काठमाडौं : चुलिँदो व्यापार घाटाबीच सिमेन्ट र क्लिङ्करको बढ्दो निर्यातले आशा जगाएको छ । मुलुकबाट अधिकांश वस्तुको निर्यात घटिरहेका बेला सिमेन्टको निर्यात भने बढेको हो ।
चालु आवको एघार महिनामा मुलुकले १३ खर्ब बढीको व्यापार घाटा व्यहोरेको छ । यस अवधिमा १५ खर्ब ९२ अर्ब ९६ करोडको वैदेशिक व्यापारमा नेपालले १३ अर्ब १४ अर्ब ४४ करोडको व्यापार घाटा व्यहोरेको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म कुल निर्यात तीन प्रतिशत बढीले घटेका बेला सिमेन्टको निर्यात भने हवात्तै बढेको छ ।
विभागका अनुसार एघार महिनामा साढे तीन अर्बको सिमेन्ट र क्लिङकर निर्यात भएको छ । यस अवधिमा नेपालबाट ३ अर्ब ६५ करोड ७१ लाख रुपैयाँ बराबरको २६ लाख ४४ हजार ५१० टन सिमेन्ट निर्यात भएको हो ।
सिमेन्ट निर्यातको मूख्य बजार छिमेकी मुलुक भारत रहेको छ । गत वर्षको तुलनामा सिमेन्टको निर्यात ३.९० गुणाले बढेको हो । गत वर्ष नेपालले ६७ करोड ७६ लाख ५३ हजार रुपैयाँ बराबरको ८ लाख ९३ हजार १२१ टन सिमेन्ट निर्यात गरेको थियो ।
नेपालले अघिल्लो वर्षको असारदेखि सिमेन्ट निर्यात थालनी गरेको थियो । नेपालबाट आधिकारिक रूपमा पहिलो पटक २०७९ असार २४ गते तानसेन सिमेन्ट भारत निर्यात भएको थियो ।
हाल कुल निर्यातमा सिमेन्टको हिस्सा २.६२ प्रतिशत पुगेको छ । निर्यात सुरु भएको छोटो अवधिमा नै उल्लेख्य वृद्धि भएको हो । सिमेन्ट निर्यातमा सरकारले लिएको नीतिले पनि निकासीमा थप टेवा पुगेको देखिन्छ ।
सरकारले स्वदेशी वस्तु निर्यातलाई प्रोत्साहन गरेपछि भारतीय सीमावर्ती क्षेत्रमा सिमेन्ट र क्लिङ्कर निर्यात बढ्न थालेको हो । तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले आव २०७९/८० को बजेटमार्फत सिमेन्ट निर्यातमा आठ प्रतिशत नगद अनुदानको व्यवस्था गरेका थिए ।
नेपालबाट सिमेन्ट तथा क्लिङ्कर भारतमा निर्यात भइरहेको छ । हाल पाल्पा, अर्घाखाँची, सर्वोत्तम, सिजी, बालाजी, बाहुबली र सृष्टि ब्रान्डका नेपाली सिमेन्ट बेहलिया, भैरहवा, नेपालगन्ज नाकाबाट बढी मात्रामा भारतीय बजारमा बिक्री भइरहेका छन् ।
नेपाली सिमेन्टको मुख्य बजार छिमेकी मुलुक भारत हो । उद्योगहरूले हाल भारतीय बजारमा सिमेन्ट निर्यात गर्दै आएका छन् । मन्दीका कारण अहिले नेपालमा निर्माण क्षेत्रको काम सुस्ताएको छ ।
विकास निर्माणका कार्यहरु बढ्न नसक्दा आन्तरिक खपत भने कमी आएको छ । बजारमा सिमेन्ट, डन्डी, गिट्टी, बालुवा जस्ता निर्माण सामाग्रीको मागमा कमी आए पनि निर्यातको आँकडा भने निरन्तर बढेको छ ।
नेपाल सिमेन्ट उद्योग संघका अनुसार नेपालमा ६० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन् । तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिङ्कर दुवै उत्पादन गर्दै आएका छन् । क्षमता अनुसार चल्न नसक्दा १५ देखि २० सिमेन्ट उद्योग बन्द रहेको र अन्य उद्योगहरू पनि बन्द हुने अवस्थामा रहेको व्यवसायीको भनाइ छ ।

Advertisment