काठमाडौं : नेपालको वैदेशिक व्यापार निरन्तर खुम्चिदै गएको छ । चालु आर्थिक वर्षको दुई महिनामा नेपालले सवा दुई खर्ब रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा मुलुकले २ खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको हो ।
गत वर्षको तुलनामा व्यापार घाटा १.७८ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा नेपालले २ खर्ब ३३ अर्ब ३० करोड २८ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो ।
भदौंसम्म नेपालले २ खर्ब ८७ अर्ब ६३ करोड ५७ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जबकी गत आवको सोही अवधिमा २ खर्ब ८६ अर्ब १९ करोड ६९ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।
यस अवधिमा आयात सामान्य बढेको छ भने निर्यात घटेको छ । भदौसम्म आयात १.०८ प्रतिशतले बढेको छ भने निर्यात ५.१५ प्रतिशतले घटेको हो । यस अवधिमा साढे २ खर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ ।
विभागका अनुसार यस अवधिमा २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको हो । गत वर्षको सोही अवधिमा २ खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
यस अवधिमा २५ अर्ब ९ करोड ३१ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत वर्ष २६ अर्ब ४४ करोड ७० लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात भएको थियो ।
Advertisment