Side Logo
Below Menu
...अनि जन्मियो आइएमई

हामीले आजबाट नयाँ अध्यायको शुरुवात गरेका छौं । आइएमई लिमिटेड र जिएमई रेमिट प्रालिको मर्जर पश्चात आइएमई लिमिटेडको नामबाट एकिकृत कारोबारको शुभारम्भ गरेका छौं । हामीले सन् २००१ मा मलेसियाबाट आइएमईको सेवा शुरुवात गरेका हौँ । सन् २००६ देखिको निरन्तरको प्रयास पश्चात सन् २०१७ मा कोरियाबाट जिएमइको सेवा शुरुवात गर्न सफल भयौँ । 

आज म हाम्रो चुनौतीपूर्ण विगतलाई सम्झन चाहन्छु । देश राजनितिक तथा आर्थिक रुपान्तरणको क्रममा थियो । जताततै अन्योलता थियो । भविश्यको खोजीमा युवा पुस्ता छट्पटिएका थिए। आफ्नो र परिवारको भविश्य खोज्दै म पनि जापान पुगेको थिँए ।

लगभग २५ वर्ष पहिला हुनुपर्छ । जापानमा रहेका नेपालीले स्वदेश पैसा पठाउन भोग्नु परेको समस्याले पिरोल्दै गर्दा जन्मिएको सोच र अठोटको उपज हो, आइएमई । वैदेशिक रोजगारीका नयाँ गन्तव्यहरु पनि खुलिरहेका थिए । तर, ती गन्तव्यमा दुःख गरेर कमाएको पैसा नेपालसम्म सुरक्षित तवरले भित्र्याउने बाटोको कुनै नक्साङ्कन भएको थिएन । त्यही अनिश्चिताका बीचमै हामीले सपना देखेका थियौँ कि यो बाटो हामीले कोर्नु पर्छ र सम्भव छ । Walt Disney ले भन्नु भएको छ, If you can dream it, You can make it. हामीले पनि सपना देख्यौँ ।

तर, सपना चुनौतीपूर्ण थियो । हाम्रो पृष्ठभुमी व्यवसायबाट आएको थिएन जसको कारणले गर्दा व्यवसाय गर्ने तौरतरिका पनि सिक्नु पर्ने बाध्यता थियो । रेमिटेन्स आफैमा नौलो सोच थियो । सुन्दा असम्भव जस्तै लाग्थ्यो । विदेशबाट त्यति सजिलै पैसा पठाउन सकिन्छ भन्दा मानिसहरु हाँस्ने गर्थे । रेमिटेन्स व्यवसायको वैद्यानिकता स्थापित गरी सेवाग्राहीको विश्वास जित्न साच्चै कठिन थियो । नियमन गर्ने कानुनहरु थिएनन् । वास्तवमा हामी हाम्रो सेवा जापानबाट नै शुरु गर्न चाहान्थ्यौँ । तर, जापानमा पनि रेमिटेन्स सम्बन्धी कानुनको अभावमा मलेसियाबाट शुरु गर्र्यौं । पछि सन २००९ मा मात्र हामीले जापानबाट सेवा सुचारु गर्र्यौं।

त्यसैगरी, हामीसँग अहिले जस्तो प्रविधि थिएन । प्रविधिमा खासै दख्खल नभएको अवस्थामा विश्वमा आएका नवितम प्रविधि उपयोग गर्नुपर्ने अवस्था थियो । यी सबै चिजका लागि पुँजीको पनि त्यतिकै जरुरी थियो । हाम्रो भिजनलाई कार्यान्वयन गर्ने टिमको आवश्यकता पनि थियो । चुनौतीहरुका बीच यी सबै कुरालाई व्यवस्थापन गर्दै सानो स्केलबाट शुरु भएको आइएमई आजसम्म आइपुग्दा देशकै सबैभन्दा धेरै रेमिटेन्स भित्र्याउने कम्पनी बन्न सफल बनेका छौँ ।

वैदेशिक रोजगारीका लागि अनुमति प्राप्त धेरैजसो देशहरुबाट रेमिटेन्स सेवा दिईरहेका छौं भने एजेन्टहरु बाहेक नै लगभग २० हजारभन्दा बढि प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गरेका छौं । यसको अर्थ आइएमईले रेमिटेन्सलाई देशको औपचारिक अर्थतन्त्रमा जोड्न मात्र हैन नेपालको सामाजिक आर्थिक रुपान्तरणको संवाहक समेत बन्न सफल भएको छ भन्ने विश्वास लिएका छौं । वास्तवमा, आज गर्व लाग्छ, दुईजनाबाट शुरु भएको आइएमईकोे यात्रा आज जीएमइ लाई प्राप्ति गर्दै गर्दा हजारौँ साथीहरु सहितको ठूलो परिवार बन्न पुगेको छौँ ।

