काठमाडौं : एक महिनामा सरकारको ऋण ९४ अर्ब ५२ करोड रुपैयाँले थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत साउन मसान्तसम्म २३ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको यस्तो ऋण थपिएर २५ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँ पुगेको हो । कार्यालयका अनुसार कुल ग्राहस्थ उत्पादनको आधारमा सार्वजनिक ऋण ४३.३२ प्रतिशत हुन आएको छ ।
यस अवधिसम्म सरकारले तिर्न बाँकी ऋण २५ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । जसमा आन्तरिक ऋण १२ खर्ब ३५ अर्ब ९० करोड रुपैयाँ रहेको छ भने बाह्य ऋण १२ खर्ब ९२ अर्ब ७१ करोड रुपैयाँ रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
कुल ग्राहस्थ उत्पादनको आधारमा सार्वजनिक ऋण ४४.३२ प्रतिशत कायम भएको छ । कुल ग्राहस्थ उत्पादनको आधारमा आन्तरिक ऋण २१.६६ तथा बाह्य ऋण २२.६६ प्रतिशत कायम भएको छ ।
चालु आर्थिक वर्षमा ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक परिचालन गर्ने लक्ष्य राखिएको छ । भदौं मसान्तसम्म एक खर्ब ४ अर्ब ५ करोड रुपैयाँ ऋण प्राप्ति भएको छ । जुन लक्ष्यको तुलनामा १८.६६ प्रतिशत रहेको छ । जसमा आन्तरिक ऋण ९० अर्ब रुपैयाँ रहेको छ भने बाह्य ऋण १४ अर्ब ५ करोड रुपैयाँ रहेको छ । जसमध्ये आन्तरिक र बाह्य ऋण क्रमशः २७.२७ र ६.४८ प्रतिशत रहेको छ ।
यस अवधिमा सरकारले सावाँ र ब्याज वापतको ४७ अर्ब ७१ करोड ५१ लाख रूपैयाँ भुक्तानी गरेको छ । यो वार्षिक बजेट विनियोजनका आधारमा ११.८४ प्रतिशत हो । कुल ग्राहस्थ उत्पादनका आधारमा कुल ऋण सेवा खर्च ०.८४ प्रतिशत हो ।
सरकारले आन्तरिक र बाह्य ऋणको साँवावापत ३९ अर्ब ६७ करोड २१ लाख रुपैयाँ भुक्तानी गरेको छ । आन्तरिक तर्फको ३५ अर्ब र बाह्य तर्फको ४ अर्ब ६७ करोड २१ लाख रुपैयाँ बराबरको साँवा भुक्तानी गरेको हो ।
कार्यालयका अनुसार यस अवधिमा सरकारले आन्तरिक र बाह्य ऋणको ब्याज वापत ८ अर्ब ४ करोड ३० लाख रुपैयाँ भुक्तानी गरेको छ । जसमा आन्तरिक ऋणकोे ब्याज भुक्तानीमा ७ अर्ब २ करोड ९१ लाख रूपैयाँ खर्च भएको छ भने बाह्य ऋणको ब्याज भुक्तानी गर्न एब अर्ब १ करोड ३९ लाख रूपैयाँ खर्च भएको छ ।