काठमाडौं : सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वनमा निजी क्षेत्रको हस्तक्षेप बढेको आरोप लगाएका छन् ।
सामुदायिक वन दिवस २०८१ को अवसरमा नेकपा एमाले केन्द्रीय वन तथा वातावरण विभागद्वारा आयोजित ‘वनको दिगो व्यवस्थापन, समृद्धि तथा जलवायु न्याय’ राष्ट्रिय नीति संम्वाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
पर्यापर्यटनका नाममा सामुदायिक वनमा हस्तक्षेप बढेको बताउँदै आएका अध्यक्ष भण्डारी भने, ‘निजी क्षेत्रले हिजो खोला कब्जा गर्यो आज डाँडा कब्जा गर्दैछ ।’
निश्चित वर्गले पर्यटन व्यवसाय र केवलकारका नाममा सामुदायिक वन कब्जा गरेको, खानी तथा खनिज पदाग, नदीजन्य पदार्थ र निर्माणजन्य सामग्री सङ्कलन र निर्माणजन्य सामग्री प्रशोधन गर्ने कसर र सिमेन्टलगायत उद्योगले गैरकानुनी रुपमा सामुदायिक वन क्षेत्र कब्जा गरेको उनको आरोप छ ।
सामुदायिक वनको अभियानबाट वन तथा वातावरणको संरक्षणका साथै वनको दिगो व्यवस्थापन र जैविक विविधताको संरक्षण भएको, जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनका साथै प्रकोप जेखिम न्यूनीकरणमा योगदान भएको उनको भनाई छ ।
यसले वन पैदावारमा आधारित लघु उद्यम सामुदायिक पर्यापर्यटन र कृषि वनका माध्यमबाट खाद्य सुरक्षामा वृद्धि भएको समेत उनले बताए ।
विकास निर्माणका नाममा सरकारी निकायबाटै गैरकानुनी रुपमा हस्तक्षेप भएको बताउँदै आएका उनले विकास जनताका आवश्यकतासँग जोडिनुपर्ने माग राख्दै आएका छन् ।
सामुदायिक वनले विश्व जगतलाई चिनाएको बताउँदै उनले चुरेलाई वातावरण ऐनमा लगेर चुरेका जनताको अधिकार खोसिएको बताए । साथै उनले २३ हजार सामुदायिक वनको कार्ययोजना बनाउनका लागि पनि सरकारलाई अनुरोध गरेका छन् ।
कृषि विकास र उद्यमका विकासका कार्यक्रम स्थानीय जनताले अनुभति गर्न पाउनुपर्ने उनको जोड छ ।
सोही कार्यक्रममा बोल्दै नेकपा एमालेका अनुशासन आयोगका अध्यक्ष केशव बडालले वन क्षेत्रलाई भाग्य र भविष्यका लागि दिगो रुपमा विकास गरी आय आर्जनमा जोड्नु पर्ने बताए ।
‘वनलाई सामाजिक सांस्कृतिक र आर्थिक रुपमा अघि बढाउनु पर्छ । वन व्यवस्थापनका कामहरू अघि बढेका छैनन् । वन संरक्षण नहुँदा पानीको मुहान सुक्दा गाउँ बस्ती नै रित्तिएको छ, उनले भने,‘वनमा फल फल्ने पानीको स्रोतको रक्षा गर्ने, घाँस पात हुने, काठ हरियाली हुने विरुवा लगाउनु पर्छ ।’
यसका साथै उनले वन जंगलमा जनताको जिवनस्तरलाई समेत उकास्ने टिम्बर, चिउरी खनियो लगायतका बोटबिरुवा लगाउनुपर्ने बताउँदै राष्ट्रिय स्तरको नर्सरी बनाउनु पर्ने माग गरे ।
रक्षा मन्त्री मानविर राईले वन जंगलमा रैथाने सल्ला र बोट विरूवा रोप्नु पर्नेमा जोड दिए ।
‘समुदाय जस्तै प्रकृति छ यसलाई जस्ताको त्यस्तै जोगाउनु पर्छ । जंगली फलफूल सकिए पछि बादर आतंक बढ्यो । घाँस दाउराका लागि मात्र बन संरक्षण गर्यौ अब यो नीति लाई बदल्नु पर्छ, उनले भने,‘विदेशीसल्लाको बोट ल्याएर रोप्दा सबै वनस्पति मरेर पानीका मुहान सुके । प्राकृतिक सन्तुलन बिग्रिएको छ ।’
वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले वनलाई उत्पादनमुलक क्षेत्रमा जोड्नुपर्ने बताए । वन उद्यमले स्थानीयलाई रोजगारी दिई आय आर्जनमा सहयोग पुगेको बताउँदै उनले वन व्यवस्थापन हरित रोजगारीको लागि भन्ने थिमलाई लिएर अघि बढ्नुपर्ने बताए ।
उनले भने, ‘सामुदायिक वन सामाजिक र आर्थिक विकासको रुपमा जोडिएको छ । वनको उचित व्यवस्थापनले वातावरणीय सन्तुलनलाई कायम राखी जलवायु परिवर्तनमा संरक्षण गरेको छ ।’
Advertisment