काठमाडौं : खराब कर्जाको सिकारले बैंकहरुको नाफा प्रभावित भइरहेका बेला यता सरकारी राजस्व समेत केही गुम्न पुगेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकहरुको नाफा घटेसँगै यता आयकर भुक्तानी समेत घट्न पुगेको हो ।
चैत मसान्तसम्म ४६ अर्ब ४९ करोड रुपैयाँ हाराहारी नाफा कमाएका बैंकहरुले यता साढे १२ अर्ब रुपैयाँ आयकर बुझाएका छन् । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंक र १५ विकास बैंकले यस अवधिमा आम्दानी वापतको १२ अर्ब ६६ करोड ६७ लाख ८२ हजार रुपैयाँ सरकारलाई बुझाएका हुन् । उक्त रकम गत आवको सोही अवधिको तुलनामा तीन अर्ब ५८ करोड १६ लाख अर्थात २२.०४ प्रतिशतले कमी हो ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले सरकारलाई आयकर वापत कूल १६ अर्ब २४ करोड ८४ लाख ४० हजार रुपैयाँ बुझाएका थिए ।
गत आर्थिक वर्ष २०७९/८० को चैत मसान्तसम्म ५० अर्ब ६२ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएका बैंकहरुको नाफा यो वर्ष ८ प्रतिशत माथिले घट्न पुगेको छ ।
वाणिज्य बैंकहरुले तिर्ने आयकर २६.२२ प्रतिशतले घट्यो
चालु आर्थिक वर्षको चैत मसान्तसम्म वाणिज्य बैंकहरुले आयकर वापत सरकारलाई १० अर्ब ८२ करोड ५८ लाख ३८ हजार रुपैयाँ कर बुझाएका छन् । कर बापतको यो रकम गत आवको सोही अवधिको तुलनामा २६.२२ प्रतिशतले कम हो ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुले आयकर वापत सरकारलाई १४ अर्ब ६७ करोड ४७ लाख रुपैयाँ बुझाएका थिए ।
यस अवधिमा सबैभन्दा धेरै आयकर तिर्नेमा नबिल बैंक शीर्ष स्थानमा रहेको छ । बैंकले चैत मसान्तसम्म सरकारलाई आम्दानी वापतको एक अर्ब ९६ करोड ६५ लाख रुपैयाँ कर बुझाएको छ ।
यसैगरी सरकारी स्वमित्वको बैंक राष्ट्रिय वाणिज्य बैंकले समीक्षा अवधिमा सरकारलाई १ अर्ब १ करोड ७७ लाख रुपैयाँ आयकर बुझाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३३.६० प्रतिशतले कम हो ।
अघिल्लो आर्थिक वर्षको ९ महिनामा ७६ करोड २३ लाख ५८ हजार रुपैयाँ आयकर बुझाएको हिमालयन बैंकले यस अवधिमा ९७.१८ प्रतिशत बढी अर्थात १ अर्ब ५० करोड ३२ लाख ३४ हजार रुपैयाँ आयकर बुझाएको छ ।
यता चैत मसान्तसम्म नाफा घटेको ग्लोबल आईएमई बैंकले तिर्ने आयकर पनि २६.२९ प्रतिशतले घटेको छ । गत वर्षको चैत मसान्तसम्म एक अर्ब ७९ करोेड ४५ लाख रुपैयाँ कर बुझाएको बैंकले चालु आवको यस अवधिमा १ अर्ब ३२ करोड २७ लाख ६५ हजार रुपैयाँ मात्र बुझाएको छ ।
यस अवधिमा एनआईसी एशिया बैंकले तिर्ने आयकरमा पनि कमी आएको छ । चालु आवको चैत मसान्तसम्म बैैंकले आयकर वापत सरकारलाई ७० करोड ८५ लाख ४ हजार रुपैयाँ बुझाएको छ । अघिल्लो वर्षको यसै अवधिमा एनआईसी एसिया बैंकले १ अर्ब ७२ करोड ६ लाख ८१ हजार रुपैयाँ आयकर बुझाएको थियो ।
कुमारी बैंकको आयकरमा आकर्षक वृद्धि