रेमिटेन्सको कुरा गर्दै गर्दा, नेपालको अर्थतन्त्रमा रेमिटेन्सले महत्वपुर्ण टेवा पुर्याउँदै आएको छ । विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत मात्र हैन बाह्य अर्थतन्त्रको सन्तुलनमा पनि रेमिटेन्सको योगदान उल्लेखनीय रहेको छ । पछिल्लाे १० वर्षको तथ्याङ्कलाई आधार मान्ने हो भने नेपालको जिडिपीमा रेमिटेन्सको अनुपात औसतमा २३ प्रतिशतको हाराहारीमा रहेको छ ।

देशको आर्थिक विकासमा महत्वपुर्ण भुमिका निर्बाह गर्ने रेमिटेन्स सेवालाई संस्थागत गरी नेपालीको कूल आय वृद्धिमा आईएमईले उल्लेखनीय योगदान गर्न सफल भएको छ भन्ने विश्वास लिएको छु । नेपाल भित्रिने कुल रेमिटेन्समध्ये सबैभन्दा ठूलो हिस्सा (लगभग ५० प्रतिशत) आइएमई ग्रुप अन्र्तगतका कम्पनीमार्फत भित्रिने रेमिटेन्सको रहेको कुरालाई नेपाल राष्ट्र बैंकको तथ्याङ्कले समेत पुष्टि गरिसकेको छ । जुन हाम्रो लागि गर्वको विषय पनि हो ।

तर,हामी यतिमा मात्र सिमित हुनु हुदैन जस्तो लाग्छ । ग्राहकहरुको अपेक्षा बढेको छ । दिनानुदिन प्रतिस्पर्धा बढ्दो छ । चुनौतीहरु थपिदाँ छन् । समयसँगै विकास भएका अत्याधुनिक प्रविधिसँग संयोजन गर्दै हाम्रा सेवाहरुलाई अझ सहज, सुलभ र सुरक्षित बनाउन अत्यन्त जरुरी बनिसकेको छ । प्रविधिको प्रयोग गरी रेमिटेन्स सेवालाई अझ परिष्कृत र विविधिकरण गर्न आवश्यक छ ।

आज प्रविधिले हरेक क्षेत्रमा परिवर्तन ल्याइरहेको छ । हामीले पनि हाम्रो इतिहासलाई कायम राख्दै नयाँ नयाँ प्रविधिहरुलाई आत्मसाथ गर्दै अगाडी बढ्न आवश्यक छ । वास्तवमा, आम नागरिकको दैनिक जनजीवनका हरेक पक्षहरु प्रविधिसँग जोडिएका छन् । यस क्षेत्रमा दिनानुदिन भइरहेका विकासहरुले आम मानिसको आवश्यकता, रोजाइ र समग्रमा जीवनयापनको शैलीमा नै परिवर्तन ल्याइरहेको छ । परम्परागत कार्यशैली परिवर्तन भइरहेको छ । डिजिटल वित्तिय कारोबारतर्फ मानिसहरुको आकर्षण बढ्दो रहेको विभिन्न तथ्याङ्कहरुले पनि देखाएका छन् । 

प्रविधिको विकास र बढ्दो प्रयोगसँगै रेमिटेन्सको अवधारणा नै परिवर्तन भएको मैले महसुष गरेको छु । आजको दिनमा रेमिटेन्स विदेशमै काम गरेर आर्जन गरेको आयमा मात्र सिमित रहेको छैन । कुनै स्थिर वा भौतिक अफिस बिना सूचना प्रविधिको प्रयोगमार्फत नेपाली युवाहरुले नेपालबाटै विश्वका विभिन्न मुलुकमा सेवा निर्यात गरेर मनग्य आम्दानी गरिरहेको विभिन्न अध्ययनहरुले देखाएको छ । यसको अर्थ रेमिटेन्स नयाँ नयाँ रूपमा आईरहेको छ । यसले डिजिटल रेमिटेन्सको महत्वलाई अझ बढाएको छ ।

सोही अनुरुप हामीले पनि आफ्ना सेवाहरुलाई प्रविधिमैत्रि बनाउदै अघि बढिरहेका छौँ र संसारमा आएका नवीनतम प्रविधि अंगाल्दै अघि बढ्न प्रतिबद्ध पनि छौँ । डिजिटल भुक्तानीका साथै डिजिटल रेमिटेन्सलाई सहज बनाउन आइएमई पे डिजिटल वालेटलाई संचालन गरिरहेका छौं जसबाट ४० लाख भन्दा धेरै ग्राहकहरुले डिजिटल भुक्तानीका साथै डिजिटल रेमिटेन्सको सुविधा उपभोेग गरिरहनु भएको छ । 

