काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदैछन्। प्रतिनिधिसभामा विद्यमान रहेका २ सय ७५ मध्ये प्रधानमन्त्रीको ओलीको पक्षमा दुई तिहाइ मत प्राप्त हुने निश्चित जस्तै भएको छ।
प्रतिनिधिसभामा नेपाली कांग्रेसको ८८ र एमाले ७९ सिट छ। जसमा एमालेका एक जना सभामुख र एक जना निलम्बित छन्। कांग्रेस र एमालेको गरी १ सय ६५ मत हुन्छ। दुई तिहाइका लागि १८४ मत आवश्यक हुन्छ ।
त्यस्तै, सरकारमा सहभागी दलहरु जनता समाजवादी पार्टीको ७ र लोसपाको ४ सिट छ। जसपा र लोसपा गरेर १ सय ७४ पुग्दछ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र जनमत पार्टीले पनि विश्वासको मत दिने निर्णय गरिसकेको छ । जसपा नेपालको ५ र जनमतको ६ सिट छ। जसपा नेपाल र जनमत पार्टीको समेत गर्दा १ सय ८४ मत हुन आउँछ । यसरी ओलीले दुई तिहाइ मत पाउने निश्चित भएको छ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको विपक्षमा मत हालेको राप्रपाले भने अहिलेसम्म निर्णय गरिसकेको छैन। प्रतिनिधिसभामा राप्रपाको १४ सिट छ। त्यस्तै नागरिक उन्मुक्ति पार्टीको ४, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र नेमकिपाको १’१ सिट छ । त्यस्तै २ स्वतन्त्र सांसद छन्।
Advertisment