भक्तपुर : भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को संस्थागत विकास उपसमितिको आयोजनामा केभी लन्च, कमलविनायक भक्तपुरमा दुई दिवसिय नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) तालिम सम्पन्न भएको छ ।
संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारी ऐन २०७४ मा नै प्रचलित कानून बमोजिमको मापदण्ड पालना गर्नुपर्ने व्यवस्था भएकोले पचास करोड भन्दा बढी निक्षेप संकलन गर्ने संस्थाले अनिवार्य एनएफआरएस बमोजिमको ढाँचामा लेखापरिक्षण गराउनुपर्ने बताए ।
उनले वित्तीय कारोबार थप यथार्थपरक र अझ बढी स्पष्ट पार्न अन्तराष्ट्रियस्तरको प्रतिवेदन ढाँचा एनएफआरएसले गर्ने भएकोले संस्थाको जोखिमलाई न्यूनिकरण गरी दीगो सहकारी संस्था विकासमा समेत टेवा पुग्ने बताए ।
संघको उपसमितिका सदस्य विकुलाल सुवालले एनएफआरएसमा प्रतिवेदन बनाउने काम व्यवस्थापनको भएकोले व्यवस्थापनलाई दक्षता अभिबृद्धि गर्न तालिमका आयोजना गरेको बताए ।
उनले संस्थाका व्यवस्थापन प्रमुख र लेखा प्रमुखलाई आफ्नो संस्थाको लेखापरिक्षण प्रतिवेदनलाई एनएफआरएस ढाँचामा परिवर्तन गर्न सकोस् भनी दुईदिनको प्रयोगात्मक तालिम संचालन गरेको बताए ।
संघका व्यवस्थापक बालकृष्ण धोजुले तालिमलाई व्यवहारिक बनाउन नमूना वित्तिय प्रतिवेदनमा दुई दिन प्रयोगात्मक सिकाई गरी संघ संस्थाले आफ्नो वित्तीय विवरण आफै एनएफआरएसमा ढाँचामा परिणत गरी पुन एक दिन सो परिवर्तन गरेका प्रतिवेदनका बारेमा प्रशिक्षण हुने बताए ।
साथै सिकेकुराहरु कार्यरत संस्थामा व्यवहारिक प्रयोग गर्नुको साथै अरुलाई पनि सिकाई हस्तान्तरण गर्नुपर्ने विचार राखे ।
तालिमका सहजकर्ता आर बराल एण्ड एसोसिएट्सका संजन श्रेष्ठ, सरोज शर्मा र एच पहाडी एण्ड एसोसिएट्सका सि.ए.हुकुम पहाडीले एनएफआरएस ढाँचाको सहजिकरण गर्दै एनएफआरएसको ढाँचा विनाको लेखापरिक्षण प्रतिवेदन र एनएफआरएस अनुसारको लेखापरिक्षणमा हुने भिन्नता अन्र्तगत हुने स्थिर सम्पत्तिलाई पहिचान गर्ने विधि तथा ह्रास प्रक्रिया, लगानी सम्पत्ती, पट्टा तथा भाडा, सहुलियत दरमा प्रदान गरिएको कर्जा, कर्जा सम्बन्धी आम्दानी, कर्मचारी सुविधा, स्थागन लगाएतको विषयमा प्रयोगात्माक प्रशिक्षण दिए ।
तालिमको समापन समारोह संचालन संघका वित्त तथा प्रशासन अधिकृत कृष्णश्वरी ह्यौमिंखाले गरे । तालिममा सहभागीहरुले धेरै कुराहरु सिक्न पाएकोमा खुशि व्यक्त गर्दै तालिमबाट एनएफआरएस ढाँचामा प्रतिवेदन परिवर्तन गर्ने बारे प्रायोगात्मक ज्ञान हासिल भएको बताए ।
तालिममा संघ र संघमा आबद्ध सदस्य संस्थाका व्यवस्थापक, लेखाअधिकृत गरी २० जनाको सहभागिता रहेको थियो ।
Advertisment