काठमाडौं : नेपाली वनस्पति घ्यू तथा तेल उद्योगहरूले लामो समयदेखि उठाउँदै आएको माग सम्बोधन भएको छ। भारतका प्रधानमन्त्रीसँगको उच्चस्तरीय छलफल तथा हालै सम्पन्न प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा गुजरातस्थित काण्डला बन्दरगाहबाट समेत नेपालका प्रशोधित खाद्य तेल उद्योगका लागि आवश्यक प्रमुख कच्चा पदार्थ क्रुड सनफ्लावर आयल र क्रुड सोयाबिन आयल आयात गर्न पाउने व्यवस्था मिलाइएको छ।
यस व्यवस्थाको नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले स्वागत गर्दै यसलाई नेपाली उद्योग क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। यसअघि नेपाली उद्योगहरू भारतका वजवज, कलकत्ता र हल्दिया बन्दरगाहमा मात्र निर्भर रहनुपर्ने अवस्था थियो।
सीमित आयात मार्गका कारण उद्योगहरूले ढुवानी खर्च, समय तथा समग्र आयात लागतमा विभिन्न कठिनाइ भोग्दै आएका थिए। उक्त समस्या समाधानका लागि संघका अध्यक्ष विकास दुगडसहितको प्रतिनिधिमण्डलले विभिन्न समयमा नेपाल सरकारका सम्बन्धित निकायसमक्ष बन्दरगाहसम्बन्धी समस्या समाधानका लागि पहल गर्दै आएको थियो।
काण्डला बन्दरगाहबाट समेत कच्चा खाद्य तेल आयात गर्न पाउने नयाँ व्यवस्थाले नेपाली उद्योगहरूलाई थप वैकल्पिक आयात मार्ग उपलब्ध गराउनेछ। यसबाट ढुवानी लागत न्यूनीकरण, कच्चा पदार्थको आपूर्ति सहजता तथा उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा सकारात्मक योगदान पुग्ने संघको विश्वास छ।
यस महत्वपूर्ण उपलब्धिका लागि भारतसँगको उच्चस्तरीय वार्तामा नेपाली उद्योगहरूको मागलाई प्राथमिकताका साथ उठाउँदै समाधानको मार्ग प्रशस्त गरेकोमा संघले सम्माननीय प्रधानमन्त्रीप्रति हार्दिक आभार तथा विशेष धन्यवाद व्यक्त गरेको छ।
साथै, यस पहललाई सफल बनाउन सहयोग पुर्याउने नेपाल सरकारका सम्बन्धित निकाय, निजी क्षेत्रका प्रतिनिधि तथा सम्पूर्ण सरोकारवालाहरूप्रति पनि संघले धन्यवाद ज्ञापन गरेको छ।
संघले आगामी दिनमा सरकार र निजी क्षेत्रबीचको सहकार्य, समन्वय र संवादलाई थप प्रभावकारी बनाउँदै नेपाली उद्योगहरूको विकास, विस्तार र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि यस्ता सकारात्मक पहलले निरन्तरता पाउने अपेक्षा गरेको छ।