मलाइ विश्वास छ आइएमई र जिएमइबीचको एकिकृत कारोवार पश्चात हाम्रो सेवा सञ्जालमा वृद्धि हुनेछ र सेवाग्राहीहरुलाई सहज र सुलभ रेमिटेन्स सेवा उपलब्ध गराउन हामी थप सक्षम हुनेछौँ । सेवाग्राहीहरुको अपेक्षा तथा बजारको मागलाई ध्यानमा राख्दै दुरदराज सम्म डिजिटल रेमिटेन्स सेवाको सहज पहुँच स्थापित गर्र्ने तथा सन्तुष्ट ग्राहकहरुको संख्यामा उल्लेख्य वृद्धि गर्न कम्पनी सक्षम हुने आशा छ । 

स्थानीयस्तरसम्म डिजिटल रेमिटेन्स सेवा बिस्तार गरी आम नागरिकलाई औपचारिक अर्थतन्त्रसँग जोड्ने मात्र नभएर देशको समग्र आर्थिक विकासमा महत्वपूर्ण भूमिका निभाउन सकिने अपेक्षा संस्थाले लिएको छ ।

प्रचलित ऐन कानून तथा नियामक निकायहरूद्धारा जारी भएका निर्देशनहरूको पूर्ण पालना गरी, संस्थागत सुशासनको मूल्य मान्यतालाई आत्मसात गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिनुका साथै कम्पनीले हालसम्म हासिल गरेको ख्याति र पहिचानलाई कायम राखी, गुणस्तरीय सेवामा क्रियाशिल रहन कम्पनी प्रतिबद्ध छ ।

देशको अर्थतन्त्रमा महत्वपुर्ण भूमिका खेल्ने रेमिटेन्स आप्रवाहलाई औपचारिक माध्यममा ल्याउन नेपाल सरकारका हरेक प्रयासहरुमा आइएमई एक अग्रणी रेमिटेन्स सेवा प्रदायक संस्थाको रुपमा सदैव सँगसँगै रहने प्रतिवद्धता पनि व्यक्त गर्दछु ।

वास्तवमा रेमिटेन्सको आकार निकै ठुलो भइसकेको छ । पुँजीकै हिसाबले पनि रेमिटेन्स कम्पनीहरु ठूला भइसकेका छन । यस्तो अवस्थामा यस व्यवसायलाई थप गतिशील र व्यवस्थित बनाई औपचारिक माध्यमबाट हुने रेमिटेन्स आप्रवाहलाई प्रोत्साहन गर्न तथा सेवाग्राहीलाई सर्बसुलभ डिजिटल सेवा प्रदान गर्न रेमिटेन्स कम्पनीको क्षेत्राधिकार बिस्तार गर्न आवश्यक भइसकेको हो की भन्ने महषुश हुन थालेको छ । यस विषयलाई नेपाल राष्ट्र बैंकले पक्कै मनन गर्ने छ भन्ने विश्वास लिएको छु । साथै आगामी दिनमा पनि बिगतमा जस्तै कुशल अभिभावकत्व प्राप्त हुनेछ भन्ने अपेक्षा पनि राखेको छु ।

अन्त्यमा, हामीले प्राप्तिको प्रक्रिया थालनी गरेको छोटो अवधिमा नै एकिकृत कारोवार गर्न सफल भएका छौँ । यो पक्कै पनि सुखद शरुवात हो भन्ने मैले विश्वास लिएको छु ।

हुनत म सुरुदेखि नै छु तर पनि नेतृत्वका हिसाबले भने आजदेखि मेरो नयाँ यात्रा सुरु भएको महसुुश गरेको छु । आगामी दिनका मेरा अवसर र चुनौतीहरुमा पनि आइएमईलाई आज यहाँसम्म पुर्याउन हामीलाई आशीर्वाद, आत्मबल र विश्वास प्रदान गर्नुहुने सबै नेपाली दाजुभाई दिदीबहिनीहरुका साथै समग्र कर्मचारी साथीहरुको सहयोगको अपेक्षा गरेको छु ।

दुवै संस्थालाई यस उचाइसम्म पुर्याउन अथक मेहनेत गर्नुहुने दुवैजना अध्यक्षज्यूहरु, संचालक समितिका सदस्यज्यूहरु, कम्पनीका सिईओहरु व्यवसायिक साझेदार मित्रहरु तथा कर्मचारी साथिहरुमा हार्दिक कृतज्ञता प्रकट गर्दछु । आगामी दिनमा समेत यहाँहरुको साथ सहयोग र रचनात्मक सुझावहरुको अपेक्षा गरेको छु । आज मलाई नेतृत्व हस्तान्तरण गर्नुहुने आदरणीय दाजु चन्द्रप्रसाद ढकालको सहयोग र आशीर्वाद त रहने नै छ ।

Sponsored Advertisment

Advertisment

थप समाचार