समीक्षा अवधिमा यता कुमारी बैंकको आयकरमा भने उल्लेख्य वृद्धि आएको छ । अघिल्लो आर्थिक वर्षको चैत मसान्तसम्म बैंकले गरेको आर्थिक कारोबारबाट ५५ करोड ७८ लाख रुपैयाँ आयकर तिरेकोमा यो वर्षको सोही अवधिमा बैंकले ६६ करोड बढी कर तिरेको हो ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्म कुमारी बैंकले १ अर्ब २२ करोड ४६ लाख रुपैयाँ आयकर बुझाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ११९.५३ प्रतिशतले बढी हो ।
विकास बैंकले तिरे १ अर्ब ८४ करोड आयकर
हाल सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरुले चालु आर्थिक वर्षको चैत मसान्तसम्म १ अर्ब ८४ करोड बढी रुपैयाँ आयकर बुझाएका छन् । गत आर्थिक वर्षको तुलनामा यो १६.९८ प्रतिशतको वृद्धि हो ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्म राष्ट्रिय स्तरका ८ वटा विकास बैंकहरुले ३ अर्ब ५३ करोड ८८ लाख रुपैंया नाफा आर्जन गरेका छन् । यो नाफा गत वर्षको चैतसम्मको तुलनामा २.०६ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकले ३ अर्ब ६१ करोड ३२ लाख रुपैंया भन्दा बढी नाफा कमाएका थिए । यस अवधिमा अन्य बैंकहरुको नाफा पनि घटेको छ ।
तेस्रो त्रैमाससम्मको नाफाबाट भएको आम्दानीबाट विकास बैंकहरुले सरकारलाई १ अर्ब ८४ करोड ९ लाख ४४ हजार रुपैयाँ आयकर बुझाएका छन् । जबकी अघिल्लो आर्थिक वर्षको यसै अवधिमा विकास बैंकहरुले १ अर्ब ५७ करोड ३६ लाख ७४ हजार रुपैयाँ आयकर बुझाएका थिए ।
यस अवधिमा सबैभन्दा बढी आयकर तिर्नेमा मुक्तिनाथ विकास बैंक रहेको छ । गत वर्षको सोही अवधिमा ३४ करोड ५५ लाख रुपैयाँ आयकर तिरेको बैकले चालु आवको चैत मसान्तसम्म ३७ करोड ३६ लाख ३९ हजार रुपैयाँ कर तिरेको छ ।
त्यसैगरी, यस अवधिमा गरिमा विकास बैकले २९ करोड २९ हजार, कामना सेवा विकास बैंकले १८ करोड ८७ लाख ३५ हजार, सांग्रिला डेभलपमेन्टले ११ करोड ५४ लाख र महालक्ष्मी विकास बैंकले १६ करोड रुपैयाँ आयकर तिरेका छन् । उक्त बैंकहरुले तिर्ने आयकर गत वर्षको तुलनामा केही घटेको हो ।
तुलनात्मक रुपमा यो वर्ष आयकर बढी तिर्नेमा मितेरी डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा बैंक, गरिमा विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र शाइन रेसुङगा डेभलपमेन्ट बैंक रहेका छन् ।
यस्तै यता कम आयकर तिर्नेको सूचिमा शीर्ष स्थानमा ज्योति विकास बैंक (२०.९१ प्रतिशतले कम) रहेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकले तिर्ने आयकरमा ३३.०८ प्रतिशतले र महालक्ष्मी विकास बैंकको १.४२ प्रतिशतले घटेको छ ।
त्यस्तै, एक्सेल डेभलपमेन्ट बैैंक, सिन्धु विकास बैंक, सप्तकोशी र नारायणी डेभलपमेन्ट बैंकले यस अवधिमा सरकारलाई कर बुझाएका छैनन् ।
Sponsored Advertisment