काठमाडौं : प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) का दिन ११ थरीका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ ।
यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।
नेपालको तराईक्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।
काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा आज बिहानैदेखि मेला लाग्ने गर्छ ।
जनैपूर्णिमाका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
क्वाँटीका फाइदाहरु
- क्वाँटीमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई तथा खनिज पदार्थ प्रशस्त मात्रामा हुन्छ । यसले शरीरको थकाइ कम गर्छ र तनावबाट मुक्त गराउँछ ।
- कब्जियतको समस्या हटाउँछ ।
- क्वाँटी रेसादार खानाको स्रोत हो ।
- मधुमेह तथा पायल्स भएका मानिसलाई समेत फाइदा गर्छ ।
- यसले बूढो हुने गति मन्द पार्नुको साथै मानिसलाई सुन्दर स्वस्थ बनाउन सहयोगी भूमिका खेल्छ ।
- यो सजिलै पचाउन सकिन्छ, समग्र पाचन प्रणालीमै यस्ले सकारात्मक भूमिका खेल्छ । पेटमा अनावश्यक वायु बनाउँदैन ।
- क्वाँटी खानाले ‘एसिडिटी’ तथा मुत्र नलीमा संक्रमणजस्ता समस्याबाट पनि छुट्कारा मिल्छ । रोग प्रतिरोधात्मक शक्ति बढाउछ ।
-रोगी, बालवालिका तथा बृद्धमा हुने कुपोषण हटाउन सहयोग गर्छ ।
-क्वाँटीको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ ।
-मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ ।
-रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ ।
- टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ ।
Advertisment