काठमाडौं : आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा संस्थाले १४ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३६.४७ प्रतिशतले बढी हो । अघिल्लो आवको असार मसान्तसम्म लघुवित्तले १० करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण खुद नाफा बढ्न पुगेको हो ।
असार मसान्तसम्म आइपुग्दा लघुवित्तको खुद ब्याज आम्दानी १५.२२ प्रतिशतले घटेर २४ करोड ४७ लाख रुपैयाँमा झरेको छ भने र खुद फि तथा कमिशन आम्दानी ४७.९४ प्रतिशत घटेको छ ।
त्यस्तै यस अवधिमा संस्थाको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १७.०६ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३५.१२ प्रतिशत बढेको छ ।
अघिल्लो वर्ष १० करोड ७३ लाख रुपैयाँ रहेको संस्थाको इम्पेरमेन्ट चार्ज गत आवमा ६५ लाख रिभर्स भएको छ । जसले गर्दा लघुवित्तको सञ्चालन मुनाफा र खुद नाफा बढ्न पुगेको हो ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । चौथो त्रैमाससम्म आइपुग्दा लघुवित्तको यस्तो आम्दानी ३ रुपैयाँ १७ पैसा बढेर १५ रुपैयाँ ५३ पैसा पुगेको छ । त्यस्तै संस्थाको मूल्य आम्दानी अनुपात ४४.५६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ५० पैसा रहेको छ ।
असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ६ करोड ७६ लाख रुपैयाँ रहेको छ । यस अवधिमा लघुवित्तको चुक्ता पूँजी ८.६० प्रतिशत बढेर ९४ करोड ४३ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष १५.४७ प्रतिशत बढेको छ ।
Advertisment