चालु खाता ३० अर्ब ८९ करोड रुपैयाँले बचतमा 

चालु खाता ३० अर्ब ८९ करोड रुपैयाँले बचतमा 

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो साउन महिनामा चालु खाता साढे ३० अर्ब रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकमा यस्तो देखिएको हो ।

यस अवधिमा चालु खाता ३० अर्ब ८९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १३ अर्ब ३७ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १० करोड १३ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा २३ करोड ४ लाखले बचतमा रहेको छ । 

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर २२ करोड ३२ लाख कायम भएको छ भने प्रत्यक्ष वैदेशिक पुँजी लगानी आप्रवाह ७९ करोड ९८ लाख रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.२७ करोड २६ लाख कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (इक्विटि मात्र) रु.२ अर्ब ६५ करोड रहेको थियो । 

राष्ट्र बैंकका अनुसार साउन मसान्तसम्म शोधनान्तर स्थिति ४० अर्ब ९० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.३६ अर्ब ४३ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ६३ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३० करोड ५१ लाखले बचतमा रहेको छ ।
 

थप समाचार