशमा रहेका सबै ६ वटा आउटलेट फ्रेन्चाइज मोडलमा सञ्चालन भइरहेका छन्।   कम्पनीले आफ्नै व्यवसाय विस्तारसँगै खाद्य प्रशोधन, वितरण तथा आतिथ्य क्षेत्रसँग सम्बन्धित सहायक व्यवसायमा समेत लगानी बढाउँदै लगेको छ । सन् २०२५ मा ५ करोड ३० लाख रुपैयाँ रहेको कुल लगानी सन् २०२६ मा बढेर ९ करोड ४० लाख रुपैयाँ पुगेको छ ।  

बाजेको सेकुवाको वित्तीय संरचना पनि पछिल्लो समय बलियो बनेको देखिएको छ । सन् २०२५ मा ०.३४ गुणा रहेको कम्पनीको समग्र गेयरिङ २०२६ मा घटेर ०.२२ गुणा भएको छ । कम्पनीको नेटवर्थमा पूँजी थपिनु तथा कुल ऋण घट्नुले यस्तो सुधारमा योगदान गरेको हो । 

त्यस्तै, कम्पनीको ब्याज भुक्तानी क्षमता पनि सुधारिएको छ । सन् २०२५ मा ६.७३ गुणा रहेको ब्याज कभरेज अनुपात सन् २०२६ मा बढेर ७.०९ गुणा पुगेको छ । कुल ऋण तथा ग्रस क्यास एक्रुअल्सको अनुपातसमेत सन् २०२५ को ४.२८ गुणाबाट घटेर सन् २०२६ मा २.९१ गुणा भएको छ ।

करिब चार दशकदेखि सञ्चालनमा रहेको बाजेको सेकुवा नेपालमा मौलिक नेपाली बार्बेक्यु तथा सेकुवा परिकारका लागि स्थापित ब्रान्डका रूपमा परिचित छ । कम्पनीले हाल २०० भन्दा बढी परिकार समेटिएको मेनु सञ्चालन गर्दै आएको छ ।

कम्पनीको नेतृत्व अध्यक्ष चेतन भण्डारीले गरेका छन् । उनी बाजेको सेकुवासँगै अटोमोबाइल, रिटेल, सूचना प्रविधि तथा रियल इस्टेटलगायतका क्षेत्रमा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। कम्पनीकी प्रबन्ध निर्देशक नितिमा भण्डारी रहेकी छिन् । 

सन् २०२७-२०२८ मा कम्पनीले थप आउटलेट विस्तार गर्ने योजना बनाएको छ । कम्पनीले मुख्यतः इक्विटी तथा आन्तरिक स्रोतबाटै आउटलेट विस्तार गर्न लागेको हो ।