Below Menu
Below Menu

लगानी सम्मेलनमा एक सय ४८ वटा परियोजना सोकेसमा राखिने

लगानी सम्मेलनमा एक सय ४८ वटा परियोजना सोकेसमा राखिने

काठमाडौँ : आज बसेको लगानी बोर्डको ५८औँ बैठकले तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने, सोकेस गरिने र सम्भावित बजार खोजिने (मार्केट साउन्डिङ) परियोजनाको सूची स्वीकृत गरेको छ । सम्मेलनमा सरकारी र निजीसमेत गरी कूल एक सय ४८ वटा परियोजना सोकेसमा राखिनेछन् ।

आजको बैठकले दुई वटा परियोजनामा लगानी थप गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए। ह्वासिन नारायणी सिमेन्ट परियोजनाको लागि छ अर्ब ६३ करोड ४० लाख बराबर थप लगानी स्वीकृत भएको छ । डाबर नेपाल प्रालिको लगानी सम्झौताको मस्यौदा तयार गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको छ । 

डाबर नेपालले क्षमता विस्तार तथा उत्पादन विविधिकरणका लागि रु नौ अर्ब ६८ करोड पुनर्लगानीका लागि प्रस्ताव गरेको छ । उक्त परियोजनाको विस्तृत परियोजना प्रतिवेदन प्राप्त भई बोर्डको मूल्याङ्कन पश्चात् वार्ता प्रक्रिया अगाडि बढाइएको हो ।

बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगानी सम्मेलनलाई औपचारिकतामा मात्र सीमित नबनाई  बढीभन्दा बढी नतिजामुखी बनाउन निर्देशन दिनुभयो । स्वदेशी, विदेशी तथा निजी क्षेत्रबाट हुने स्वपूँजी तथा ऋण परिचालनलाई सहजीकण गर्न मन्त्रालयले विशेष एकाइ बनाएर अघि बढ्न प्रधानमन्त्री दाहालले निर्देशन दिए।

सार्वजनिक र निजी क्षेत्रको साझेदारीबाट मात्र मुलुकको समृद्धि हासिल हुने बताउनुहुँदै प्रधानमन्त्री दाहालले निजी क्षेत्रलाई सुविधा दिन पुरातन सोच र पुरातन नीतिगत तथा कानुनी व्यवस्थाबाट सम्भव नरहेकाले सरकारले लगानीका अवरोध हटाउन कानुन संशोधनको कार्य अघि बढाएको बताए।

बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अघिल्लो बोर्ड बैठकको निर्णय कार्यान्वयनको अवस्था र तेस्रो लगानी सम्मेलनको तयारीको सम्पूर्ण पक्षको विषयमा जानकारी गराउनुभएको थियो । लगानी सम्मेलन यही वैशाख १६ र १७ मा हुँदैछ ।

Advertisment

थप समाचार