Below Menu
Below Menu

इभि गाडीको आयात तीन गुणाले बढ्यो, एक वर्षमा भित्रिए ११ हजार ७०० गाडी 

इभि गाडीको आयात तीन गुणाले बढ्यो, एक वर्षमा भित्रिए ११ हजार ७०० गाडी 

काठमाडौं : गत आर्थिक वर्ष २०८०/८१ मा  विद्युतीय गाडीको आयात ह्वात्तै बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार एक वर्षमा ११ हजार ७०० वटा विद्युतीय गाडी (जीप, कार र भ्यान) आयात भएको छ । यो संख्या हालसम्मकै उच्च हो ।

यस अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब तीन गुणा बढी आयात भएको छ । आव २०७९/८० मा ४ हजार ५० वटा इभी गाडी नेपाल भित्रिएका थिए । 

त्यसो त सरकारले बजेट मार्फत इभी गाडीमा कर बढाउने पूर्व सूचनाको आधारमा व्यापारीहरुले बजेट अघि नै ३ हजार बढी गाडी आयात भएको थियो । विद्युतीय गाडीको आयात बढ्दा व्यापार घाटा चुलिएकाे छ भने र राजस्वमा सङ्कुचन  आएकाे छ ।  

विभागका अनुसार यस अवधिमा इभी गाडीको आयात गर्दा २९ अर्ब ४७ करोड ४३ हजार रकम रुपैयाँ बाहिरिएको छ भने आयातित गाडीबाट १३ अर्ब २६ करोड ७ लाख ३३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । पेट्रोलियम गाडी आयात हुँदा सरकारलाई तीन गुणासम्म राजस्व उठ्ने थियो ।

तर, सरकारले विद्युतीय गाडीको प्रोत्साहनका लागि भन्दै भन्सार तथा अन्तःशुल्कमा २०० प्रतिशतसम्म छुट दिएको छ । जसका कारण अटोमाेबाइल बजार ईभी  (विद्युतीय) सवारीतर्फ आकर्षित हुँदा राजस्वको ठुलो हिस्सा गुम्न पुगेको छ ।

विभागका अनुसार नेपालले असारमा मात्रै २३४ वटा गाडी आयात भएको छ । त्यस्तै साउनमा ११० वटा गाडी आयात गरेको थियो भने भदौमा ७८८ वटा र असोजमा १२ सय ३७ वटा इभि गाडी आयात भएको थियो । 

विभागको तथ्यांक अनुसार गत वर्षको कार्तिकमा ६५२ वटा, मंसिरमा ८९९ वटा, पुसमा १४ सय १२ वटा, माघमा १ हजार ५२ वटा, फागुनमा २७६ वटा, चैतमा ६५८ वटा बैशाखमा एक हजार ४०४ वटा र जेठमा ३ हजार १९९ विद्युतीय गाडी आयात भएको थियो ।

यस अवधिमा नेपालले सबैभन्दा बढी विद्युतीय गाडी चीनबाट आयात गरेको छ । विभागका अनुसार असार मसान्तसम्म चीनबाट मात्रै २२ अर्ब १२ करोड १४ लाख ५९ हजार रुपैयाँ बराबरको आठ हजार ६५ वटा इभि गाडी आयात गरेको हो । 

त्यसैगरी भारतबाट ६ अर्ब ६१ करोड ७५ लाख ५ हजार रुपैयाँ बराबरको तीन हजार ३७७ वटा, कोरियाबाट ४७ करोड ६९ लाख ४९ हजार रुपैयाँ बराबरको ८२ वटा, इन्डोनेशियाबाट २९ करोड ९ लाख ६० हजार रुपैयाँको १५० वटा गाडी आयात भएको छ । 

त्यस्तै यस अवधिमा जर्मनबाट १४ करोड ६५ लाख ५ हजार रुपैयाँ बराबरको २३ वटा र अमेरिकाबाट एक करोड ६६ लाख ६६ हजार रुपैयाँ बराबरको ३ वटा इभि गाडी आयात गरेको विभागको तथ्यांकमा उल्लेख छ । 

असार मसान्तस्म्म नेपालले अवधिमा ८ अर्ब ६० करोड २० लाख ९ हजार रुपैयाँ खर्चेर ५० किलोवाटसम्मको ४ हजार ५७१ वटा गाडी आयात गरेको छ भने १९ अर्ब ६७ करोड २ लाख ८० हजार रुपैयाँ खर्चेर ५१ किलोवाटदेखि १०० किलोवाटसम्मको ६ हजार ८८५ वटा विद्युतीय सवारी साधन आयात गरेको छ । 

त्यसैगरी यस अवधिमा एक अर्ब १७ लाख ७१ हजार रुपैयाँ खर्चेर १०१ किलोवाटदेखि २०० किलोवाटसम्मको २१७ वटा र १९ करोड ५९ लाख ८४ हजार रुपैयाँ खर्चेर २०१ किलोवाटदेखि ३०० किलोवाटसम्मको २७ वटा विद्युतीय सवारी साधन आयात गरेको छ ।

 
 

Advertisment

थप समाचार