काठमाडौं : साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा २२.७७ प्रतिशतले बढेको छ ।
कम्पनीले प्रकाशित गरेको आर्थिक वर्षको असार मसान्तसम्ममाको अपरिष्कृत वित्तीय विवरण अनुसार ९४ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको खुद नाफा ७७ करोड ३५ लाख रुपैयाँ मात्रै थियो ।
लघुवित्तको खुद ब्याज आम्दानी ३१.४४ प्रतिशतले बढेसँगै खुद नाफा बढ्न पुगेको हो । कम्पनीको कुल सञ्चालन आम्दानी ३१.८६ प्रतिशतले बढेको छ । त्यस्तै, लघुवित्तको सञ्चालन मुनाफा समीक्षा अवधिमा २०.३९ प्रतिशत बढेको छ ।
यता निष्क्रिय कर्जा ०.६१ प्रतिशतबाट बढेर २.१८ प्रतिशत पुगेको छ । त्यस्तै इम्पेरमेन्ट चार्ज १७ करोड ८८ लाख रुपैयाँबाट बढेर ४३ करोड ६५ लाख रुपैयाँ पुगेको प्रकाशित विवरणमा उल्लेख छ।
कम्पनीको वितरणयोग्य मुनाफा १ अर्ब ७२ करोड रुपैयाँ छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ४५ रुपैयाँ ४४ पैसा छ । समीक्षा अवधिमा लघुवित्तको वितरणयोग्य मुनाफा २.६५ प्रतिशत बढेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ५ रुपैयाँ १४ पैसा घटेको छ ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी १ रुपैयाँ ७३ पैसा बढेर २४ रुपैयाँ ९५ पैसा पुगेको छ । प्रतिशेयर नेटवर्थ २८४ रुपैयाँ ८१ पैसा र मूल्य आम्दानी अनुपात ३४.२२ गुणा छ ।
३ अर्ब ८० करोड ६३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ५ अर्ब ६६ करोड ४० लाख रुपैयाँ सञ्चित छ । लघुवित्तले २२ अर्ब ९८ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ३८ अर्ब १२ करोड रुपैयाँ कर्जा लगानी गरेको विवरणमा उल्लेख छ।
Advertisment